बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२५४ घरधुरी भएको गाउँमा अब २ घरमात्र बाँकी

बुधबार, ०७ असोज २०७७, १२ : ५९
बुधबार, ०७ असोज २०७७

गुल्मी । कुनै बेला अढाइ सयभन्दा बढी घर रहेको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ मा पर्ने खर्बाङ्ग गाउँमा अहिले दुई घरमात्र बाँकी छन् । कु्नै समय घना बस्ती, खेतीपाती, पशुपालनले यो गाउँको जनजीवनमा छुट्टै रौनक थियो । पछिल्लो दुई दशक यता यो गाउँ उजाड भएको छ ।

रोजगारी, शिक्षा, स्वास्थ्य, बाटोघाटोको सुविधा लगायतको खोजीमा मानिसहरु गाउँबाट पलायन भएको स्थानीयबासी बताउँछन् । सो गाउँमै रहेका ७४ वर्षीय नारायण भट्टराई विगतमा रमझम रहेको गाउँ अचेल सुनसान हुन पुगेको बताउँछन् । निःसन्तान उनी चार/पाँच वर्ष अघि श्रीमतीको मृत्यु भएपछि एक्लो परेका हुन् ।

भट्टराईको घरसमेत जीर्ण भइसकेको छ । घर बनाइदिने पनि कोही नभएको उनी बताउँछन् । सो गाउँबाट केही पर रहेको राम्चेको दलित बस्ती पनि पुरै खाली भईसकेको छ । राम्चे गाउँका ६३ वर्षीय डिलबहादुर विकले केही वर्ष अघिसम्म गाउँमा आफ्नो दाजुभाईको २४ घर रहेको सुनाए ।

हाल आफ्नोमात्र घर रहेकाले एक्लै बस्न नसकेर पुर्ख्यौली गाउँ राम्चे छाडेर खर्बाङ्गको खाली घरमा भाडा तिरेर बसेको उनी बताउँछन् । खर्बाङ्गका करिव एक दर्जन खाली घरमा राम्चे गाउँका दलित समुदाय आएर बसेका छन् । अरु घरका भग्नावशेष मात्रै छन् ।  कुनै समय उर्वर र उब्जाउ भूमि मानिएको स्थान अहिले बाँझो झाडी बनेको छ । 

विद्यालयको हालत उस्तै
२०४६ साल अघिसम्म प्राविबाट निमावि हुने तयारीमा रहेको स्थानीय सरस्वती माध्यामिक विद्यालय अहिले बालविकासमा परिणत भएको छ । गत वर्ष फागुनमा अनिवार्य अवकास लिएका प्रधानाध्यापक हिरालाल अर्यालका अनुसार २०४६ साल अघिसम्म यस विद्यालयमा डेढ सयदेखि दुई सयसम्म विद्यार्थी हुन्थे ।

पहिला ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ३ सम्ममात्र पढाइ हुने गरेकोमा दुई÷तीन वर्ष यता विद्यार्थी संख्या १०÷१२ जनामा सीमित रहेपछि प्रावि बालविकासमा परिणत भएको हो । विद्यालयमा एक जनामात्रै शिक्षक कालिका विश्वकर्मा छिन् ।  प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म आफैले चलाएकी उनी विगत तीन वर्षदेखि मासिक ६ हजार रुपैयाँ तलबमा बालविकासको दरबन्दीमा कार्यरत छिन् ।

२०४६ सालपछि बसाई सराईको लहर
सो गाउँमा २०४६ सालपछि बसाई सराईको लहर चलेको पूर्व प्रधानाध्यापक अर्याल बताउँछन् । गाउँबाट वैदेशिक रोजगारका लागि युवाहरु विदेश जाने र पैसा कमाएर फर्किएपछि सुविधाजनक स्थानमा बसाई सर्ने क्रम सुरु भएको उनको भनाइ छ । कतिपयले घरजग्गा त्यसै छाडेर गएका कारण स्याहारको अभावमा घर जीर्ण भनेको र जग्गाजमिन बाँझो रहेको उनले बताए ।

मुसिकोट नगरपालिकाले डेढ सय रोपनी जग्गा खरिद गरि कफी खेती गर्न खोजे पनि जग्गाको मूल्य नमिलेर उक्त योजना रोकिएको उनले सुनाए । बसाई सराई गरेकाहरुले आफुले भनेअनुसारको भाउ नपाए पुर्ख्यौली जमिन त्यसै रहन्छ भन्ने गरेको अर्यालको भनाइ छ ।

एउटा गाउँ रित्तै : वडाध्यक्ष
सो वडाका वडाध्यक्ष भागिरथ खरालले २०५४ सालको चुनावमा खर्वाङ्ग गाउँमा २ सय ५४ घरधुरी रहेको सुनाए ।  दलितको बाहुल्यता रहेर अहिले रित्तो भएको राम्चे गाउँ साविक आँपचौर गाविसको वडा नम्वर ९ मा पर्दथ्यो । २०५४ सालसम्म त्यहाँ ६० घर दलित समुदाय रहेको खराल बताउँछन् ।

वडाध्यक्ष खरालले भने, ‘दुर्गम थलो हुनु, बेलैमा मोटर बाटो पुग्न नसक्नु, विद्यु्त पनि नहुनु र मुलतः वैदेशिक रोजगारबाट फर्केकाहरु सुविधासम्पन्न ठाउँमा बस्न चाहेर पनि ती बस्ती अहिले रित्तिएका हुन् ।’ आफू वडाध्यक्ष भएपछि पहिलो वर्ष ३० घरधुरी बसाई सराईको सिफारिस लिन आएको उनले बताए । दोस्रो वर्ष २० जनाले र  चालु वर्षमा एकाधले बसाई सराईको कागज बनाएर लगेको उनी बताउँछन् ।

वडा कार्यालयको अभिलेखमा अहिले पनि ३० घरधुरी त्यहाँका बासिन्दा रहेको उनले बताए । बसाई सरेर गइसकेकाहरुले वडा कार्यालयमा औपचारिकता पूरा गर्न बाँकी रहेको कारण यो तथ्यांक देखिएको उनको भनाइ छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उत्पादनशील गाउँ अहिले उजाड बनेकोमा चिन्ता प्रकट गर्दै त्यस गाउँमा एकीकृत बस्ती बनाउनेबारे विचार गरिरहेको बताए ।

‘हामी निर्वाचित भईसकेपछि बसाई सराई रोक्न ४८ लाख खर्चेर तल आँपचौरदेखि खर्बाङ्ग गाउँसम्म मोटरबाटो खोल्यौँ,’ उनले भने, ‘विद्युत र खानेपानीको ब्यवस्था पनि मिलाएका छौँ ।’ यता चन्द्रकोट गाउँपलिकाको तुराङ्ग, रुपाकोट, सत्यवती गाउँपालिकाको हसरा, जोहाङ्ग, खैरेनी, जुनियाँ भार्से लगायतका गाउँबाट पनि झण्डै ५० प्रतिशत घरधुरी बसाई सराई बताईन्छ ।

गाउँमै फर्केर कृषि उद्यमी
खर्वाङ्गका डिलाराम भट्टराईको परिवार तराईतिर वर्षौं अघि बसाई सराई गरेको थियो । भट्टराई वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब लगायत खाडी मुलुकमा धेरै वर्ष बसे ।  त्यहाँबाट फर्केर आएपछि हाल उनी खर्वाङ्गमा आएर सुन्तला, कागती, कफी खेती सुर गरे । उनले पशुपालन पनि थाले । उनको गोठमा एउटा राँगोसहित १५ वटा भैँसी छन् ।

गएको सिजनमा उनले आफ्नो बगैँचाबाट एक ट्रक सुन्तला बेचेको युवराज खराल बताउँछन् । भट्टराई त्यस भेगकै उत्कृष्ट युवा कृषक भएको मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । भट्टराईले जस्तै घर जग्गा त्यसै छाडेकाहरु गाउँमै फर्किएर मेहनत गरे गाउँमै सुन फलाउन सकिनेमा दुईमत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप