शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय दिवसको अवसरमा लण्डन दूतावासमा कला तथा संगीत महोत्सव

मङ्गलबार, ०६ असोज २०७७, ०८ : ५८
मङ्गलबार, ०६ असोज २०७७

लन्डन  । लन्डनस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको उपलक्ष्यमा राष्ट्रिय दिवस (त्रिदिवसीय) विशेष समारोहको आयोजना गरेको छ ।  कार्यक्रमको पहिको र तेस्रो दिन भर्चुअल माध्यमबाट गरिएको थियो भने दोस्रो दिनको कार्यक्रममा कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गर्दै कार्यक्रममा सिमित मानिसहरुको मात्र सहभागीता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन  बेलायतमा रहेका वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला-संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कलाकृत्ति समाविष्ट नेपाली कला संग्रह ‘नेपाल यात्रा’ विषयक नेपाली कला प्रदर्शनी गरिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीदले  प्रदर्शनीको उद्घाटन गरेका थिए  ।

सोहि अवसरमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली संगीत महोत्सव आयोजना गरियो । कार्यक्रममा  बेलायतमा रहेर नेपाली गीत संगीतको संरक्षण र संवर्धनमा समर्पित विशिष्ट नेपाली गायक गायिकाहरुको सांगीतिक प्रस्तुति  रहेको थियो । समारोहमा राजदूत डा. सुवेदीले बेलायतका नौ जना लोकप्रिय गायक गायिकाको स्वर रहेको चार वटा गिती एल्बमहरु सम्झनाको ‘सिमसिमे झरी’, ‘मायावी परेलीहरु’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘दुबोसरी रहरहरु’ को लोकार्पण गरेका थिए ।

कार्यक्रममा राजदूत सुवेदीले नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रहको लोकार्पण गरे । राजदूत डा. सुवेदीले अतिथिहरुलाई स्वागत गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सुख, सुस्वास्थ्य र समृद्दिको कामना गरेका थिए  ।

कार्यक्रमको पहिलो दिन दूताबास र यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट ‘नेपाल विकास सम्मेलन’ को आयोजना गरिएको थियो  । कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्ट्ररी ग्रुप फर नेपालका उपाध्यक्ष तथा फोरमका अध्यक्ष लर्ड शेख, फोरमका उपाध्यक्ष तथा कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया सिबीइ डिएल, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट, नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।

त्यसैगरी तेश्रो दिन दूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्ससंगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन पनि गरेको छ । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे वृहत् अन्तरक्रिया भएको थियो । आयरल्याण्डका लागि नेपाली राजदूत समेत रहेका डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष भिन्सेन्ट ब्यारी र राष्ट्रिय विमा संस्थानका अध्यक्ष गंगाराम कंडेलसहित डा. जेन फेनलोन, अलान मर्सेल सान्का, निल काभानग, सारा वेष्ट, क्लान ओब्रोचेन, एलिसन इरवीन, इयान टेलरले कार्यपत्र प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप