शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा रहेका सिकिन्दर पासवानको अवस्थाबारे यसो भन्छ प्रहरी

बुधबार, ०७ असोज २०७७, १८ : २३
बुधबार, ०७ असोज २०७७

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका हत्या आरोपी सिकिन्दर पाश्वानको अवस्थाबारे प्रहरीले स्पस्ट पारेको छ । गरुडा नगरपालिका ८ जिंगडियाका निरञ्जन पाश्वानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ भई अदालतमा बयान बाँकी रहेका आरोपी पासवानकोे अवस्थाबारे प्रहरीले बुधबार स्पष्ट पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले एक प्रेस विज्ञप्ती जारी गर्दै पासवानको अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा पटक पटक भइरहेको अफवाहप्रति ध्यानाकर्षण भएको जनाएको छ । सिकिन्दर पाश्वानलाई जिल्ला अदालत गौरमा भदौ ३० गते पेस गर्दा मानसिक अवस्था ठिक नभएका कारण अस्पताल पठाइएको थियो । हिरासतमा रहेका पासवानको स्वास्थ अवस्था सामान्य रहेकाले अफवाहको पछाडी नलाग्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पासवानले अदालतमा बयान दिन असमर्थ रहेको बताएपछि प्रादेशिक अस्पताल जनकपुर लगिएर विषेशज्ञ डाक्टर रोविन झासँग स्वास्थ जाँच गराइएको थियो । त्यसपछि उनलाई परिवारसँगै ल्याएर स्वास्थ्य परीक्षण गराउन र अदालतमा पेश गर्ने तयारी गरिएको थियो । जिल्ला अदालत गौरले असोज २ गते पासवानको परिवार संग समन्वय गरेर स्वास्थ्य उपचार गरेर पेश गर्न निर्देशन दिएपनि उक्त प्रस्ताव परिवारले अस्वीकार गरेको थियो । परिवारले अस्वीकार गरेपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित मानसिक अस्पताल पाटन पठाउने व्यवस्था मिलाईएको विज्ञप्तिमा जनाइएको छ ।

साउन ३० गते गरुडा ८ जिंगडियाका निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा सिकिन्द्र पाश्वान, विजयरामसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको थियो । भदौ १० गते आरोपीमध्ये १९ वर्षीय विजयरामको नेशनल मेडिकल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले रामको दुबै किडनी बिग्रेर मृत्यु भएको बताएपनि पीडित परिवारले हिरासतमा दिएको यातनाका कारण उनको मृत्यु भएको दाबी गर्दै आएको छ । सो घटनाको छानबिन र दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै गत भदौ ११ गतेदेखि दलित संघर्ष समितिले रौतहटमा आन्दोलन गर्दै आएका छन् ।

त्यसरी विजयरामको मृत्यु भएपछि अर्का आरोपी सिकिन्द्र पासवानको पनि सोही अवस्था हुनसक्ने भन्दै सामाजिक सञ्जालमा खबरदारी गर्नेहरुको संख्या थुप्रै देखिँदै आएको छ । विजयरामको हिरासतमा मृत्यु भएपछि रौतहटका तत्कालिन एसपी रविराज खडका, ईप्रका गरुडाका तत्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतो, ईन्स्पेक्टर नविनकुमार सिंह, सई वीरेन्द्र यादव र हवलदारद्धय मुना सिंह र हिरोज मिँया धुनिया माथि सरकारी वकिल कार्यालय गौरमार्फत यातना तथा ज्यान सम्बन्धी मुद्धा दर्ता भएको छ ।

त्यसअघि हिरासतमा रहेका बेला यातना दिएको भन्दै इन्स्पेक्टर सिंह र हवलदारद्धय धुनिया र सिंहलाई प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले ६ महिनाको लागि निलम्बन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप