शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुरः एक घरेलु सहयोगीले आखिर कसरी एक अर्बपतीलाई हराइन्

बिहीबार, ०८ असोज २०७७, १० : ५२
बिहीबार, ०८ असोज २०७७

उनी घरमा काम गर्ने एक सामान्य महिला थिइन् जो इन्डोनेशियादेखि सिंगापुरको एक धनाढ्य परिवारकोमा काम गर्न पुगेकी थिइन् ।

परिवार पनि कुनै साधारण परिवार होइन – एउटा यस्तो परिवार जुन सिंगापुरको ठूल्ठूला कम्पनीका मालिक हुन् ।

एक दिन यो परिवारले महिलामाथि करिब ११५ वटा कपडा, केही महँगा ह्यान्डब्याग, एउटा डिभीडी प्लेयर र घडी चोरेको आरोप लगायो । परिवारले प्रहरीमा ऊजुरी दिए, त्यसपछि यो एक हाई प्रोफाइल केस बन्यो ।

तर सेप्टेम्बर महिनाको सुरुवातमा पारती लियानीलाई अदालतले निर्देष ठहर गर्यो ।

अदालतको आदेशपछि पारतीले भनिन्, ‘म निकै खुसी छु । अन्ततः म स्वतन्त्र छु । म चार वर्षदेखि लडिरहेकी थिएँ ।’

तर पारतीको केसले सिंगापुरको न्यायिक व्यवस्थामाथि केही प्रश्न निम्त्याएको छ । मानिसहरुले ‘के न्यायिक व्यवस्थामा पनि असमानताको प्रभाव छ’ भनेर सोधिरहेका छन् । किनभने तल्लो अदालतले यही केसमा उनलाई दोषी ठहर गरेको थियो ।

 के थियो पूरा मामिला ?

घटना सन् २००७ देखि सुरु हुन्छ जब पारती लियानीले ल्यू मोन लियोन्गको घरमा काम गर्न सुरु गरेकी थिइन् । यो परिवारमा थुप्रै सदस्य थिए जसमध्ये एक ल्यूका छोरा कार्ल पनि थिए ।

सन् २०१६ मा कार्ल ल्यू र उनको परिवारले भिन्न बस्ने निर्णय लिए र उनीहरु अन्य स्थानमा बस्न गए ।

अदालतको दस्तावेजबाट थाहा हुन्छ कि पारतीलाई  कार्ल क्ल्यूको नयाँ घर र कार्यालयको सफाई गर्नका लागि थुप्रै पटक भनिएको छ । यद्यपि, यो सिंगापुरको श्रम कानूनको उल्लंघन थियो र पारतीले यसको असन्तुष्टि मालिकसँग पनि पोखेकी थिइन् ।

केहि महिनापछि ल्यू परिवारले पारतीलाई भन्यो, ‘उनलाई चोरीको शंकामा जागिरबाट निकालिँदैछ ।’

तर पारतीका अनुसार त्यसपछि उनले कार्ल ल्यूललाई भनेकी थिइन्, ‘मलाई थाहा छ कि तपाईंले मलाई जागिरबाट किन निकाल्दै हुनुहुन्छ किनभने तपाईं रिसाउनुभएको छ किनभने मैले तपाईंको शौचालय सफा गर्न अस्विकार गरेकी थिइन् ।’

धम्कीः

पारतीलाई दुई घण्टाको समय दिइयो, गुन्टा बाँध्न । आफ्नो सबै सामान प्याकि गरेपछि पारती आफ्नो घर इन्डोनेशिया फर्किइन् ।

यद्यपि, सामान बाँध्ने बेला पारतीले ल्यूको परिवारलाई आफूलाई कार्ल ल्यूको घर सफा गर्न लगाइएको थियो भनेर सिंगापुर प्रशासनलाई जानकारी दिने धम्की दिएकी थिइन् ।

पारती गएपछि ल्यू परिवारले उनको सामानको परीक्षण गरियोस् र कथित अनुसन्धानपछि उनीहरुले दाबी गरे कि उनीहरुले पारतीको सामानमा आफ्ना केहि सामान भेटे । त्यसपछि ल्यू मोन लियोन्ग र उनका छोरा कार्ल ल्यूले २० अक्टोबर २०१६ मा प्रहरीमा पारतीविरुद्ध मुद्दा दर्ता गरिदिए ।

पारतीका अनुसार उनलाई यसबारे केही जानकारी थिएन । पाँच हप्तापछि जब उनी नयाँ कामको खोजीमा सिंगापुर फर्किइन् तब उनलाई प्रहरीले गिरफ्तार गर्यो ।

पारतीको नाम एक आपराधिक मुद्दामा समावेश थियो, त्यसैले उनी कतै काम गर्न पाउँदिनथिइन् । यस्तो अवस्थामा उनले प्रवासी श्रमिकको शिविरमा शरण लिनुपर्यो र आर्थिक मद्दतका लागि पनि उनी यसैमा निर्भर रहिन् ।

पारतीमाथि जुन सामान चोरीको आरोप लाग्यो, त्यसको कूल मूल्य एक अनुमान अनुसार लगभग ३४ हजार सिंगापुर डलर अर्थात् (२८ लाख रुपैयाँ भन्दा बढि) थियो ।

दुई वर्ष दुई महिना जेल सजायः

सुनुवाईको क्रममा पारतीले जुन सामानलाई चोरीको सामान भनिएको छ, त्योमध्ये केही उनको आफ्नै सामान भएको, केही परिवारले फ्याँकिदिएको र केही उनले प्याक नै नगरेको बताइन् ।

सन् २०१९ मा एक जिल्ला न्यायाधीशले उनलाई चोरीको दोषी ठहर गर्दै यसका लागि दुई वर्ष दुई महिनाको जेल सजाय सुनाए ।

तर पारतीले अदालतको यो निर्णयविरुद्ध अपिल गरिन् र सिंगापुरको उच्च अदालतले उनलाई अन्त्यमा यो महिना निर्दोष साबित गरिदियो ।

न्यायाधीशले गलत उद्देश्यले उनीविरुद्ध आरोप लगाइएको बताए । साथै उनले प्रहरी, अभियोजन पक्ष र यहाँसम्म कि जिल्ला न्यायाधीशलाई यो केसलाई ह्यान्डल जसरी गरियो, त्यसमाथि प्रश्न उठाए ।

जुन सामान चोरी भएको आरोप लगाइएको थियो ती सब खराब थिए र खराब सामानलाई सामान्यतयाः चोरी नभनिने न्यायाधीसले बताए ।  

यो केसको विषयमा सिंगापुरमा निकै हंगामा भयो । यसलाई ‘धनी भर्सेस गरिब’ को लडाईंको रुपमा हेरिएको थियो ।

पारतीले अदालतलाई दिएको जानकारी अनुसार परिवारले डिभिडी प्लेयर बिग्रिएपछि फ्याँकिदिएका थिए । 

प्रवासी श्रमिकको न्यायसम्म कति पहुँच ?

यो केसमा सार्वजनिक विरोध देखेपछि ल्यू मोन लियांन्गले थुप्रै कम्पनीबाट अध्यक्ष पदबाट अवकाश लिने घोषण गरे ।

उनले आफ्नो बयानमा भने, ‘म उच्च अदालतको निर्णयलाई सम्मान गर्दछु र मलाई सिंगापुरको न्यायिक प्रणालीमा पूर्ण विश्वास छ ।’

उनले प्रहरी रिपोर्ट गरेकोमा आफ्नो बचाउ गरे । उनले भने, ‘मलाई साँच्चै लागेको थियो कि केही गलत भएको छ, त्यसैले यो मेरो दायित्व थियो कि यसबारे प्रहरीलाई खबर गरुँ ।’

यो केसले प्रहरी र न्यायिक प्रणालीमाथि पनि प्रश्न तेर्सिए । कानून र गृहमन्त्री के शनमुगमले भने, ‘यो पूरा घटनाक्रममा केही त गलत भएकै हो ।’

यो केसले यो पनि देखाएको छ कि प्रवासी श्रमिकको न्यायसम्म कति पहुँच छ ।

पारतीले सिंगापुरमा बसेर मुद्दा लड्न सकिन् किनभने उनलाई गैर सरकारी संस्थाको सहयोग थियो र उनका वकिल अनिल बालचंदानीले पैसा नलिइकनै उनको मुद्दा लडे ।

यो मामिलामा निर्दोष ठहर भएपछि पारतीले भनिन्, ‘म अब घर फर्किरहेकी छु । मेरा सबै समस्या समाप्त भए । म ल्यू परिवारलाई माफी दिन्छु तर यो भन्न चाहन्छु कि आइन्दा कसैमाथि पनि यस्तो नगर्नु ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप