शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई शिक्षाको नाममा काठमाडौंमा डलरको खेती भयोः सांसदहरु

सोमबार, ०५ असोज २०७७, १८ : ०९
सोमबार, ०५ असोज २०७७

काठमाडौं । सांसदहरुले बालबालिकालाई शिक्षाको नाममा काठमाडौंमा डलर खेतीको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले कतिपय संघसंस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दुर्गाबहादुर रावतले बालबालिका सम्बन्धी काम गर्ने केही संघसंस्थाले बाहिरी जिल्लाबाट १० वर्ष सम्म पढाउने भन्दै २० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म अभिभावकसँग लिएर काठमाडौंमा ल्याइ बालगृहमा राखेर विदेशबाट डलर झार्ने काम गरिरहेको बताए । 

त्यस्तै टुहुरा बालबालिका, अपाङ्ग बालिबालिका देखाएर व्यवसाय गर्ने संघसंस्थाहरु काठमाडौंमा धेरै नै रहेको पनि रावतले बताए । संविधान बनेपछि पनि ऐन कानून, नीति नियम बन्ने चरणको अवस्थामा अनुगमन हुन नसक्दा यस्तो स्थिति देखा परेको रावतको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै अर्का नेत्री थममाया थापाले गाउँघरबाट समस्यामा परेका बालबालिकालाई सहर बजारमा ल्याई काम गराउने प्रवृतिले गर्दा बालबालिका अझ बढी जोखिममा परेको बताइन् । उनले बालबालिकाको क्षेत्रमा राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने तर गलत काम गरी कमाउने ध्याउन्नमा लाग्ने संस्थालाई कारबाही गरी बन्द गराउनुपर्ने बताइन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद नारायणप्रसाद खतिवडाले स्थानीय तहहरुको ध्यान मोटरबाटो, खानेपानी लगायतको क्षेत्रमा मात्रै केन्द्रीत हुँदा सामाजिक विषयका गतिविधिहरु पछाडि परेको बताए । बालबालिकाको विकासका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र बालबालिका परिषद्ले आफ्नो धारणा प्रस्ट पार्नुपर्ने खतिवडाको भनाइ छ ।  

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सरकारको संरक्षणमा रहेका बालबालिका नै सबैभन्दा बढी जोखिममा रहेको बताइन् । अभिभावक नभएका बालबालिका, सडक बालबालिका पनि समाज निर्माणका महत्वपूर्ण अंग भएकाले उनीहरुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले बालबालिकाका लागि खोलिने बालगृहको नाममा अर्बौंको जग्गा जमिन जोडने तर बालबालिकाका लागि केही पनि नगर्ने प्रवृति देखापरेको बताइन् । उनले बालगृहको रुपमा बालबालिका जेलघरमा जस्तै बस्न बाध्य भएको समेत बताइन् । 

त्यस्तै कारागारमा कैद भोगिरहेका व्यक्तिका बालबालिका अझ बढी समाजबाट तिरस्कृत हुने भएकाले त्यस्ता बालबालिकाको संरक्षणका लागि पनि सकारले विशेष कार्यक्रम लागूगर्नुपर्नेमा चौधरीले जोड दिइन् । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद विमला विश्वकर्माले विविध भाषा, संस्कृतिले बनेको समाजमा अझैपनि बालबिबाह यथावत रहनु र बालबिबाह नरोकिनुमा ऐन कानूनको फितलो कार्यान्वयन भएको स्पस्ट हुने बताइन् । 

सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । त्यसका लागि मन्त्रालयले नियमावली बनाई काम गर्नुपर्ने सुझाव समेत सांसदहरुले दिए । मन्त्रालयले नियमावली बनाइ प्रभावकारी नियमन गर्न सके डलर खेती गर्नेहरुमाथि कारबाही हुने र बालबालिकाको अधिकारको निम्ति प्रभावकारी काम हुनसक्नेमा उनीहरुले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप