शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमानको बहिर्गमनसँगै विद्युत वितरणमा समस्या देखिएको हो ?

निमित्त कार्यकारी निर्देशक कोइराला भन्छन्, ‘लोडसेडिङ इतिहास बनिसक्यो, अहिलेको समस्या मर्मत सम्भार र प्राविधिक मात्र हो’
बुधबार, ०७ असोज २०७७, १५ : १३
बुधबार, ०७ असोज २०७७

पछिल्लो समय बेलाबेला झ्याप्प बत्ति जान थालेपछि यसलाई निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनको विषयसँग जोडिएको छ । लाइन काटिने क्रम पनि बढेको गुनासो सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने आरोप छ  ।

तर, यता नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला आजै मात्र नो लाइटका कर्मचारीलाई तत्काल रेस्पोन्स गर्न निर्देशन दिएको बताउँछन् । पानी पर्दा तार फुट्ने, केही ठाउँमा रुख ढल्ने, ट्रान्सफरमर बिग्रने जस्ता समस्याले केही समय लाइन काटिएको तर बारम्बार भने नकाटिएको कोइरालाको भनाइ छ । मानिसहरुले फेरि लोडसेडिङ फर्काउन खोजेको टिप्पणी गरेको भन्दै लोडसेडिङ अब फर्कन सम्भव नभएको उनले स्पष्ट पारे ।  कुलमानमाथि ग्राहकको बढी भरोसा भएका कारण पनि केहीबेर लाइन काटियो भने पनि शंका उब्जिएको हो ।

बुधबार राति महाराजगञ्ज क्षेत्रको फिडरमा समस्या आयो । १ बजे समस्या आएको खबर सो क्षेत्रका वितरण केन्द्रका प्रमुख विष्णु भण्डारीले पाए । राति सिमसिमे पानी परेकाले उनी २ बजे त्यहाँ गए । आंशिक मर्मत गरे तर पूर्णतया मर्मत हुन बिहान सम्म लाग्यो ।

भण्डारी यस्तो समस्या पानी परेको कारण आएको बताउँछन् । अहिले यो समस्यालाई कुलमानसँग गाँसिनु गलत भएको उनको तर्क छ । उनले भने, ‘म नो लाइटमा काम गरेको २० वर्ष भयो । यस्तो समस्या त आइरहेकै हुन्थ्यो तर मैले बुझ्न सकिनँ, कुलमान बर्हिगमन भएपछि किन समस्या धेरै भयो भनिएको छ । उहाँ हुँदा पनि यस्तो समस्या आउँथ्यो । अहिले तथ्यहीन टिप्पणी देखेर अचम्म लाग्छ । ’

मर्मत÷सम्भार, पोल तथा ट्रान्सफर्मर परिवर्तन लगायत तथा अन्य प्राविधिक गडबडी हुँदा प्राधिकरणले सूचना दिएर बिजुली काट्ने गरेको छ । यसरी लाइन काटिनुलाई पनि लोडसेडिङसँग जोडेर अभिव्यक्ति दिन थालेपनि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक स्पष्टिकरण दिनुपरेको छ । उर्जामन्त्री बर्षमान पुनले यस विषयमा स्पष्टीकरण समेत दिए । मर्मतका लागि लाइन काट्दा ग्राहकमा भ्रम पर्न गएको स्पष्टीकरण मन्त्री पुनले स्पष्ट पारे । उनका प्रेस संयोजक दयानीधि भट्टले फेसबुकमामन्त्रीको स्पष्टीकरण लेखेका थिए ।

जबकि, घिसिङ हुँदा पनि सूचना दिएर विद्युत कटौती हुँदै आएको थियो । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा गत आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो । तर सो दिनको घटनाले पुनः लोडसेडिङ फर्कन लागेको आशंकामा आम मानिसहरु त्रसित बने । कतिपयले त सामाजिक सञ्जालमा लोडसेडिङ फर्काउने अभ्यासका रुपमा समेत टिप्पणी गरे ।

कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको छ भने ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न भनेको छ । सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ मा २४ सैँ घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिनेछ ।

अब लोडसेडिङ हुँदैन, इतिहास भइसक्यो : कोइराला

ट्रान्सफर्मरमा समस्या आउँदा, सबस्टेसन र वितरण लाइनको मर्मत तथा स्तरोन्नति गर्दा, सडक विस्तार भएको स्थानका विद्युतीय पोल सार्दाको अवस्थामा बाहेक विद्युत आपूर्ति नियमित भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला  सबस्टेसन र वितरण लाइनको मर्मत तथा स्तरोन्नति गर्न तथा विस्तारित सडकको विद्युतीय पोल सार्दा सार्वजनिक सूचना दिने गरेको बताउँछन् ।

कोइराला भन्छन्, ‘पुनः लोडसेडिङ फर्किन्छ भन्ने नसोचे पनि हन्छ । हामी सँग पर्याप्त मात्रामा विद्युत उत्पदान छ । चाहिने भन्दा बढी बिजुली दिन तयार छौँ ।

कतिपयले  व्यवस्थापनको पक्षमा प्रश्न उठाइरहँँदा उनले आफुले सबैले आफ्नो आफ्नो ठाउँमा रहेर काम गर्न निर्देशन दिएको बताए । नो लाइटमा पनि रेस्पोन्स गर्नु भनेर अर्लट गराइएको बताए ।

अहिले विद्युत माग बढेर साढे १३ सय मेगावाट पुगेको छ । पानी परेपछि कम माग हुने उनले बताए । कोरोना माहामारीका कारण उद्योग धन्दा करखारखाना पूर्ण क्षमतामा चल्न सकेका छैनन् जसले खपत कम भएको छ । यद्यपि विगत तीन–चार दिन यता गत वर्षको तुलनामा माग बढेको कोइरालाको भनाइ छ ।

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार अहिले पिक आवर (विहान र साँझ)मा १२२५ देखि १२५० मेगावाटसम्म विद्युत माग छ । पिक आवरमा प्राधिकरणका आयोजनाबाट ५०० मेगावाट र करिब ५५० मेवा निजी जलविद्युत कम्पनीबाट लिइन्छ । अपुग हुने १०० देखि १८० मेगावाट भारतबाट आयात गरिन्छ ।

अनलाइन कक्षालाई समस्या

कोरोना महामारीका कारण अहिले विद्यालयहरु बन्द छन् । धरैजसो विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । अनलाइन कक्षाका लागि विद्युतको आवश्यक पर्छ । मर्मत सम्भार, मौसमी कारण देखाएर हुने गरेको लोडसेडिङले विद्यार्थीहरु मारमा परेका छन् । तर प्राधिकरणले त्यस्ता विद्यार्थीहरुलाई पनि ध्यान दिदै मर्मत सम्भार चाडै चाडै गरिएको बताउँछ । तर एक्कासी विद्युतमा आउने प्राविधिक समस्या कतिबेला आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले जतिबेला समस्या आउँछ तत्काल मर्मत गर्न आफ्ना कर्मचारीलाई प्राधिरकणले निर्देशन पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप