शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारी दाबीप्रति काँग्रेसको ध्यानाकर्षण

बिहीबार, ०८ असोज २०७७, १३ : १४
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै  चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेका थिए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गरि हुम्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको बताए ।

जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नभएको काँग्रेसको भनाइ छ ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो–होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको पनि शर्माले जानकारी दिए । सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा  मात्र धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने काँग्रेसको बुझाइ  छ ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको काँग्रेसको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप