शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : रेष्टुराँमा जानेहरुलाई कोभिड–१९ संक्रमणको सम्भावना बढी

बिहीबार, ०८ असोज २०७७, ११ : २०
बिहीबार, ०८ असोज २०७७

अमेरिकाको सिडिसी अर्थात् सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको  एउटा नयाँ अध्ययनले देखाएअनुसार, अमेरिकामा कोरोनाभाइरस पोजेटिभ देखिएका अधिकांशतः मानिसहरुमध्ये रेस्टुराँतिर गएर खानेहरु देखिएका छन् । उनीहरुमध्ये अधिकांश पछिल्ला चौध दिनमा रेष्टुराँ गएकाहरु रहेका छन् ।

अमेरिकाका ११ वटा स्वास्थ्य सेवा प्रदायक स्थानहरुमा लक्षणसहितका कोभिड– १९ का विरामीहरुमा गरिएको अनुसन्धानमुलक अध्ययनले सो कुरा देखाएको हो ।

 अनुसन्धानकर्ताहरुले खाने र पिउने सुविधा प्रदान गर्ने त्यस्ता स्थानमा जानेहरुमा कोभिड– १९ पोजेटिभको संक्रमण बढी देखिएको पाए । रेस्टुराँमा गएर खाँदा मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सहज हुँदैन । यो स्थितिमा ग्राहक, कर्मचारी तथा समुदायलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन अतिरिक्त प्रयासहरुको जरुरत पर्छ । कर्मचारीहरु विरामी हुँदा उनीहरुलाई घरमा बस्न प्रोत्साहित गर्ने तथा काममा सक्रिय छँदा रोजगारदाताले उनीहरुलाई बेलाबेलामा हात धुन तथा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने गर्नुपर्छ । ग्राहकलाई पनि खानेकुराहरु पुर्याइदिने वा लिन सकिने व्यवस्थाका बारेमा जानकारी दिनुपर्छ । खासगरी, मानिसहरुले पनि मानिसको भीडभाड भएका रेस्टुराँहरुमा जानबाट पन्छिनु पर्छ ।

भीडभाडयुक्त ठाउँहरु कोरोनाभाइरस संक्रमणको हटस्पट रहेको तथ्यांकहरुले देखाएका छन् । कतिसम्म भने पूर्ण क्षमताको २५ देखि ५० प्रतिशत मात्रै भीडभाड छ भने पनि त्यहाँ कोरोनासंक्रमणको सम्भावना बढेर जान्छ ।

सो अध्ययनमा ८०२ जना सहभागी रहेका थिए । अध्ययनका दौरानमा सहभागीहरुबाट भौगोलिक जानकारीहरुका अलावा सहभागीका अन्य विभिन्न गम्भीर खालका रोगजन्य अवस्थाका बारेमा पनि तथ्यांक संकलन गरिएको थियो । सहभागीहरुलाई उनीहरुले भोगिरहेका लक्षणहरुका बारेमा पनि जानकारी दिन भनिएको थियो । साथै, कोभिड–१९ का रोगीहरुसँगको निकट सम्पर्कका अलावा उनीहरुले काम गर्ने स्थानको बारेमा, मास्क लगाउने अभ्यासका बारेमा र लक्षण देखापर्नुअघि उनीहरुको सामुदायिक गतिविधिहरुका बारेमा समेत जानकारी संकलन गरिएको थियो ।

त्यसरी संकलन गरिएका तथ्यांकहरुबाट अनुसन्धानकर्ताहरुले २२५ जना सहभागीलाई छनौट गरेका थिए । त्यसरी छनौट गरिएका सहभागीहरु पछिल्लो पटक कोभिड– १९ का ज्ञात रोगीसँगको सम्पर्कमा आएका थिएनन् । यस समूहका अधिकांश सहभागीहरु रेष्टुरामा गएर खानेहरु थिए । रेष्टुरा वा कफी सपमा जाने गरेका भनी उल्लेख गरेका सहभागीहरुले आफूहरुले मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखेको कमैले उल्लेख गरेका थिए ।

विभिन्न प्रकारका गतिविधिहरुले कोभिड– १९ वा सार्स–कोभ– २ को संक्रमणको सम्भावना कसरी बढाउँछ भन्नेबारेमा थप अनुसन्धान गरिनुपर्ने कुरा अनुसन्धानकर्ताहरु बताउँदछन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप