शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनमा बुबासँग खुसी साट्न पाएनन् आशिषले

बिहीबार, ०८ असोज २०७७, १२ : १३
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए ।  

पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसाइलकमा ‘बालाजु देखि कपन’ आवतजावत गर्थे उनी । 

गत मंगलबार शंकरको छोरा आशिषको १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रेको कारण पसलसम्म शंकरलाई श्रीमती रोजीले स्कुटीमा छाडिदिइन् । 

छोराको बर्थडेमा शंकरले आफन्त र नजिकका छरछिमेकलाई समेत बोलाएका थिए । बाबुआमा आफ्नो छोराको जन्मदिनमा खुसी नहुने कुरा भएन । दिनभर पसलमा रहेका शंकर पानी परेपनि सधैं झै पसल बन्द गरेर ढिलागरी निस्के ।

मोटरसाइकल नभएका कारण श्रीमतीलाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंकरलाई लिन स्कुटीमा आइरहेकी थिइन् । 

रमाइलोसँग छोराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन् । बीच बाटोमै उनलाई गाडीले ठक्कर दियो । हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्कर दिएको हो ।

जब श्रीमतीले श्रीमान छटपटाइरहेको भेटिन्
जतिबेला दुर्घटना भयो । त्यतिनै बेला श्रीमती पनि विनायक अगाडि नै पुगेकी थिइन् ।  तर, त्यहाँ पुग्दा उनका लागि बज्रपात हुन पुग्यो । घटनास्थलमा मान्छेहरु झुम्मिरहेको बेला श्रीमती रोजी पनि के भएको रहेछ भनेर स्कुटर रोकी हेर्न पुग्दा आफ्नै श्रीमान भएको खुलेको थियो ।

रोजीसँगै अन्य मानिसले शंकरलाई लगत्तै नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो । 

टिचिङ अस्पतालमा उपचारको क्रममा शंकरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले रातोपाटीलाई जानकारी दिए । मंगलबार साँझ अन्दाजी ८ बजेको समयमा सडकमा हिँडिरहेका शंकरलाई गाडीले ठक्कर दिएको खड्काको भनाइ छ । 

पानी परेकाले शंकर अरु दिनभन्दा अलि ढिलो पसलबाट निस्केका छोराले बताए । छोरा आशिषले भने, ‘ममीले पसलमै आउँछु भन्नुभएको थियो । तर, बुबाले मान्नुभएन र हिँड्दै बसपार्कसम्म आउनुभएछ ।’

छोराको बर्थडे मनाउने भन्दै शंकरले अघिल्लो दिन सोमबार नै घर नजिकैको बेकरीमा ‘केक’ अर्डर दिएका थिए । तर, शंकरले अर्डर गरेको केक छोराले काट्न पाएनन् । उल्टो आफ्नो बर्थडेको दिन बाबुको मृत्यु भएको खबर सुन्नुपर्यो । 

छोरा आशिषले आफ्नो जन्मदिनको खुसीयाली मनाउन हतार गरेर हिँड्नु भएको बुबा गुमाउन पर्दा पीडा भएको भावुक हुँदै बताए ।

यस्तै मृतक पन्तको शव अहिले टिचिङ अस्पतालमै छ । 

मृतकका परिवारले प्रहरीले मुद्दा कमजोर बनाउन चलखेल गरेको आरोप समेत लगाएको छ ।

यता प्रहरीले गाडी चालक राजु तामाङलाई नियन्त्रणमा लिएर ५ दिनको म्याद थप गरेको जनाएको छ । प्रहरीले दोषी उपर कानुनअनुसार कारबाही हुने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप