शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेरीको ८० प्रतिशत व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

मङ्गलबार, ०६ असोज २०७७, १५ : ४९
मङ्गलबार, ०६ असोज २०७७

 कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ । विगत ६ महिनाको अवधिमा मात्र यो क्षेत्रमा १० अर्ब रुपैयाँभन्दा बढीको नोक्सान भइसकेको छ । पुरै ‘चेन अफ भ्यालु’लाई नै प्रभावित पारेको छ ।
कोरोना महामारीमा दुग्ध क्षेत्रको अवस्था, त्यसको समाधान लगायतका विषयमा केन्द्रित रहेर उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्को उपसभापति तथा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं सीताराम डेरीका प्रवन्ध निर्देशक
सुमित केडियासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगका कुराकानीको सम्पादित अंशः

कोरोना महामारी शुरु भएको झण्डै ६ महिना भइसक्यो, यो अवधिमा दुग्ध व्यवसायलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
–चैत ११ गतेदेखि शुरु भएको लकडाउनमा पनि हामीले एउटा जिम्मेवार व्यवसायीको रुपमा काम गरिरह्यौं । विगतको भूकम्प, नाकाबन्दी लगायत विभिन्न अप्ठ्यारो समयमा पनि हामीले जसरी जिम्मेवारीपूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्यौं, त्यसैगरी यो कोभिड–१९ को समयमा पनि हामीले हाम्रा सेवालाई निरन्तरता दियौं ।

तर किसानबाट दुध आए पनि हामीले त्यसलाई बजारमा पठाउन सकेनौं । विगतको तुलनामा अहिले १५–२० प्रतिशतमात्र व्यापार हुन्छ । तैपनि हामीले व्यापार सञ्चालन गरिरहेका छौं । हामीले व्यापार बन्द गर्यौं भने त्यसको सबभन्दा ठूलो असर साना किसानहरुलाई पर्छ । त्यसलाई मध्यनजर गर्दै हामीले जसोतसो व्यापार सञ्चालन गरेका छौं । नत्र तपाई नै भन्नुस्, ८० प्रतिशत व्यापार चौपट भएको बेला कसले दुःख गरी चलाईरहन्छ ? असोज १ गतेदेखि निषेधाज्ञा हटाइएको छ । हामी सामान्य अवस्थामा आउने प्रयत्न गरिरहेका छौं तर जुन हिसाबले बजार बढ्नुपर्ने हो, त्यो हिसाबले बढ्न सकेको छैन ।
 
२० प्रतिशतमात्र व्यापार छ भन्नुभयो, फेरि किसानबाट पहिलाजस्तै दुध पनि लिइरहनु भएको छ । दुग्धजन्य पदार्थ कसरी खपत भइरहेको छ त ?
–कोरोना भनेको डेरीलाई मात्र होइन, किसानका लागि पनि हो । दुग्ध क्षेत्रको सम्पूर्ण ‘चेन भ्यालु’ नै प्रभावित भएको छ । विगतको तुलनामा दुधको उत्पादनमा पनि कमी आएको छ भने हामीले आवश्यकताका वरिपरि रहेर दुध खरिद गरिरहेका छौं । बढी भएका दुधलाई हामीले धुलो बनाउँछौं । अर्थात् दुध नफ्यालीकन जसोतसो त्यसलाई व्यवस्थापन गर्ने काम हामीले गर्दै आइरहेका छौं । तर यस्तो कति दिनसम्म गर्ने भन्ने चिन्ता छ ।
 
डेरी एशोसिएशनको नेतृत्व पनि गरिसक्नु भएको छ, समग्र डेरी क्षेत्रको बारेमा जानकारी पनि होला । नीजि क्षेत्रका डेरी उद्योगले पहिला कति दुध किन्थे, अहिले कोभिड महामारीको समयमा कति किन्छन् ?
–सामान्य क्षेत्रको कुरा गर्ने हो भने पहिला हामीले चार लाखदेखि साढे सातलाख लिटरसम्म दुध खरिद गरेका थियौं । गतवर्ष त हामीले एक लिटर दुध पनि किसानलाई पोख्न दिएनौं, अर्थात् भएका सबै दुध हामीले उठाएका थियौं । त्यतिबेला पनि बढी भएका दुधलाई हामीले धुलो (एसएनपी) र बटर बनायौं । त्यसका लागि त्यतिबेला सरकारले हामीसँग दुधमा राहत दिने प्रतिवद्धता जनाएको थियो । त्यसले गर्दा हामीले थुप्रै दुध खपत गरेका थियौं । तर सरकारबाट हालसम्म कुनै राहत पाउन सकेनौं । हामीले गतवर्ष जुन धुलो दुध र बटर बनाएका थियौं, त्यो यसपाली चैतदेखि भदौसम्ममा कटाउने (खपत) योजना थियो । दुग्धजन्य पदार्थ खपत हुने समय नै त्यही हो । तर कोरोनाका कारण शुरु भएको बन्दाबन्दीले त्यो स्टकलाई कटाउन (खपत गर्न) सकेनौ, उल्टै त्यसमा थपिदै गइरहेको छ । र, अहिले त्यो हाम्रो लागि चिन्ताको विषय बनेको छ । त्यसमा हाम्रो करोडौं रुपैयाँको चालु पुँजी फसेको छ ।  अब कात्तिकदेखि झन् दुधको उत्पादन बढ्छ, त्यसपछिको अवस्था के हुन्छ र यता स्टक (भण्डार) मा रहेको सामानलाई के गर्ने भन्ने चिन्ता थपिदै गइरहेको छ । 

नीजि क्षेत्रमा अहिले दुग्धजन्य पदार्थको भण्डार कति होला ?
–ठ्याक्कै सबै डेरी उद्योगको तथ्यांक संकलन भएको छैन अहिले । हामी संकलन गर्ने प्रयासमा छौं तर अहिलेलाई यति भनौं कि ठूलो मात्रामा दुग्धजन्य पदार्थ उद्योगमा स्टोर गरी राखिएको छ, जुन अर्बौं रुपैयाँको हुन्छ ।
 
लामो समयदेखि यसरी स्टोरमा रह्यो भने दुग्धजन्य पदार्थ बिग्रिदैन, स्टोरमा रहेका सामानको उपभोग मिति गुज्रिएला नि ?
–ठिक कुरा उठाउनु भयो । यस्तै अवस्था रह्यो भने स्टोरमा रहेका थुप्रै सामान फ्याल्नु पर्ने, गाड्नु पर्ने अवस्था आउन सक्छ । दुध एकदमै समवेदनशील पदार्थ हो । यसलाई निश्चित समयसम्म मात्र स्टोर गर्न सकिन्छ । अरु पदार्थभन्दा यो चाँडै नै बिग्रिन्छ । यसको व्यवस्थापन गरिएन भने फाल्नुबाहेक अरु कुनै उपाय हामीसँग रहने छैन ।
सबै डेरीको उत्पादनको ‘एक्सपायर डेट’ फरक फरक होला । कसले कहिले उत्पादन गरेर स्टोर गरे भन्नेमा पनि त्यो भर पर्छ तर मोटामोटी कसैको ६ महिना होला भने कसैको चार महिना त कसैको दुई महिना होला । यो अवधिमा ती सामान कटाउन सकिएन भने त्यसलाई फ्याल्नु बाहेक अरु कुनै उपाय हुँदैन । 

अवस्था हेर्दा त कोरोनाको महामारी अझै लम्बिने देखिन्छ, यस अवस्थामा पनि दुध खरिद गरिरहनु भएको छ, त्यसलाई विभिन्न प्रोडक्टमा खपत पनि गरिरहनु भएको छ, पहिलादेखिको स्टोर पनि छदैछ, ती सबैलाई खपत गर्न के सोच्नु भएको छ ? 
–सबभन्दा ठूलो चिन्ताको विषय यही हो । कुनै पनि सामानका लागि त्यसको बजार भएन भने चिन्ताको विषय रहन्छ । दुग्धजन्य पदार्थका लागि यो झन् चिन्ताको विषय हो । असोज १ गतेदेखि अलि सहज हुँदै गएको छ तर बजार पुरै खुलेको छैन । स्कूल कलेजहरु अझै बन्द छन्, पार्टी प्यालेस लगायतका थुप्रै ठाउँ अझै बन्द छन् । त्यसले गर्दा सामान्य अवस्था आउन अझै केही समय लाग्छ । चाडपर्व शुरु भएको छ, दशैं तिहार, छठसम्ममा केही खपत गर्ने योजना बनाएका छौं । यदि बीचमा फेरि लकडाउन वा बन्द हुने अवस्था सिर्जना भयो भने धेरै टाट नै पल्टिन्छन् । निजी क्षेत्रमा स्टोर भएर बसेका सामग्रीलाई खपत गराउने दायित्व सरकारको पनि हो । हामीले सरकारलाई के अनुरोध गरेका थियौं भने प्रहरी र सेनामा खपत हुने दुग्धजन्य पदार्थ हाम्रोबाट लिइदियोस् । त्यहाँ विदेशी धुलो दुध प्रयोग गरिरहेको छ । हाम्रोबाट लिइदियो भने धेरै हदसम्म खपत हुन्थ्यो । तर त्यो अहिलेसम्म हुन सकेको छैन । अर्को कुरा, विदेशबाट आउने दुग्धजन्य पदार्थलाई पुरै रोक्न सक्यो भने हामीसँग भएका सबै खपत हुनसक्थ्यो । सरकारको तर्फबाट यी दुईटा कार्य भयो भने हामीलाई धेरै हदसम्म सजिलो हुन्थ्यो । 

यो कोभिड–१९ मा किसान तथा उद्योगीलाई सरकारले राहत तथा सहयोग दिने घोषणा गरेको थियो, त्यसमा तपाईहरुले के के पाउनुभयो ?
–हालसम्म सरकारको तर्फबाट हामीले केही पाएका छैनौं । गत वर्ष नै दुधलाई कन्भर्जन गर्दा सरकारले केही राहत दिने, त्यसमा केही सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो तर त्यो नै अहिलेसम्म पाएका छैनौँ भने कोेरोनाको बेला थुप्रै प्रतिवद्धता आयो तर कुनै पुरा भएको छैन । बरु बन्दाबन्दीको बेलामा राज्यबाट हामीले दुःख पायौं । अति आवश्यक वस्तुमा दुधलाई राखिएको छ तर ढुवानी तथा विक्री वितरणमा निकै समस्या खडा गरेको थियो सरकारले । कहिले के बहानामा त कहिले के बहानामा बाटो मै हाम्रो गाडी होल्ड गर्दिन्थ्यो । त्यसले हामीलाई निकै समस्या भएको थियो । 

भारतमा सरकारले राहत वितरण गर्दा डेरीहरुसँग स्टोरमा रहेका सामानहरु प्रयोग गर्यो । कोरोना पीडित होस् या बाढी पीडित वा अन्य कुनै पीडितलाई सरकारले राहत प्रदान गर्दा डेरी उद्योगहरुमा रहेका समानहरु पनि वितरण गरेका छन् । त्यसले गर्दा अहिलेको अवस्थामा पनि भारतको डेरी उद्योगहरुमा स्टकको समस्या छैन । खपत भएको छ । तर यहाँ सरकारले त्यो पनि गर्दिएन । राहतका सामग्रीमा धुलो दुधमात्र वितरण गर्दिएको भए हामीलाई धेरै सहयोग पुग्थ्यो ।
 
तपाईहरुले सरकारसँग यस्तो अपेक्षा गर्नुभएको छ, तर किसानले तपाईहरुप्रति पनि गुनासो गरेका छन् । डेरी उद्योगीहरुलाई दुधको आवश्यकता भयो भने खोजी खोजी लग्छन् तर अहिले आफ्नो आवश्यकता अनुसार मात्र दुध उठाउँछन् भन्ने किसानको गुनासो छ, के भन्नुहुन्छ यसमा ?
–उहाँहरुले भन्नुभएको कुरा आफैमा गलत होइन । तर बुझ्नु पर्ने कुरा के हो भने कोरोनाका कारण पुरै भ्यालु चेनमा असर परेको छ । यसबाट सबै क्षेत्र प्रभावित भएको छ । यस्तो अवस्थामा पनि हामीले आफ्नो ज्यानलाई जोखिमा राखेर १५–२० प्रतिशत उद्योग चलायौं । चाहेको भए नचलाउन पनि सक्थ्यौं नि त । तर अहिलेको अवस्थामा पनि केही हदसम्म दुध उठाएर बजारमा पठाईरहेका छौं । बढी भएको दुधलाई धुलो दुध तथा बटर बनाइरहेका छौं । उहाँहरुले भन्ने कुरा आफ्नो ठाउँमा ठिकै होला तर हामीले यो बेलामा किसानहरुमाथि ठूलो गुण लगाएका छौं ।
 
तपाईहरुलाई आवश्यकता पर्यो भने बाहिरबाट धुलो दुध मगाउन सरकारसँग आग्रह गर्नुहुन्छ, अहिलेको अवस्थामा तपाईहरुले नै फुलफेजमा सबै दुध खरिद गरेर पछि प्रयोगमा ल्याउने गरी धुलो दुध बनाएर राख्दा हुँदैन ?
–दुई वर्ष अगाडि सरकारले धुलो दुध आयात पुरै ठप्प गर्यो । हामीले त्यसलाई राम्रै भन्यौं । यहीँको उद्योगहरुलाई सहयोग पुग्छ भनि हामीले विश्वास लिएका थियौं । सरकारले त्यतिबेला हामीलाई धुलो दुधको आयात रोकिरहेका छौं, तपाईहरुले नै कन्भर्जन गर्नुस्, त्यो गरेवापत हामीले केही रकम सहयोग गर्छौं भन्यो ।

त्यसपछि हामीले मज्जाले काम गर्यौं । भएका दुधहरु खरिद गरेर हामीले कन्भर्जन गर्यौं । त्यो बेला तपाईले याद गर्नुभएको होला, हामीले मिल्क होलीडे हुन दिएनौं । सबै दुध खरिद गरेर धुलो बनायौं । त्यस लगत्तै कोरोना शुरु भयो । पहिलादेखि स्टोर रहेका सामान होल्ड भयो । चालु पुँजी त्यहाँ फसेर बसेको छ भने त्यस अवस्थामा हामीले के गर्ने ? सबै दुध हामीले खरिद गर्यौं तर त्यसमध्ये ८० प्रतिशत विक्री हुँदैन, त्यो ८० प्रतिशतलाई हामीले कन्भर्जन गर्यौं भने कहाँ राख्ने, कसरी राख्ने, त्यसलाई कसरी खपत गर्ने भन्ने समस्या हुन्छ । तैपनि हामीले किसानबाट सक्ने जति दुध खरिद गरिरहेका छौं । विक्री भएका बाहेकलाई हामीले कन्भर्जन गरि राखिरहेका छौं । किसानले हाम्रो पनि समस्या बुझिदिनु पर्यो । 

अहिले दुध खरिद गरि त्यसलाई कन्भर्जन गरेर नराखे आउने दिनमा फेरि दुधको हाहाकार हुन्छ भन्छन् किसानका प्रतिनिधिहरु । अवस्था सहज हुने बित्तिकै माग अत्याधिक बढ्छ र उद्योगसँग केही रहँदैन, अनि त्यो बेला समस्या हुन्छ भन्ने तर्क छ, यसमा तपाईको धारणा के छ ?
–बन्दाबन्दी हटाइए पनि यो बजार सामान्य अवस्थामा आउन केही समय लाग्छ । उहाँहरुले के हिसाबले त्यो कुरा भन्नुभयो मलाई थाहा छैन । तर पुरै रिभाइभ हुन केही समय लाग्छ । उपभोक्ताहरुको क्रयशक्ति घटेको अवस्था छ । चाहिएको कुरा पनि केही समय खरिद गर्न नसकिने अवस्था सिर्जना भएको छ । यसमा पहिलेको अवस्थामा आउन केही समय त लाग्छ । तर मलाई विश्वास छ, बजार सहज भए पनि दुधको अभाव हुँदैन । हामीसँग धुलो दुध, बटरलगायतका दुग्धजन्य पदार्थ स्टोर छ । 

किसानहरुको अर्को पनि गुनासो छ, उनीहरु भन्छन्, एक त हाम्रो दुध बिक्री हुँदैन, विक्री भएका दुधको भुक्तानी समयमा पाएका छैनौं । तीन÷चार महिनादेखिको भुक्तानी रोकिएको गुनासो सही हो ?
–कुन डेरीले भुक्तानी रोकेको हो, त्यो कुरा पनि किसानले प्रष्ट रुपमा भनिदिनु पर्छ । डेरीकै नाम लिएर भनिदिनु भयो भने हामीलाई पहल गर्न सजिलो हुन्छ । नत्र सिधै आरोप लगाएर हुँदैन । धेरै डेरीले यस्तो अवस्थामा पनि भुक्तानी गरि नै रहेका छन् । खरिद गरेका दुध विक्री भएको छैन तर किसानलाई भुक्तानी भइरहेको छ । बैंकबाट ऋण लिएर भए पनि भुक्तानी गरिरहेको छ । कति पीडा सहेर हामीले काम गरिरहेका छौं त्यो हामीलाई नै थाहा छ । तर हामीले किसानको भुक्तानी रोकेका छैनौं । यदि कुनै डेरीले रोकेको छ भने किसानले भन्नुपर्छ, हामी त्यसका लागि पहल गर्छौं ।
  
कोरोना महामारीको यो अवधिसम्म तपाईको मात्र कति नोक्सान भयो ?
–मेरो मात्र कुरा गर्नुहुन्छ भने सात करोड रुपैयाँ बराबरको दुग्धजन्य सामग्री स्टकमा थन्किएर बसेको छ । र, यही अवधिमा बैंकबाट ३ करोड रुपैयाँ ऋण लिएको छु । चालु पुँजी सबै स्टोरमा थन्किएपछि दैनिक उद्योग सञ्चालन, कर्मचारीलाई तलब, किसानको भुक्तानी लगायतमा पनि समस्या भएपछि बैंकबाट ३ करोड ऋण लिएर काम चलाईरहेको छु । 

यो अवधिमा समग्र डेरी क्षेत्रमा कति नोक्सान भएको होला ?
–ठ्याक्कै यति नोक्सान भयो भनि तथ्यांक त छैन तर सामान्य छलफलले आँकडा निकाल्दा किसानदेखि डेरी उद्योगसम्म लगभग कोरानाको अवधिमा १० अर्बभन्दा बढीको नोक्सान भएको छ । आत्मनिर्भर भइसकेको यो क्षेत्रलाई कोरोनाले धेरै ठूलो असर गरेको छ । कृषिमा धानपछि सबभन्दा बढी दुधको योगदान छ । यसमा असर परेको कारण समग्र कृषिलाई नै प्रभाव पार्न सक्छ । सरकारले यो सेक्टरका लागि समयमा ध्यान दिएन भने पछि सर्भाइभ गर्न गाह्रो हुन्छ । यो ६ महिनामा १० अर्बको नोक्सान हुनु सामान्य कुरा होइन, सरकार यसमा गम्भीर हुनैपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप