शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीले बनायो हैरान

बुधबार, ०७ असोज २०७७, १५ : १९
बुधबार, ०७ असोज २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पुर्याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो ।

साँझ परेपछि एक्लै र समूहमा निकुञ्जबाट निस्किएर हात्ती धानबारीमा पस्ने गर्छन् । धान खाने, कुल्चने, मडार्ने गरेर क्षति पुर्याएको स्थानीयवासीको गुनासो छ । ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन् । ट्याक्टरको बत्ती बाल्ने, टायर बाल्ने, विद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाइ छ । 

लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिका वडा नं १ र ३ मा हात्तीले बढी सताउने गरेको छ । विगत ५० दिनयता रोनाल्डासँगै अन्य तीन चार हात्ती दैनिक आउने गरेको स्याङ्बोले बताए । उनले भने, “कहिले तीन त कहिले चार वटा हात्ती दैनिक आउँछन् ।”

कहिलेकाहीँ त्यही बथान मकवानपुरको मनहरि क्षेत्रमा जाने उहाँको भनाइ छ । साँझ ८ः०० बजेतिर आएका हात्तीलाई लखेट्न नसके बिहान ४ः०० बजेसम्म धानमा क्षति पु¥याउने गरेको छ । सो सामुदायिक वनले विद्युतीय झड्काका लागि तारबार गरेको छ । राप्ती नगरपालिकाको सहयोगमा १० मिटरको फरकमा तीन किलोमिटर क्षेत्रमा सिएफएल बालिएको उनको भनाइ छ । स्थानीयवासीले चोक–चोकमा टायर बाल्ने, दैनिक दुई वा तीनवटा ट्याक्टरमा बत्ती बालेर लखेटिरहेको उनले जानकारी दिए ।

हात्तीले अहिलेसम्म सो क्षेत्रमा १५ बिघा भन्दा बढी क्षेत्रफलमा लगाएको धान क्षति बनाएको छ । यससँगै एउटा घर, एउटा कुखुराको खोर र एउटा घरको भान्छामा क्षति बनाएको उनले दुखेसो गरे । पश्चिम चितवनको शुक्रनगर, जगतपुर, पटिहानी, मेघौली क्षेत्रमा पनि हात्तीले सताउने गरेको छ । त्यस क्षेत्रमा गोविन्दे नामको पुरानो हात्ती दैनिक आउने गरेको हरियाली मध्यवर्ती सामुदायिक वनका सल्लाहाकार संयोजक लालबहादुर दवाडीले जानकारी दिए । । 
माडी क्षेत्रमा हरेक वर्ष हात्तीले दुःख दिने गर्दछन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भैरवपुर, वनकट्टा, पौवारी, कृष्णनगर लगायतका क्षेत्रमा रातको समयमा हात्ती धान खेतमा पसेर क्षति पुर्याउन थालेको बताए । ढकालले हात्तीले क्षति बनाएबापत निकुञ्जले दिने जति राहत नगरपालिकाले थप गरेर दिँदै आएको जानकारी दिए । 

जङ्गली जनावरको आक्रमणबाट नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई तत्काल किरिया खर्चबापत रु २५ हजार नगरपालिकाले दिँदै आएको छ । उनीहरुका आफ्नै छोरा वा छोरी कक्षा १२ भन्दा तल पढ्दै गरेको भएमा रु पाँच लाख सहयोग गर्ने गरेको छ । हालसम्म दु्ई परिवारलाई अध्ययन खर्च दिइएको ढकालको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जङ्गली हात्तीले निकै दुःख दिने गरेको बताए । मध्यवर्ती सामुदायिक वनको अगुवाइमा स्थानीयवासीले हात्ती लखेट्ने गरेको उनको भनाइ छ । जङ्गली हात्तीले पुर्याएको क्षतिको राहत निकुञ्जले दिने गरेको भए पनि पूर्ण दिन सम्भव छैन । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जङ्गली हात्ती बाहिर निस्कने क्रम बढेपछि गस्ती बढाइएको जानकारी दिए । मानवीय र अन्य क्षति नहोस् भन्नका लागि गाडी तथा ट्याक्टरको सहयोगमा हात्ती लखेट्ने काम भइरहेको उनले बताए । उनले भने– “बढी नै दुःख दिएमा हवाई फायरसमेत गर्नका लागि तयारी अवस्थामा सुरक्षाकर्मी राख्ने गरिएको छ ।” निकुञ्जभित्रको घाँस छिप्पिएको हुने तर बाहिरको धान कलिलो र मिठो हुने भएकाले यो मौसममा जङ्गली हात्ती बाहिर आउने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप