कविता : देशद्रोहीहरू
- हेमराज शर्मा
सत्ताको फोहोरी खेलमा,
गिद्धले सिनो झम्टे सरी,
जब लुछाचुँडी हुन्छ
आमाको छातीमा लात हानिन्छ
अनि बिक्छन् न्यायका मूर्तिहरु
बन्द हुन्छन् मान र इमानका बाटाहरु
उपेच्छित हुन्छन गङ्गामायाहरु
अपहेहित हुन्छन् डाक्टर केसीहरू ।
उता देशका छेउ कुनाहरु
छिमेकीले काट्दै जान्छ
जोड्दै जान्छ आफ्नातिर
बजार्छ मेरै आगनमा बुट
सुन्नेले नसुनेपछि
बोल्नेले नबोलेपछि
लेखेर मात्र नहुने रैछ
कोरेर मात्र नहुने रैछ ।
जीवन बाँच्ने आशामा
डिग्री पढेको छोरो अटाउँदैन देशमा
सुन्दर सपना सजाउदा सजाउँदै
निदाउँछ उसको पौरखीको कथा
मरुभूमिमा पानी हाले सरह
बिलाउँछन् इच्छा अनि चाहना,
रुँदै जान्छ कालो कोठरीमा
सेतै फुलेका बुवा आमाको जीवन,
तर पनि मौन छ ऊ ।
उसलाई हामीभन्दा म प्यारो छ
देश जलिरहँदा पनि,
बिनमा लट्ठिएको सर्प झै,
मस्त छ कुर्सीको नसामा,
मिल्थ्यो भने ऊ बेच्ने थियो आमाको धोती
अनि बाबाको शिरको टोपी पनि
र त भन्न मन लाग्छ
हार्दिक श्रद्धाञ्जली जिउँदा देशद्रोहीहरू ।