मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शक्तिकेन्द्रको दबाबमा इन्सपेक्टर सरुवा, शक्तिशालीले पाए आकर्षक ठाउँमा पोस्टिङ

मङ्गलबार, ०६ असोज २०७७, १३ : २१
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले १० दिनअघि नयाँ आचारसंहितासम्बन्धी कार्यादेश र नेपाल प्रहरी कार्ययोजना-२०७७ सार्वजनिक गरे ।  आचारसंहिताको एउटा बुँदा थियो– सरुवा बढुवाका लागि शक्तिकेन्द्रबाट दवाव दिन नपाउने ।

प्रहरी कर्मचारीले नेताहरु, बहालवाला मन्त्री र दुतावासका कर्मचारीलाई भेट्न प्रहरी महानिरीक्षकको सचिवालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था पनि आचारसंहितामा थियो । तर, जारी भएको १० दिनमै प्रहरी कर्मचारीले सो आचारसंहिताको धज्जी उडाएका छन् ।

सोमबार मध्यराति नेपाल प्रहरीले निकालेको ४ सय ८८ जना निरीक्षक (इन्सपेक्टर) को सरुवा सूची हेर्दा सो आचारसंहिता ‘बेकामे’ भएको छ । अवधी नपुगेकालाई सरुवा नगर्ने तथा लगातार इन्चार्ज नदिने प्रावधानका बावजुद शक्तिकेन्द्रबाट दबाब दिन सक्नेहरुले आकर्षक ठाउँमा बाजी मारेका छन् ।

धेरै प्रहरी निरीक्षकले नेता, मन्त्री र उच्च तहका सरकारी अधिकारीलाई भनसुन गरेर चाहेको ठाउँमा सरुवा गराएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यतिसम्म कि, एकजना इन्सपेक्टरको सरुवामा प्रधानमन्त्री केपी शर्माओलीको सचिवालयले समेत दबाब दिएको पाइएको छ ।

इन्सपेक्टर सरुवामा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समेत ठाडो हस्तक्षेप गरेका छन् । महानगरीय प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठ काठमाडौँ उपत्यकाको आकर्षक ठाउँ मानिन्छ । बालुवाटारको दबाबमा जानकीदेवी खरेलले साँखु र ईश्वर पोखरेलेको दबाबमा राजकुमार तामाङले बूढानीलकण्ठ प्रभागको जिम्मा पाएका छन् । 

प्रहरी प्रधान कार्यालय स्रोतकाअनुुसार साँखु र बूढानीलकण्ठमा आईजीपी थापाले ‘उत्कृष्ट’ मध्येका इन्सपेक्टर पठाउन चाहेका थिए । तर, शक्तिकेन्द्रबाट दबाब आएपछि महानिरीक्षक थापा आफैंले जारी गरेको ‘अचारसंहिता’ प्रति आँखा चिम्लन बाध्य भएका छन् । 

महानगरीय प्रहरी प्रभाग साँखु पछिल्लो सयम काठमाडौं उपत्यकाको सबैभन्दा आकर्षक पोस्टिङ मानिन्छ । महानगरीय प्रहरी बृत्त बौद्धको मातहत पर्ने भएपनि त्यहाँको बजेट बौद्ध बृत्तकै हाराहारीमा छ । ग्रामिण इलाका र कसैको आँखा नपर्ने ठाउँ भएकाले त्यहाँ जान इन्सपेक्टरहरु मरिहत्ते गर्छन् ।

साँखुको पोस्टिङ बाजी मार्न सफल इन्सपेक्टर जानुका प्रधानमन्त्री केपी ओलीको नातेदार पर्छिन् । झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल प्रधानमन्त्रीकी भाञ्जी हुन् । पवित्रा खरेलकी भतिजी हुन्, जानुका ।  प्रहरी सरुवा बढुवामा शक्तिकेन्द्रको हस्तक्षेप असअघि पनि हुँदै आएको थियो । तर, यसपटक आईजीपी थापाद्वारा जारी ‘आचारसंहिता’ले हस्तक्षेप रोक्ने आँकलन गरिएको थियो । तर, रोकिएन ।  

नेता, मन्त्री तथा अन्य सरकारी कर्मचारी भेट्दा सिलसिलेवार रिपोर्ट गर्नुपर्ने बाध्यात्मक ब्यवस्था आचासंहितामा छ । तर, पवित्रा खरेलले भतिजीलाई साँखु पठाउनका लागि प्रधानमन्त्री ओलीलाई भेटेरै भनेको बालुवार स्रोतले जनाएको छ । 

यता, प्रहरी प्रधान कार्यालयले सरुवाका लागि तयार पारेको नाम गृहसचिव महेश्वर न्यौपानेले काटेका छन् । न्यौपानेले सरुवा–बढुवामा अनावश्यक हस्तक्षेप गर्न थालेपछि प्रहरी प्रमुख र उनको सम्बन्ध चिसिएको छ । 

रौतहटको गरुडामा राम्रो काम गरेका अनमोल खड्कालाई प्रहरी हेडक्वार्टरले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम पठाउन लागेको थियो । तर, खड्काको नाम गृहसचिव न्यौपानेले लिस्टबाट हटाउन लगाए ।

गृहसचिवको सिफारिसमा देउप्रसाद लिम्बुलाई पशुपतिनगर सरुवा गरिएको छ । लिम्बु दरबारमार्गमा बस्दा विवादमा परेका थिए । तत्कालीन एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को छोलाई कुटपिट गरेपछि उनी विवादमा मुछिएका थिए ।

गृहसचिव न्यौपानेले पछिल्लो समय सरुवा–बढुवामा अनावश्यक दबाब दिने गरेको एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ‘गृहमन्त्रीलाई नै गुमराहमा राखेर गृहसचिव न्यौपानेले सरुवाबढुवामा हस्तक्षेप गरेका छन्,’ ती अधिकृतले भने ।  

सरकारका मन्त्री, नेता र कर्मचारीले प्रहरीमा मनपरी हस्तक्षेप गर्न थालेपछि व्यावसायिक क्षमताका धनी प्रहरी अधिकृतहरु मारमा परेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

इन्स्पेक्टर सरुवाको सूची एक महिना अघिदेखि नै तयार थियो । तर, आकर्षक मानिएका साँखु, बूढानीलकण्ठ, वडा प्रहरी कार्यालय नारायणगढ, खानीखोला र पशुपतिनगरमा पोस्टिङका लागि राजनीतिक दबाब आएपछि सरुवा रोकिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप