बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको चुनाव चिन्ह ‘हलो’ कायम : राणा र लोहनीसँग झुके कमल थापा

आयोगमा मङ्गलबार पार्टी दर्ता गर्ने, वैशाखमा एकता महाधिवेशन
मङ्गलबार, ०६ असोज २०७७, ११ : ०६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । झण्डै ६ महिनाअघि पार्टी एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले एकीकृत पार्टीको चुनाव चिन्ह ‘हलो’ कामय रहनेगरी विवाद टुंग्याएका छन् । यसघि ‘हलो कि गाई’ ? भन्नेमा चर्को विवाद रहँदै आएको थियो । सोही विवादका कारण पार्टी एकता नै भंग हुने अवस्था आएपछि शीर्ष नेताहरु छलफल गरेर हलो चुनाव चिन्ह राख्न सहमत भएका हुन् ।

यो सहमतिपछि अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको सार्वजनिक गरेका छन् । ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह हो । तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछ,’ थापाले भनेका छन् । थापाले हिन्दु राष्ट्र बोकेको राप्रपाका लागि गाई नै उपयुक्त चुनाव चिन्ह भएपनि पार्टी एकता जोगाउन हलोमा सहमत भएको प्रष्टिकरण पनि दिएका छन् ।

यसअघि कमल थापा गाई र राणा तथा लोहनीपक्ष हलोको अडानमा रहेका थिए । जसले गर्दा एकीकृत पार्टी लामो समयसम्म निर्वाचन आयोगमा दर्ता हुन नै सकेको थिएन ।

अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीबीच आइतबार भएको छलफलले चुनाव चिन्ह हलो राख्ने सहमती जुटेपछि सोमबार र मंगलबार बैठक राखेर विवाद टुग्याउने तयारी भएको राप्रपा कार्यसम्पादन समितिका सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।

उनले आगामी बैशाखमा महाधिवेसन गर्न समेत नेताहरुबीच सहमति जुटेको जानकारी दिए । त्यस्तै चुनाव चिन्ह हलो र पार्टीको झण्डा गाई अंकित राप्रपाको झण्डा कायम गर्ने सहमति भएको छ ।

राप्रपाको एकताको आधारपत्रमा डेढ वर्षभित्रमा एकता महाधिवेशन गर्ने उल्लेख थियो । एकता महाधिवेसनपछि धकेल्दा स्थानीय तहको निर्वाचनको तयारीमा असर पर्ने भएकाले बैशाखमै महाधिवेशन गर्नुपर्ने अवस्था आएको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मंगलबार एकीकृत पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक राखिएको छ । बैठक लगत्तै आयोगमा पार्टी दर्ताका लागि जाने तयारी छ ।

यसअघि सोमबार तत्कालिन राप्रपा र राप्रपा संयुक्तको छुट्टा छुट्टै बैठक बसेको थियो ।

गत फागुन २४ गते पार्टी एकताको आधार पत्रमा हस्ताक्षर गरेका राप्रपाका नेताहरुले फागुन २८ गते राष्ट्रियसभामा घोषणासभा गरेर पार्टी एकताको घोषणा गरेका थिए । तर लामो समय चुनाव चिन्हमा कुरा नमिल्दा एकताले बैधानिकता पाउन सकेको थिएन ।

राणा नेतृत्वको राप्रपाले हलो चुनाव चिन्ह लिएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । राप्रपा नेपालले भने गाई चुनाव चिन्हबाट प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन भने समानुपातिकतर्फबाट २४ सिट जितेको थियो ।

त्यसअघि पनि हलो चुनाव चिन्हबाटै निर्वाचन लडेको राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले र कांग्रेसपछिको स्थान सुरक्षित स्थान बनाएको थियो । त्यसवेला एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द २०५३ र सूर्यबहादुर थापा २०५४ मा प्रधानमन्त्रीसमेत भएका थिए ।

प्रत्यक्षतर्फ गाई चुनाव चिन्ह लिएर निर्वाचनमा लड्दा २०७४ मा भने नेकपासँगको गठबन्धनमा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देनले मात्रै जितेका छन् ।

यसले गर्दा हालसम्मको निर्वाचन र चुनावी परिणामलाई हेर्दा गाईमा भन्दा हलोमा मत बढी खसेको देखिएको छ । यसले गर्दा पनि हलो चुनाव चिन्हलाई एकीकृत पार्टीको चुनाव चिन्ह बनाउनुपर्ने आवाज पार्टीभित्र ठूलै टिमको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप