शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैङ्कमा पैसा थुप्रिँदा पनि ब्याजदर युद्ध

निक्षेप सङ्कलनमा बैङ्कहरुबीच ब्याजदर युद्ध किन ?
मङ्गलबार, ०६ असोज २०७७, ०८ : २९
मङ्गलबार, ०६ असोज २०७७

बैङ्किङ सिस्टममा अहिले अधिक तरलता छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २ खर्बभन्दा बढी तरलता (लगानी योग्य रकम) छ । तर पनि बैङ्कहरुमा निक्षेप सङ्कलनका लागि ब्याजदर युद्ध (इन्ट्रेस्ट वार) देखिएको छ ।

सात प्रतिशतमा कर्जा सङ्कलन गर्ने भनिएका बैङ्कले नै साढे ९ प्रतिशतसम्म ब्याज दिएर निक्षेप सङ्कलनका लागि अफर गरेका छन् । उनीहरुले ब्याजदर सार्वजनिकको सूचना नै प्रकाशन गरेर कर्जामा भन्दा निक्षेपमा बढी ब्याजदरको घोषणा गरिरहेका छन् ।

केही दिनअघि ब्याजदर सार्वजनिक गरेको नबिल बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम साढे ९ प्रतिशतसम्म ब्याज दिने घोषणा गर्यो । जबकि यस बैङ्कले साढे सात प्रतिशतमा त कर्जा नै प्रवाह गर्ने भनेको छ ।

तर उसले यस्तो अफरलाई बजारमा नबिल फरक पहिचान बनाउन खोजेको बताएको छ । नबिल बैङ्कका डेपुटी सीईओ मनोज ज्ञवाली जब मानिसलाई आपत् पर्न थाल्छ तब बैङ्कहरुले कर्जाको ब्याजदर बढाउन थाल्छन् भन्ने छापलाई मेटाउन नबिलले लिएको बजार रणनीति भएको बताउँछन् । उनले आफूहरुलाई आपत परेर नभई निक्षेपकर्ता र ऋणी दुवैलाई खुसी बनाउने आफ्नो रणनीति भएको बताए ।

तर यता बैङ्किङ विज्ञ अनलराज भट्टराईका अनुसार सहज अवस्थामा पनि निक्षेपको ब्याजदर वार हुनु भनेको बैङ्कहरुको रेपुटेसन रिक्स (ख्यातीको जोखिम) को खतरा बढ्नु हो । व्यक्तिगत मुद्दती निक्षेपको हिस्सा बढाउन उसले अपनाएको रणनीति हो । भट्टराई भन्छन्, ‘कतिपय अवस्थामा कस्टमरको विश्वास कम भएको हो कि भन्ने पनि बुझ्न सकिन्छ । यसले उनीहरुको ख्यातीमा समेत जोखिम ल्याउन सक्छ ।’

यता नेपाल इन्भेस्टमेन्ट बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याजदर छ । अहिले सो बैङ्कको साढे सात प्रतिशत आधारदर छ । त्यसमा केही थप गरेर उसले ऋण प्रवाह गर्न सक्छ ।

अर्का एक बैङ्कर आन्तरिक व्यवस्थापन मिलाउन बैङ्कहरुले निक्षेपको ब्याजदर बढी दिएको बताउँछन् । ती बैङ्करका अनुसार अहिलेकै आधारदरमा धेरै समय टिकाउन नसकिने भएकाले सो आधारदर वृद्धिकै लागि निक्षेपको ब्याज बढाउनु परेको तर्क गर्छन् । राष्ट्र बैङ्कले केही दिनअघि मात्रै  एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर गर्न निर्देशन दिएको छ । अहिले वाणिज्य बैङ्कहरुको औसत आधारदर ७ प्रतिशत छ । आधारदर वृद्धि गर्नकै लागि कतिपय बैङ्कहरु उच्च ब्याजदरमा निक्षेप सङ्कलनतर्फ केन्द्रित भएको बुझिएको छ ।

कुनै कुनै बैङ्कले व्यक्तिगत निक्षेप आकषर्ण गर्नको लागि मानौँ ५ प्रतिशत व्यक्तिगत निक्षेपको दर उच्च राख्छु भन्दा त्यसले समग्रमा आधारदरमा फरक नपार्ने भट्टराईको भनाइ छ  । किनभने अरू खर्च कम छ । बैङ्कहरुले सामान्यतया ब्याजदर खर्च बढ्यो भने अरू खर्च घटाउने प्रयास गर्छन् ।

निक्षेपकर्ता र ऋणी खुसी पार्ने रणनीति : नबिल बैङ्क

नबिल बैङ्कले साढे नौ प्रतिशतमा पैसा लिएर सोही पैसा साढे सात प्रतिशतमा ऋण प्रवाह गर्ने होइन ।  मानौँ आजको दिनमा नबिलसँग १ खर्ब ८५ अर्ब निक्षेप छ भने ४० प्रतिशतको हाराहारीमा बचत निक्षेप छ । यसको ब्याजदर २.५ देखि ४.५ प्रतिशतसम्म छ । करिब २७ अर्ब करेन्ट अकाउन्टमा छ, जुन शून्य ब्याजदर छ । नबिलको  कस्ट अफ डिपोजिट साढे नौ प्रतिशत होइन । यो  व्यक्तिगत निक्षेकर्ताका लागि मात्र हो । नबिलमा भएको गत वर्षको करिब १२ अर्ब डिपोजिट म्याचुअर्ड हुँदैछ ।  सो डिपोजिट जोगाइ राख्न उसले साढे नौ प्रतिशत अफर गरेको छ । बैङ्कहरुले आपत पर्दा चर्को ब्याजमा लिन्छन् भन्ने आम जनताको बुझाइलाई चिर्न सहज अवस्थामा पनि निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज लिन्छ भन्ने आफूहरुले पार्न खोजको उसको भनाइ छ ।  निक्षेपकर्ता र ऋणी दुवैलाई खुसी बनाउन लिएको बजारण रणनीतिको सङ्ख्या नबिलले दिएको छ ।

अहिले राष्ट्र बैङ्कले ४.४ प्रतिशतको स्प्रेडदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्ष ५ प्रतिशतमा चलेकोे स्प्रेडदर ४.४ मा ल्याउँदा दर घटाउनुपर्ने दबाब छ । स्प्रेडरेट घटाउन कि त कल रेटमा  लोन दिनुपर्यो कि त भएको लोनको रेट घटाउनुपर्यो या त निक्षेप बढाउनुपर्यो । कल डिपोजिट र सेभिङ आधाभन्दा बढी हुन नहुने राष्ट्र बैङ्कको निर्देशन छ । नबिल बैङ्कको अहिलेको अफर उसलाई आपत परेर गरेको होइन । आफ्ना ग्राहक खुसी बनाउन लिएको रणनीति हो । नबिल बैङ्कका डेपुटी सीईओ मनोज ज्ञवालीले दिएको जवाफ हो यो ।

एक प्रतिशत निक्षेपको ब्याज बढ्दा एक प्रतिशतभन्दा बढी जीडीपीमा असर गर्छ : बैङ्किङ विज्ञ भट्टराई

बैङ्कहरुले औसत ब्याजदरमा स्प्रेडदर राखेर गणना गर्दा आधारदरभन्दा तल गएर ऋण दिन पाउँदैन तर सो बराबर र सोभन्दा माथि जान पाउँछन् । यसकारण बेस रेट (आधारदर)  निक्षेपको ब्याजदरभन्दा कम हुन सक्छ किनभने निक्षेपमा विभिन्न किसिमको मिश्रण (कल डिपोजिट, बचत खाता, चालू खाता, मुद्दती निक्षेप ) हुन्छ ।

 बैङ्किङ सेक्टरमा करेन्ट अकाउन्टको हिस्सा ठूलो छ । यो शून्य ब्याजदरमा बसेको हुन्छ । मुद्दती निक्षेप कुनै एक, कुनै दुई, कुनै पाँच वर्षे अवधिको हुन्छ  । यसमा एभरेज खर्च कम छ ।

बैङ्किङविज्ञ अनलराज भट्टराई सहज अवस्थामा पनि निक्षेपलाई उच्च ब्याजदरमा राख्नु भनेको उसले व्यक्तिगत निक्षेप बढाउन लिएको रणनीति भएको बताउँछन् ।

अहिले सबै बैङ्कको आधाजसो मुद्दती निक्षेपको दर भइसकेको छ । अहिले नेपालको अर्थतन्त्रको आकारभन्दा निक्षेपको आकार बढी छ । निक्षेप ३९ खर्ब छ भने जीडीपी ३७ खर्ब छ । बैङ्किङविज्ञ भट्टराईका अनुसार यदि निक्षेपमा एक प्रतिशत ब्याज बढेको छ भने त्यसले जीडीपीमा एक प्रतिशतभन्दा बढी असर गर्छ ।  केन्द्रीय बैङ्कको पोलिसी रेटले बजारको रेटलाई रिफ्लेक्ट गर्नुपर्छ ।

भुइँचालो आएपछि बैङ्किङ क्षेत्रमा सन्तुलित  वृद्धि नभएको उनको आरोप छ ।  यसले  बैङ्किङ क्षेत्रभित्र अनावश्यक ब्याजदर युद्ध सुरु गराउने उनको भनाइ छ ।  उनी भन्छन्, ‘बैङ्कलाई खुला छोडिदिँदा मनपरी गर्छन् । बैङ्कलाई धेरै खुला पनि छोड्नुभएन धेरै टाइट पनि गर्नुभएन । ब्याजदर व्यवस्थापनको औचित्य देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप