अझै बाढीपहिरोको जोखिम

काठमाडौँ – मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोबाट हुनसक्ने जोखिम अझै टरिनसकेको बताए ।
गृह मन्त्रालय नेपाल विपद् व्यवस्थापन पोर्टलका अनुसार २०७७ जेठ ३० देखि असोज ५ गते सम्मको अवधिमा ३०७ जनाको मानवीय क्षति भएको हो । बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि सय जना बेपत्ता छन् । त्यस्तै २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक हजार १७८ घरपरिवार प्रभावित हुनुका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी १०५ वटा गोठ भत्किँदा ६१५ चौपाया मरेका छन् ।
विपद् व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपद्बाट करिब आठ करोड ८३ लाख ८१ हजार रुपियाँ मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । उहाँका अनुसार सिन्धुपाल्चोकमा बाढीपहिरो मात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ को ज्यान गएको छ भने ३८ जना बेपत्ता छन् ।
त्यसैगरी १३१ घर परिवार विस्थापित भएका छन् । त्यस्तै कालीकोट–३९, बागलुङ–३३, म्याग्दी–२९, पर्वत–१०, तनहुँ–१३, कास्की–११, जाजरकोट–११, गुल्मी–१०, बझाङ–नौ, अछाम–नौ, दार्चुला–सात, धादिङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिममा पाँच–पाँच, लमजुङ चार, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर, सल्यान र मुस्ताङमा एक–एकको मृत्यु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक