केन्द्रीय संस्करण
कोरोनाभाइरस

किन ढिलो आउँछ स्वाब परीक्षणको रिपोर्ट ?

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

कोरोनाभाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै स्वाब परीक्षणको रिपोर्ट ढिला आउन थालेको गुनासो पनि बढ्न थालेको छ ।

एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्न मातहतका निकायलाई परिपत्र गरिसकेको छ भने अर्कोतिर परीक्षण गरिएकाहरुको रिपोर्टमा समेत ढिलाइ हुन थालेपछि संक्रमितको पहिचानमा ढिला हुन गई संक्रमण दर बढ्ने खतरासमेत विज्ञहरुले औँल्याउन थालेका छन् ।

निजी अस्पतालका प्रयोगशालाका तुलनामा सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउने गरेको गुनासो व्याप्त छ । देशका विभिन्न भागमा ५० भन्दा बढी सरकारी र निजी प्रयोगशालामा पीसीआर परीक्षण गरिन्छ । सरकारी प्रयोगशालामा परीक्षणको रिपोर्ट आउन ३ देखि ५ दिनसम्म लाग्ने गरेको छ ।

सांसदले नै उठाए आवाज

प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिले कोरोनाभाइरस उपचार नियन्त्रण एवं रोकथामसम्बन्धी भइरहेका कार्यको अनुगमन गर्ने उपसमितिको बैठकमा केही सांसदले आफ्नै परीक्षण रिपोर्ट ढिला आएपछि गुनासो पोखे । नेकपा सांसद सरिता न्यौपानेले कोरोना परीक्षणको रिपोर्ट ढिलो आएका कारण पनि संक्रमण झन् फैलिएको बताइन् ।

कांग्रेसकी सांसद नमिता चौधरीले पीसीआर परीक्षण गराएको ५ दिनपछि मात्रै आफ्नो रिपोर्ट आएको गुनासो गरिन् । स्वाब परीक्षणको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय चुकेको आरोपसमेत सांसदहरूले लगाए ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने कोरोना परीक्षणको रिपोर्ट समयमै ल्याउन नसकेको आरोप ठाडै अस्वीकार गरे । रिपोर्ट ढिलो आउने गरेको आरोप मान्न उनी मान्न तयार नभए पनि ४८ देखि ७२ घण्टासम्म मुस्किलले परीक्षणको रिपोर्ट आउने गरेको सरोकारवाला बताउँछन् ।

क्षमताभन्दा बढी परीक्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख रुना झा दिनमा ३ सय स्वाब परीक्षण गर्ने क्षमता भएको प्रयोशालामा ६ सय स्वाब आउने भएकाले ४८ घण्टाभित्र रिपोर्ट दिन मुस्किल पर्ने बताउँछिन् ।

‘प्रयोगशालासँग समन्वय नगरिकन स्थानीय तहहरूले जहाँ मन लाग्यो त्यहीँ स्वाब संकलन गरेर पठाउने गर्छन्,’ उनी भन्छिन्, ‘स्वाब परीक्षण नहुनु र बिरामीले रिपोर्ट नपाउनु फरक कुरा हो ।’ 

बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आएमा प्रयोगशालाले बिरामी व्यक्तिको हातमा रिपोर्ट नदिने उनी बताउँछिन् । यस कारण पनि कतिपयको रिपोर्टमा ढिलाइ भएजस्तो देखिएको उनको भनाइ छ ।

स्वाब संकलन केन्द्रबाट स्वाबको नमूनालाई प्रयोगशालासम्म ल्याएर परीक्षण गर्नुपर्दा स्वाभाविक रुपमा केही समय लाग्ने उनले बताइन् । 

मानौं, ५० वटा स्वाब परीक्षण गर्दा प्रारम्भमै १० जनाको रिपोर्ट पोजेटिभ आएमा तिनको रिपोर्ट तत्कालै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)लाई नपठाइ दिनभरि गरिएको परीक्षणबाट संकलित पोजेटिभ रिपोर्टलाई एकसाथ राति ८÷९ बजे पठाउने गरिन्छ ।

भोलिपल्ट बिहानदेखि बिरामीको पत्ता लगाउन सुरु गरिन्छ । कोही सम्पर्कमा आइहाल्छन् भने कोहीले फोन नउठाएर, केहीले गलत नम्बर दिएर, नाम–ठेगाना गलत दिँदा पनि समयमै सम्बन्धित व्यक्तिहरूसम्म पुग्न ढिला हुन सक्ने प्रयोगशाला प्रमुख झाको भनाइ छ ।

समन्वयको अभाव

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख रुना झाका अनुसार स्वाब संकलनदेखि परीक्षण रिपोर्ट व्यक्तिसम्म पु¥याउन सम्बन्धित निकायहरूले समन्वय नगर्दा रिपोर्ट थाहा पाउन ढिलो हुँदै आएको छ । कुनै प्रयोगशालामा स्वाब कम हुने, कुनैमा क्षमताभन्दा धेरै हुने भएकाले बिरामीले रिपोर्ट पाउन ढिला भएको हुन सक्ने उनले बताइन् ।

देशका विभिन्न भागबाट कन्ट्याक्ट टे«सिङमा परेर, लक्षण देखिएर, संक्रमितको सम्पर्कमा आएको आशंका लागेमा स्वाब संकलन गरेर प्रयोगशालामा पठाइन्छ । तर समयमै रिपोर्ट नआउँदा संदिग्ध संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु पत्ता लगाउन र उनीहरुको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाउन स्वाभाविक रुपमा ढिला हुने भएकाले संक्रमण फैलने खतरा बढ्ने विज्ञहरुको भनाइ छ ।

स्वाब संकलन गर्ने निकायले समन्वय नगरिकन पीसीआर परीक्षण गर्न पठाएका कारण रिपोर्ट आउन ढिला भएको प्रयोगशाला एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउने गरे पनि स्थानीय तहहरूले प्रयोगशालालाई नै दोष दिने गरेका छन् । स्वाब संकलन गर्ने निकायदेखि परीक्षण गर्ने प्रयोगशाला र जानकारी लिनेदिने तथा कन्ट्याक्ट टे«सिङ गर्ने इडिसिडिले नियम तथा प्रक्रिया तोकेर काम गर्न नसक्दा पीसीआर रिपोर्ट थाहा पाउन ५÷६ दिन लाग्ने गरेको छ ।

स्वाब संकलन गर्ने र परीक्षणस्थलसम्म एउटै टिम वा व्यक्ति संलग्न भएको खण्डमा परीक्षण रिपोर्ट छिटै आउन सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. रुना झाले बताइन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा भने सिधै बिरामीले स्वाब परीक्षण गराउन पाउँछन् । बाहिरबाट संकलन गरेर ल्याएको स्वाब परीक्षण गर्नु नपर्ने भएकाले धेरैजसो स्वाबको रिपोर्ट ४७ घण्टाभित्र आउने सिनियर ल्याब टेक्निसियन परमानन्द भण्डारी बताउँछन् ।

कुनैकुनै नमुनालाई दोहो¥याएर परीक्षण गर्दा रिपोर्ट आउन कहिलेकाहीँ ढिला हुन सक्ने उनको भनाइ छ । ‘नेगेटिभ रिपोर्ट आइसकेपछि सम्वन्धित व्यक्तिलाई हामीले जानकारी दिन्छौं,’ उनले भने, ‘पोजेटिभ आएकाहरुको बारेमा इडिसिडिलाई जानकारी दिन्छौं ।’

निजी अस्पतालका ल्याबहरूले भने ६ देखि १२ घण्टामा परीक्षणको रिपोर्ट दिने गरेका छन् । तर २ हजारमा हुँदै आएको कोरोना परीक्षण उनीहरुले ५ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

रिपोर्ट ढिलो आउनुको अन्य कारण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशका विभिन्न भागबाट स्वाब परीक्षणका लागि पठाउने गरिन्छ । संकलन गरेको १२ घण्टामा प्रयोगशालामा स्वाब आइपुग्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. राजेशकुमार गुप्ता बताउँछन् ।

स्वाब संकलन गरेको १२ घण्टाभन्दा बढी समयपछि आइस पग्लिएर स्वाब परीक्षण गर्न नमिल्ने उनको भनाइ थियो । उपत्यका वरिपरिका जिल्लामा संकलन भएका स्वाबलाई  प्रयोगशालासम्म पु¥याउन बढीमा ४÷५ घण्टा लाग्छ । डा. गुप्ताका अनुसार बढीमा १२ घण्टाभित्र प्रयोगशालामा स्वाब आइपुग्छ । धेरै टाढाका जिल्लाबाट स्वाब संकलन गरेर ल्याउनु पर्ने अवस्थामा तापक्रम मेन्टेन गरिन्छ जसले गर्दा स्वाब नबिग्रिने उनको भनाइ छ ।

जनस्वास्थ्य प्रयोगशालामा देशका विभिन्न भागबाट संकलन भएर ल्याइएका नमुना आएपछि तापक्रम मिलाएर राखिन्छ । परीक्षण गर्नुभन्दा अघि नमुनालाई प्रयोगशालाहरूले भेरिफिकेसन गर्छन् । प्रयोगशालाहरूले नमुनामा लेखिएको नाम र फारममा लेखिएको नामको भेरिफाइ गरेपछि नमुनाको लेबलिङ गर्ने र युनिक बारकोट गरेर नमुनालाई परीक्षणको लागि प्रक्रियामा लैजाने डा. गुप्ताको भनाइ छ ।

‘एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न मिल्छ,’ उनले भने, ‘एउटा नमुना परीक्षण गर्न र ९६ वटा नमुना परीक्षण गर्न एउटै समय लाग्छ ।’ परीक्षणको रिपोर्ट निकाल्न प्रशासनिक काम बाहेक ६ घण्टा लाग्ने उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला देशका विभिन्न भागबाट हजारौँ स्वाब परीक्षणको लागि आउने हुँदा केही बढी समय लाग्ने उनको भनाइ छ । निजी ल्याबमा भने कम नमुना आउने हुँदा ६ घण्टामा परीक्षण गरेर दर्ता गर्ने, भेरिफिकेसन गरेर २४ घण्टामै रिपोर्ट दिन सम्भव हुने उनी बताउँछन् ।

नेगेटिभ रिपोर्ट आउनेहरूलाई एसएमएसमार्फत प्रयोगशालाले नै जानकारी दिने भए पनि पोजेटिभ रिपोर्ट आएमा इडिसिडिलाई रिपोर्ट बुझाएर कन्ट्यायाक्ट ट्रेसिङ सुरु हुने उनले बताए । यस कारण पनि नेगेटिभ रिपोर्ट आउनेहरुको तुलनामा पोजेटिभ रिपोर्ट आउनेहरुले केही ढिलोगरी रिपोर्टसम्बन्धी जानकारी पाउने गरेको उनको भनाइ छ ।

संक्रमणको आशंका भएर स्वाब परीक्षण गराउने व्यक्तिले रिपोर्ट नआउन्जेलसम्म आफै होम क्वारेन्टिनमा बसेर संक्रमण फैलिनबाट रोक्नुपर्ने विज्ञहरु बताउँछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.