शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयको एउटा भवन चुहिएर बेहाल, अर्को भवन बनाउनेबारे विवाद

मङ्गलबार, ०६ असोज २०७७, १५ : ५६
मङ्गलबार, ०६ असोज २०७७

गुल्मी । दुई वर्ष अघि निर्माण भएको गुल्मीको एक विद्यालय भवन वर्षामा पानी चुहिएर बेहाल हुने गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १२ स्थित उर्लेनीमा रहेको रानीपोखरी निम्न माध्यामिक विद्यालयको दुई कोठे भवनको छतबाट वर्षामा पानी चुहिने गरेको हो ।

सोही वडाका वडाध्यक्ष कुलबहादुर टण्डनका भाई चेहरसिंह टन्डनले आफू विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदा उक्त भवन बनाउन लगाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा कमिटी अध्यक्ष गिरिसिंह महाकिमका अनुसार चेहरसिंहले आफ्नै निर्माण सामग्री र जनशक्ति लगाएर उक्त भवन बनाउन लगाएका थिए । कम गुणस्तरको सामग्री प्रयोग गरेका कारण उक्त भवन चुहिने भएको गिरिसिंहको आरोप छ ।

उनका अनुसार अहिले अर्को भवन पनि बनाउने तयारी भइरहेको छ । उक्त भवनसमेत वडाध्यक्षले घुमाई फिराई आफ्नै भाइलाई निर्माणको जिम्मा दिने चलखेल गरेका कारण स्थानीयस्तरमा विरोध भइरहेको छ ।
वडाध्यक्ष कुलबहादुर भने दुई वर्ष अघि १६ लाख रुपैयाँ बजेट विनियोजित भई उक्त भवन बनाइएको भए पनि भ¥याङको माथि ओत नभएका कारण पानी चुहिएको बताउँछन् । 

अहिले त्यसै विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ७० लाख ४० हजार रुपैयाँ लागतको चार कोठे भवन बन्दै छ । सो भवन निर्माणका लागि साउन ९ गते बसेको सर्वदलीय भेलाले पुरानो भवनलाई भत्काउने र २५ गतेको भेलाले कसैलाई ठेक्का नदिई विद्यालय ब्यवस्थापन समितिको रेखदेखमा स्थानीय जनशक्तिद्वारा भवन निर्माण गर्ने निर्णय भएको जनाईएको छ । 

तर वडाध्यक्ष कुलबहादुर टन्डनले सो निर्णय विपरित जनशक्तिको ठेक्का विनोद विकलाई दिएको भन्दै नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
‘घटी–घटाउमा बोलकबोल आह्वान गरियो । विशाल विकले १७ लाखमा काम गर्ने भनेको र वडाध्यक्षले ५० हजार जसले घट्छ उसैले पाउँछ भनेपछि विनोद विकले १६ लाख ५० हजारमा बनाउँछु भनेर जिम्मा लिएको नेकपा वडा कमिटी अध्यक्ष गिरिसिंहको भनाइ छ ।

वडाध्यक्ष कुलबहादुर भने स्थानीय जनशक्तिबाटै भवन निर्माण गरिने अडानमा छन् । ‘साथीहरुले बुझ्दै नबुझी ठेक्का दिन लागियो भनेर विरोध गर्दै आउनु भएको छ,’ उनले भने, ‘कसैलाई पनि ठेक्का दिइन्न, यहीँको जनशक्ति लगाएर भवन निर्माण गर्ने हो ।’

वडाध्यक्षमा नेपाली कांग्रेसबाट विजयी भएका उनी अहिले त्यस विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
विद्यालय भवन निर्माणमा नेकपा कार्यकर्ताहरुले विवाद उठाएपछि नेपाली कांग्रेस जिल्ला कार्य समितिको नेतृत्वमा सोमबार सदरमुकाम तम्घासमा विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीसँग झडप भएको थियो ।

झडपमा पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ सहित ६ जना घाईते भएका थिए । आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप