मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा अक्सिजनको कालोबजारी

मङ्गलबार, ०६ असोज २०७७, १४ : ४०
मङ्गलबार, ०६ असोज २०७७

अजय बोकिल– 
के कहिल्यै तपाईले सोच्नु भएको थियो कि मानिसलाई जीवित राख्ने प्राणवायु अक्सिजनको पनि चोरी हुनेछ र मानिसहरुले खुलेर यसको कालोबजारी गर्न पनि धक मान्ने छैनन् ? मानिसहरुले आफैंलाई जीवित राख्नका लागि अन्यको सास यति लाजमर्दो तरिकाले छिन्नेछन् ? यो जान्दाजान्दै कि एक दिन उनीहरुको पनि सास जानेछ । 

दूर्भाग्य, कोरोना भाइरसले हामीलाई त्यतो दिन पनि देखाइदिएको छ । हिजोसम्म भारतको मध्य प्रदेशसहितका धेरै राज्यमा मेडिकल सिलिन्डर अभाव भएको खबर आइरहेको थियो, अब पुनेमा अक्सिजन सिन्लिन्डरको चोरी भएको समाचारले समाजको मुखमा कालो पोतेको छ । 

मध्यप्रदेशमा तमाम सरकारी दाबी र आश्वासनका बाबजुद अक्सिजनको कमी पनि चुनावी मुद्दा बन्ने देखिन्छ । यदि यस्तो भयो भने नतिजाले कसको राजनीतिक सास लिनेछ, यो सोच्ने बेला आउनेछ । जसरी कोभिड–१९ ले विकराल रुप लिइरहेको छ, मध्य प्रदेशसहित समग्र भारतमा अस्पतालको कमी महसुस भइरहेको छ । 

कोरोनाका बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव भइरहेको छ । आईसीयुको हालत खचाखच भरिएको ट्रेनभन्दा पनि खराब भइसकेको छ । केही अस्पतालमा त स्थान अभावका कारण गेटबाहिर तथा बगैंचामा पनि बिरामीहरुलाई राखिएको कुरा बाहिर आएको छ किनकि जति पनि संशोधन थिए, ती सबै अपर्याप्त सावित भइरहेका छन् ।

यस्तोमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भइरहेको छ, जो कोरोना बिरामीलाई जीवित राख्ने अन्तिम भरोसा हो । किनकि कोरोना भाइरसले सिधैं फोक्सोमा हमला गरेर त्यसलाई काम गर्न नसक्ने अवस्थामा पुर्याउनसक्छ । परिणामस्वरुप बिरामीलाई सास लिन अफ्टेरो हुन्छ र एउटा निश्चित समयपछि अस्पतालमा रोगीलाई कृतिम अक्सिजन दिएर जीवित राख्ने हरसम्भव कोसिस गरिन्छ । तर संकटलाई अवसर बुझ्नेहरुले सासको कालोबजारी सुरु गरेका छन् । भारतमा अक्सिजन संकटको लक्षण त जुलाईबाटै देखिएको थियो, जब केही धुर्त मानिसहरुले सेप्टेम्बरसम्म कोरोनाको चरम अवस्था सुरु हुने आँकलन गर्दै अक्सिजन ग्यास सिलिन्डरको अवैध भण्डारण थालेका थिए । 

हैदरावादामा एक मानिस यसरी नै अवैध भण्डारण गर्दा पक्राउ पनि परे ।  केही अन्य स्थानमा पनि यस्तै भएको सूचना मिलेको थियो, तर त्यतिबेला यसलाई गम्भीर रुपमा लिइएन । खाना पकाउने ग्यास सिलिन्डरको कालोबजारी हुँदा सरकार जति गम्भिर हुन्छ, यसपटक त्यति पनि भएन । यसभन्दा पहिले सगरमाथा चढ्न गएका पर्वतारोहीहरुले अक्सिजन चोरीका विषयमा सार्वजनिक रुपमा बोल्ने गरेका थिए । उनीहरुबाटै यस्ता घटना सुनिन्थ्यों । 

हाई क्याम्पबाट अक्सिजन बोटल चोरी हुने घटना बढ्दै गएको गुनासो तीन वर्ष पहिले विदेशी पर्वतारोही र शेर्पाहरुले गरेका थिए ।  मानौं, अब यही ट्रेन्ड ठूलो बनेर मेडिकल अक्सिजन सिलिन्डरको चोरीका रुपमा बाहिर आइरहेको छ । प्राप्त जानकारीअनुसार महाराष्ट्रस्थित पुने नजिकै पिम्परी चिन्चवडमा २० अक्सिजन सिलिन्डरसहित भरिएको एक टेम्पो नै चोरी भयो ।

अन्य निजी अस्पतालहरुमा उच्च मूल्यमा बेच्नका लागि यी अक्सिजन सिलिन्डरहरु चोरी गरिएको प्रहरीको आशंका छ । योभन्दा पनि चिन्ताजनक स्थिति त निजी रुपमा अक्सिजन ग्यास सिलिन्डरको अवैध भण्डारणलाई लिएर छ । कोरोना लागेपछि अक्सिजन पाइदैंन भन्ने लागेर केही मानिसहरुले आफ्नो घरमै सिलिन्डरणको अवैध भण्डारण गर्न थालेको खबर पनि बाहिरिन थालेको छ, मानौं कि यो भात पकाउने ग्याँस हो ।  साभार– अमर उजाला डटकम  


नोट– भारतमा ५५ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ र ८८ हजारभन्दा धेरैले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । जबकी, यहाँको स्वास्थ प्रणाली निकै कमजोर छ । अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना संक्रमण फैलिएको भारत दोस्रो देश हो । अमेरिकामा संक्रमितको संख्या ७० लाख नाघिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप