बालबालिकालाई शिक्षाको नाममा काठमाडौंमा डलरको खेती भयोः सांसदहरु
काठमाडौं । सांसदहरुले बालबालिकालाई शिक्षाको नाममा काठमाडौंमा डलर खेतीको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले कतिपय संघसंस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दुर्गाबहादुर रावतले बालबालिका सम्बन्धी काम गर्ने केही संघसंस्थाले बाहिरी जिल्लाबाट १० वर्ष सम्म पढाउने भन्दै २० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म अभिभावकसँग लिएर काठमाडौंमा ल्याइ बालगृहमा राखेर विदेशबाट डलर झार्ने काम गरिरहेको बताए ।
त्यस्तै टुहुरा बालबालिका, अपाङ्ग बालिबालिका देखाएर व्यवसाय गर्ने संघसंस्थाहरु काठमाडौंमा धेरै नै रहेको पनि रावतले बताए । संविधान बनेपछि पनि ऐन कानून, नीति नियम बन्ने चरणको अवस्थामा अनुगमन हुन नसक्दा यस्तो स्थिति देखा परेको रावतको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै अर्का नेत्री थममाया थापाले गाउँघरबाट समस्यामा परेका बालबालिकालाई सहर बजारमा ल्याई काम गराउने प्रवृतिले गर्दा बालबालिका अझ बढी जोखिममा परेको बताइन् । उनले बालबालिकाको क्षेत्रमा राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने तर गलत काम गरी कमाउने ध्याउन्नमा लाग्ने संस्थालाई कारबाही गरी बन्द गराउनुपर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद नारायणप्रसाद खतिवडाले स्थानीय तहहरुको ध्यान मोटरबाटो, खानेपानी लगायतको क्षेत्रमा मात्रै केन्द्रीत हुँदा सामाजिक विषयका गतिविधिहरु पछाडि परेको बताए । बालबालिकाको विकासका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र बालबालिका परिषद्ले आफ्नो धारणा प्रस्ट पार्नुपर्ने खतिवडाको भनाइ छ ।
नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सरकारको संरक्षणमा रहेका बालबालिका नै सबैभन्दा बढी जोखिममा रहेको बताइन् । अभिभावक नभएका बालबालिका, सडक बालबालिका पनि समाज निर्माणका महत्वपूर्ण अंग भएकाले उनीहरुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले बालबालिकाका लागि खोलिने बालगृहको नाममा अर्बौंको जग्गा जमिन जोडने तर बालबालिकाका लागि केही पनि नगर्ने प्रवृति देखापरेको बताइन् । उनले बालगृहको रुपमा बालबालिका जेलघरमा जस्तै बस्न बाध्य भएको समेत बताइन् ।
त्यस्तै कारागारमा कैद भोगिरहेका व्यक्तिका बालबालिका अझ बढी समाजबाट तिरस्कृत हुने भएकाले त्यस्ता बालबालिकाको संरक्षणका लागि पनि सकारले विशेष कार्यक्रम लागूगर्नुपर्नेमा चौधरीले जोड दिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद विमला विश्वकर्माले विविध भाषा, संस्कृतिले बनेको समाजमा अझैपनि बालबिबाह यथावत रहनु र बालबिबाह नरोकिनुमा ऐन कानूनको फितलो कार्यान्वयन भएको स्पस्ट हुने बताइन् ।
सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । त्यसका लागि मन्त्रालयले नियमावली बनाई काम गर्नुपर्ने सुझाव समेत सांसदहरुले दिए । मन्त्रालयले नियमावली बनाइ प्रभावकारी नियमन गर्न सके डलर खेती गर्नेहरुमाथि कारबाही हुने र बालबालिकाको अधिकारको निम्ति प्रभावकारी काम हुनसक्नेमा उनीहरुले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना