बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी स्वास्थ्य विभागले पुनः फेर्‍यो दिशानिर्देशः सुरुमा भन्यो, ‘हावाबाट फैलनसक्छ भाइरस’; अब भन्यो, ‘अनुसन्धान बिना जानकारी प्रकाशित’

बुधबार, ०७ असोज २०७७, ०७ : ३१
बुधबार, ०७ असोज २०७७

अमेरिकाको सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले केही दिन अघि नयाँ दिशानिर्देश (गाइडलाइन) प्रकाशित गरेको थियो । यो गाइडलाइनमा हावामा उड्ने कणले भाइरस फैलाउन सक्छ भनिएको थियो । यद्यपि, एजेन्सीले आफ्नो यो सल्लाह फिर्ता लिएको छ । सिडिसीले यो सल्लाह एजेन्सीको वेबसाइटमा गल्तीले पोेस्ट भएको बताएको छ । प्रकाशित डकुमेन्टले पहिलो पटक भाइरस मुख्य रुपमा हावामा फैलन्छ भन्ने कुरा स्विकार गरेको थियो ।

निर्णय परिवर्तन भएपछि वैज्ञानिकको बढ्यो चिन्ताः

गाइडलाइनमा यो परिवर्तन यस्तो बेला आएको हो जब भाइरसका कारण अमेरिकामा मृत्युको आँकडा दुई लाख पार भएको छ । दैनिक हज्जारौं नयाँ संक्रमित फेला परिरहेका छन् । विशेषज्ञका अनुसार संक्रमितको संख्यामा अझै वृद्धि हुने अनुमान गरिएको छ किनभने चिसो मौसम आउँदैछ र मानिसहरु घरभित्र धेरै समय बिताउनेछन् ।

गाइडलाइनमा तीब्र रुपमा परिवर्तन भइरहेका कारण वैज्ञानिकबीच चिन्ता बढेको छ । यसबारे एजेन्सीको विश्वसनियतामा पनि प्रश्न उठ्न थालेका छन् । यसबारे जानकारी राख्ने विशेषज्ञले सोमबार बताए अनुसार हालैमा परिवर्तन भएको निर्णय राजनीतिक दखल नभए एजेन्सीको ‘साइन्टिफिक रिभ्यू’ प्रक्रियामा भएको गड्बडी जस्तो देखिन्छ । अधिकारीले एजेन्सीले चाँडै नै दिशानिर्देशन जारी गर्ने बताएका छन् ।

विशेषज्ञले उठाए प्रश्नः

केही वैज्ञानिकले सार्वजनिक स्वास्थ्यसँग जोडिएको कुनै पनि डकुमेन्ट कुनै अनुसन्धान बिना नै पोस्ट गरियो भन्ने कुरा बुझ्नु मुश्किल भएको बताएको छ ।

एजेन्सीका प्रवक्ता जेसन म्याकडोनल्डले भने, ‘हामी हाम्रो प्रक्रियाको समीक्षा गरिरहेका छौं र सबै गाइडेन्स र अपडेट पोस्ट गर्नु अघि रिभ्यू गरिने कामलाई थप कडा बनाउदैछौं ।’

वैज्ञानिक अनुसन्धानले केही विशेष स्थानमा एरोसोलको भूमिका हुने  जानकारी दिएको छ । यो धेरैजसो बार, क्लब, जिम र रेष्टुरेन्टजस्ता खराब भेन्टिलेशन भएको इन्डोर स्थानमा हुनसक्छन् । एजेन्सीले शुक्रबार प्रकाशित दस्तावेजमा यी स्थानमा भाइरस हावामा लामो समयसम्म रहन सक्छ र ६ फिटभन्दा बढीको दूरीमा फैलन सक्ने बताएको थियो ।

सिडिसीमाथि प्रश्नः

– महामारी फैलिएपछि सिडिसीमाथि नै प्रश्न उठिरहेका छन् । उदाहरणका लागि अप्रिलमा नै अधिकारीले मास्क लगाउन आवश्यक छैन भनेका थिए तर पछि आफैंले अनुहारलाई छोप्न सल्लाह दिइरहेका थिए । अगस्टमा सिडिसीले कोही व्यक्ति संक्रमितको सम्पर्कमा आएका छन् र उनीहरुलाई लक्षण देखिएको छैन भने उनीहरुले परीक्षण गर्न नपर्ने बताएको थियो ।

– जबकि गत हप्ता न्यूयोर्क टाइम्सले यो निर्देशन वैज्ञानिकको साटो प्रशासनमा भएका अधिकारीको तर्फबाट आएको पत्ता लगायो । त्यसपछि एजेन्सीले आफ्नो निर्णय परिवर्तन गर्यो र संक्रमतको व्यक्तिको सम्पर्कमा आएपछि सबैको परीक्षण गर्न आवश्यक भएको बतायो ।

– गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एजेन्सीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डको भ्याक्सिनसँग जोडिएको बयानमा भड्किएका थिए । डाक्टर रेडफिल्डले भ्याक्सिन अर्को वर्षको मध्यसम्म उपलब्ध नहुने बताएका थिए । यसमा ट्रम्पले भनेका थिए, ‘यो पूर्ण रुपमा गलत खबर हो ।’

हावामार्फत् भाइरस फैलन्छ भन्ने बहसले पुनः बढायो चिन्ताः

महामारीको सुरुवातदेखि नै वैज्ञानिकलाई राम्रोसँग थाहा थियो कि कोरोनाभाइरस हाच्छिउँ गर्दा, खोक्दा निस्कने छिट्टाका कारण फैलन सक्छ । पछि डब्ल्यूएचओजस्ता स्वास्थय एजेन्सीले कुराकानी गर्दा, सास फेर्दा, गीत गाउँदा निस्कने एयरोसोलको भूमिकालाई स्विकार गर्यो । सिडिसीको नयाँ दस्तावेजमा दुबै तरिकालाई हावामार्फत् फैलने संक्रमणको नाम दिइयो तर अधिकारीले पहिलो एयरोसोलको भूमिकामा जानकारी दिएको थिएन ।

शुक्रबार प्रकाशित दस्तावेजमा सिडिसीले के भन्यो ?

सिडिसीका अनुसार जब एक संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्छ, गीत गाउँछ, कुराकानी गर्छ वा सास फेर्छ भने त्यसबाट साना कण तयार हुन्छन् जुन एयरोसोलमा हुन्छन् । यी कण सासमार्फत् शरीर भित्र गएर संक्रमणलाई सुरु गर्न सक्छन् । एजेन्सीका अनुसार यो भाइरस फैलने मुख्य तरिका मानिन्छ ।

सिडिसीले कोभिड–१९ समेत हावामार्फत् फैलने भाइरस असाध्यै संक्रामक हुने र निकै सजिलै फैलने सक्ने बताएको थियो । जर्ज मेसन युनिभर्सिटीमा हस्पिटल एपेडेमियोलोजिस्ट सास्किया पपेस्कुले भने, ‘यो एउटा यस्तो बयान हो जसले अस्पतालले कोरोनाभाइरस बिरामीको हेरविचार कसरी गर्ने भन्ने विषयमा उल्झन निम्त्याउँछ ।’

हावामार्फत् फैलने भाइरसको मामिलामा बिरामीलाई कथित नेगेटिभ प्रेशर कोठामा राख्न आवश्यक पर्न सक्छ । यो तरिकाले भाइरसलाई बचेर बाहिर निस्कन रोक्नेछ र स्वास्थ्यकर्मीले हरेक समय एन९५ मास्क लगाउनेछन् । डाक्टर सास्कियाले भने, ‘हामी हरेक बिरामीलाई नेगेटिभ प्रेशर भएको कोठामा राख्न सक्षम हुनेछैनौं, यो हाम्रो लागि ठूलो चुनौती हुनेछ ।’

उनका अनुसार यदि भेन्टिलेशन र इन्फेक्सन कन्ट्रोल सिस्टम अस्पतालमा सही सुरक्षा दिइरहेको छैन भने अस्पतालका कारण संक्रमण बढ्नेछ । डाक्टर सास्कियाले भने, ‘मलाई लाग्छ कि उनीहरुले यो कुरा राम्रोसँग बुझेका छन् कि यो भाइरस हावामार्फत् फैलने संक्रमण हो भनेर हचुवाको भरमा भन्न मिल्दैन । अस्पतालमा यसको दबाब अत्यधिक गम्भीर हुनेछ ।’

उनले भने, ‘मलाई लाग्छ, यसैकारण सायद उनीहरुले यो निर्णय फिर्ता लिएका हुन् ।’

सिडिसीले एक हप्तामा नै परिवर्तन गर्यो आफ्नो निर्णयः

गत शुक्रबार मात्रै सिडिसीले आफ्नो अर्को गाइडलाइन फिर्ता लिएको थियो जसमा एजेन्सीले २४ अगस्टमा कुनै संक्रमित व्यक्तिलाई भेटेपछि पनि यदि लक्षण देखिएको छैन भने परीक्षण गराउन आवश्यक नभएको बताएको थियो । पछि एजेनसीले स्पष्ट रुपमा भनेको थियो कि कुनै पनि संक्रमित व्यक्तिसँग १५ मिनेटभन्दा बढी सम्पर्कमा रहेको छ भने परीक्षण आवश्यक छ । यो निर्णय सिडिसीले विशेषज्ञको भारी विरोधपछि लिएको थियो ।

स्रोतः न्यूयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप