केन्द्रीय संस्करण

किसान मजदुरका सर्वहारा नेता सहिद सूर्यनाथ रान

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

सूर्यनाथ रान किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा बाँचुन्जेल सङ्घर्ष गर्ने एक सच्चा क्रान्तिकारी र निडर किसान मजदुरका मसिहा थिए । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–८, डुमरिया चोकमा बनाइएको सहिद सूर्यनाथ रान स्मृति स्मारकले जोकोहीलाई पनि सर्वहारा किसानका नेता भनेर सम्झिन्छन् । 

धनुषा आसपासका जुनसुकै पार्टीका भए पनि सूर्यनाथ रानको प्रतिष्ठा, मानसम्मान अझै उत्तिकै छ । गणतन्त्रका लागि, किसानका लागि लडेका दिग्गज नेताका रूपमा सम्मान पाउनु साधारण कुरा होइनन् । नेपाल कम्युनिस्ट पार्टीको गढ मानिएको पूर्वी क्षेत्र र सो क्षेत्रमा जस्तोसुकै नेता आए पनि सहिद सूर्यनाथ रानको स्मारकमा फूलमाला चढाउनु स्वाभाविक बनेको छ । तत्कालीन सरकारले तराई मधेसका किसानका लागि सद्भाव नराखेका बेला उनी किसानका पक्षमा लडेका थिए । उनी किसानका एक विश्वास, सोच र शक्तिका रूपमा उभिएका थिए । । सूर्यनाथ रानको व्यक्तित्वले अहिले पनि यहाँका आम जनता प्रभावित छ । उनकै प्रभावमा राजनीतिमा पाइला टेकेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला इन्चार्ज श्रवणकुमार बरबरिया (यादव) ले जनताप्रति लगावबारे यसरी सुनाए । 
.......................
आज मेरा अभिभावक, मेरा गुरु श्रद्धेय सूर्यनाथ काकाको बारेमा चर्चा गरिरहँदा उहाँसँग बिताएका पल उहाँले दिएका उपदेश ताजा भएर आएका छन् ।
काका एकदम सरल, शालीन स्वभावका साधारण पहिरन धोती र कमिज लाउन रुचाउनु हुन्थ्यो । ती सरल स्वभाव, साधारण पहिरन अनुसरण गरेका सूर्यनाथ काकालाई सबैका प्रिय सबैका मसिहा स्थापित गर्ने उहाँको क्रान्तिकारी विचार थियो । 

म बाल्यकालदेखि नै सूर्यनाथ काकाको समीपमा रहेँ ।  सूर्यनाथ काका गरिबका मसिहा भएको बुबा र गाउँलेका मुखबाट पनि सुनेको थिएँ । उहाँको मेरो घर एकै ठाउँ भएकाले गाउँमा बैठक हुँदा खानाका व्यवस्थापन गर्न उहाँले मलाई बोलाउनुहुन्थ्यो । ‘भतिज पाँच सात जना छौँ ।’ भन्नुहुन्थ्यो । 

काकाले मलाई कर्जन्हा, जयनगर, जनकपुर जाँदा आफूसँगै लानु हुन्थ्यो । एक दिन केही व्यक्तिलाई भेट्न जयनगर जानु थियो । मलाई पनि बोलाएर भन्नुभयो– “भतिज आज मसँग जानु पर्छ ।” उहाँसँग जयनगर जाने क्रममा सोध्नुभयो श्रवण तिमी थाकिसके होला । विश्राम गरु –गरु जस्तो लाग्दै होला । तर तिमी भविष्यमा क्रान्तिकारी योद्धा बन्नुपर्छ । 

त्यसैले जीवनमा क्रान्तिकारीले कहिले थकाइ महसुस गर्नु भएन । बाटोमा दुई जनाले खाने कुरा दिएका थिए । छठको बेला भएकाले ठकुवा र केरा दिएका थिए । म बच्चै थिए त्यसैले खान थाले अलि अगाडि गरएर काका मलाई सम्झाउनुभयो भतिज तिमीलाई भोक लाग्छ भन्ने मलाई भन्ने गर । कसैले दिएको खानेकुरा त्यतिकै कहिले नखानू । जीवनमा यो कुरा तिमीलाई काम लाग्छ श्रवण, कही पनि खानेकुरा आवश्यकता जति मात्र खानु । यो  कुराले तिमीलाई सङ्घर्षमा जीवित राख्न मदत गर्नेछ । कमरेड सूर्यनाथ दूरगामी सोच बोकेका क्रान्तिकारी नेता हुनुहुन्थ्यो । 

कमरेड सूर्यनाथको चचेरा भाइ तेजनारायण यादवले नेपाली सेनामा भर्ना हुन फर्म भरेका थिए । मलाई वनि फर्म भर्नको लागि कर गरेका थिए । एक दिन सूर्यनाथ काका मेरो घर आउनु भएको थियो । मेरो बुबाले सूर्यनाथ काकालाई भनेका थिए । ‘आपनो विगरले श्रावणके सेहो विगार विही एकरा नेपाली सेनामे भरती करवाह दही,’ सूर्यनाथ काकाले हाँस्दै मैथिलीमा भनेका थिए– ‘यी नेपाली सेना नै, यी लाल सेना बनतो यी नेता बनतो ।’ बुबाले सूर्यनाथ काकालाई तिमी बिग्रिँदै गयौ श्रवणलाई पनि विगार्छौ भन्दा मलाई दुःख लागेको थियो । तर उहाँले हाँस्दै हाँस्दै बुवालाई जवाफ फर्काउँदा म चकित भएको थिएँ । 

    सूर्यनाथ काका चिया धेरै पिउनु हुन्थ्यो । म १० वर्ष जनयुद्धमा प्रत्यक्ष रूपमा सहभागी भएका थिए । तर जनयुद्ध बारेमा सूर्यनाथ काकाले मलाई भन्ने गर्नुहुन्थ्यो– “श्रवण यो देशमा समान्त, जमिनदारका विरुद्धमा एक चोटि जनताले ठूलो युद्ध गर्न जरुरी छ । यी जमिनदार समान्तहरुलाई तह लगाउनुपर्छ । जहिले पनि किसान मजदुर गरिबका लागि लड्नू । जमिनदारहरुले विभिन्न  लोभ प्रलोभनमा पारेर फसाउन खोज्छन् । तर हाम्रो लडाइँ किसान मजदुरका पक्षमा बाँचुन्जेल हुुनुपर्छ ।”    

    उहाँको बारेमा बुवाहरुबाट पनि सुनेका थिएँ । सूर्यनाथ रान, किसान आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो । सिमराढीको लडाइँमा किसानका पक्षबाट कमरेड सूर्यनाथ रानले अगुवाइ गरेका थिए । जमिनदारको पक्षबाट हेमबहादुर मल्लले अगुवाइ गरेका थिए । सिमराढी गाउँ पूर्णरूपले कब्जा गरिएका थिए । अन्नका भखारीदेखि पशुसम्म कब्जा गरेर ल्याएका  थिए । तर कमरेड सूर्यनाथ पक्षकाले भनेका थिए– “विपक्षीका कब्जा गरिएका समान  फिर्ता हुँदैन ।”

 तर कमरेड सूर्यनाथले सिमराढीका जनतालाई किसान आन्दोलन र सिमराढी जितको बारे बताउँदै अनाज र गाई भैँसी फिर्ता गर्न लगाएका थिए । आफ्नो पक्षकालाई सम्झाउँदै भनेका थिए, सिमराढीका जनताको के दोष ? तिनीहरु नबुझेर हेमबहादुरका पक्षमा लागेका छन् । हामीलाई आफ्नौ विचार बुझाउन जरुरी छ । यस्ता विभिन्न आन्दोलनको अगुवाई गर्नुहुन्थ्यो । मजदुरहरुलाई खेतमा खटाएर जमिनदारहरुले पारिश्रमिक (बैन) कम दिन्थे । कतिपयलाई दिँदैनथे । चोराकोयलपुर, मतौना, चिरैया, डरखोरिया, पठेरवा, सिमराढी, किरतपुर आदि गाउँहरुमा मजदुरहरुको लागि बैन आन्दोलन गर्नुभएका थिए । किसान मजदुरका लागि सदैव अग्र मोर्चामा रहेर सङ्घर्ष गर्न रुचाउने स्वभावका थिए ।

त्यस समयमा चिकना जमिनदारको बिगबिगी थियो । जमिनदारले जमिन बेच्ने पैसासमेत असुल्ने तर रजिस्ट्री कसैको पनि नगर्ने गर्थे । यसबाट पठेर्वा, वतराही, बेमरखी, हठिमुनढा, ढोलवाजा, किरतपुर कमला भेगका जनता पीडित थिए । कमरेड सूर्यनाथ यसको विरुद्धमा पनि जमिनदार विरुद्ध खरो रूपमा उत्रेका थिए । 

जमिनदारलाई किसानका जमिनको रजिस्ट्रेसन गर्न लगाएका थिए । गाउँका नातेदारले उनलाई भनेका थिए– “खेतको रजिस्ट्रेसन चाँडो गराऊ, नभए जमिनदारले तिम्रो खेत बेइमानी गर्नेछ ।” तर कमरेड सूर्यनाथले हाँस्दै भनेका थिए– कम्युनिस्टको जमिन कसले किन्छ र कसले बेइमानी गर्न सक्छ ? उहाँको ५ बिगहाभन्दा बढी जमिन जमिनदारले बेचेका थिए ।

कमरेड सूर्यनाथको जनताबीच बढ्दो लोकप्रियताले  विपक्षी हेमबहादुर मल्ल, रुद्धले जमिनदारहरुको निद्र हराएको थियो  । उनलाई प्रमुख सत्रु बनाइसकेका थिए । कैयौँ पटक कमरेड सूर्यनाथलाई मार्ने योजना हेमबहादुरको आदेशमा बनाइएका थिए । कैयौँ पटक उनीमाथि आक्रमण भयो । 

मलाई याद छ– चोराकोयलपुरका हेमबहादुर मल्लका केही दलालहरुले सूर्यनाथलाई आफ्नो घरमा ठूलो खाल्डो खनेर र खाल्डोमा पूर्ने योजना बनाएका थिए । योजनाका बारेमा उनलाई केही जानकारी थिएन । चोराकोयलपुरका हेमबहादुर इसारामा चल्लनेहरुको निमन्त्रणामा कमरेड सूर्यनाथ उनीहरुले बोलाएका घरमा पुगेका थिए । यो योजनाबारे चोराकोयलपुरका कम्युनिस्टका नेता राम खेलावनले चाल पाए । राम खेलावन  काका सीधै सूर्यानाथ भएको घरमा पुगे, उनी खानाखान बसेका थिए । राम खेलावन काकाले कमरेड  सूर्यनाथको हात समाउँदै खानाबाट उठाएर लिएर भागे ।

 “सूर्यनाथ माथि बारम्बार हेमबहादुर,  जमिनदारहरुले हमला गराउँदै थियो । सूर्यनाथको ज्यानको खतरा छ । त्यसैले सूर्यनाथलाई बचाउन दस जनाको मोर्चा गठन गरियो । एकचोटिको घटना हो, सूर्यनाथलाई मार्ने विभिन्ना योजना विफल भएपछि झिझाका डाकुहरुलाई बोलाएर आक्रमण गर्न पठाएका थिए ।”

तर सूर्यनाथलाई बचाउन बनाएका मोर्चा जसमा मेरा बुबा पनि हुनुहुन्थ्यो । ती मोर्चाले झिझाका डाकुहरुलाई पराजित गरेर भगाएका थिए । यसरी कैयौँ चोटि सूर्यनाथमाथि योजनाबद्ध आक्रमण भएको थियो । तर सूर्यनाथ किसान मजदुरका मसिहा भइसकेका थिए किसान मजदुरहरु सूर्यनाथलाई जोगाउनु आफ्नो कर्तव्य ठानेको थियो । 

कमलाको भेगमा कमरेड सूर्यनाथ जस्ता क्रान्तिकारी नेताको उदय हुनु एउटा गर्वको विषय थियो । कम्युनिस्ट पार्टीको १३ जना केन्द्रीय सदस्य थिए । त्यसमध्ये सूर्यनाथ पनि एक केन्द्रीय सदस्य थिए । एउटा किसान परिवारमा जन्मेका कमरेड सूर्यनाथ रानले पार्टीका आधा केन्द्रीय सदस्य र पार्टीको खर्च व्यवस्थापन गर्थेे । एउटा क्रान्तिकारी कमान्डरमा हुने सम्पूर्ण गुण श्रद्धेय कमरेड सूर्यनाथ रानमा थियो ।
मलाई अहिले पनि सूर्यनाथ काकाले सहयोग गरेका मान्छे भेट्दा उहाँको बारेमा कुरा गर्दा भावुक हुन्छु । कसैको छोरीको विवाह कपडा, पैसाको कारण रोकिएको भए जयनगर दानी बाबुको दोकानमा गएर, मैले दिएको प्रचार दिनू, विवाहका लागि कपडा दिने छ भनेर कमरेड सूर्यनाथले पठाउने गर्नुहुन्थ्यो । कुनै वृद्ध जाडोको मौसममा काँपदै छ भन्ने आफूले ओढेका ओढ्ने समेत दिन्थे । 

“उहाँको उदारवादी विचारले उहाँलाई अरू लिडर भन्दा भिन्न बनाएको थिए । उहाँ साँच्चिनै सर्वहारा वर्गका नेता थिए । म १० वर्ष जनयुद्धको सुरुवातदेखि त्यस्ता लिडरहरु खोज्दै छु । तर कमरेड सूर्यनाथ काका जस्तो सर्वहारा वर्ग, किसान मजदुरका लागि आफनो स्वार्थको पूर्ण रूपमा तिलाञ्जलि दिसकेका एउटा पनि लिडर (नेता) पाइएका छैन, अहिले सबै सर्वहारा वर्गका नेता बन्ने ढोँग मात्र गर्छन् ।”  

कामरेड प्रचण्ड त्यतिबेला स्कुलमा शिक्षक हुनुहुन्थ्यो । म सूर्यनाथ काकासँग जयनगर जाँदा एक हप्ता उहाँसँगै बाहिर बसेका थिएँ । त्यो बेला उहाँले मलाई सम्झाउँदा भन्नुहुन्थ्यो । आज पनि उहाँको उपदेश मलाई ताजा भएर आएको छ । हामी जयनगरको छेउबेला भन्ने ठाउँमा थियौँ । म र सूर्यनाथ काका त्यहीँका एक जना असामीको घरमा बास बसेको थियौँ  । त्यो रात भावुक भएर सूर्यनाथ काकाले भन्नुभयो– “श्रवण ध्यानले सुन, नेपालमा एउटा ठूलो युद्धको आवश्यकता छ । एउटा ठूलो यूद्ध हुन्छ र त्यो यूद्धको लागि लाल सेनाको आवश्यकता पर्छ । लाल सेनाले यो देशको बुर्जुवा सतालाई धराशायी पार्छ । अनि जनताको सत्ता स्थापित हुन्छ ।”

प्रचण्ड कमरेडभन्दा पहिला जनयुद्धको परिकल्पना गर्ने कमरेड सूर्यनाथ रान हुनुहुन्थ्यो । मलाई सूर्यनाथ काकाले भन्नुभएको थियो । श्रवण तिमी लालसेना बन्नू । म नहुन पनि सक्छु, दलालहरुले मलाई मार्न सक्छन् । त्यसैले एउटा कुरा याद राख्नु, पानीले नुहायो भने गन्दगी मैला फोहर सफा हुन्छ । तर पसिना रगतले नुहायो भने इतिहास बन्छ । त्यसैले पसिना र रगत बगाउनेमा पछि कहिल्यै नहट्नु कम्युनिस्ट जीवनभरि सङ्घर्षमा हुन्छ । धेरै पटक पराजयको स्वाद चाख्नुपर्छ । तर कम्युनिस्ट कहिले पनि थाक्दैनन् र विचलन हुँदैन । म कुनै मार्क्सवादी स्कुलमा पढेको होइन तर कमरेड सूर्यनाथको उपदेशले मलाई दस वर्षे जनयुद्धमा होमिन प्रेरित गरेको थियो । सायद, सूर्यनाथको गाउँमा मेरो घर नभएको भए कमरेड सूर्यनाथको नजिक नभएको भए, म आज किसान मात्र हुन्थेँ वा नेपाली सेनामा हुन्थे । 

सूर्यनाथ काकाकै कारण म १० वर्षको जनयुद्ध जनताको अधिकारको लडाइँमा कम्युनिस्ट पार्टीमा लागेँ । उनले दिएको उपदेश जनयुद्धमा समेत प्रयोग गरेको छु । जनयुद्धको सुरुवात भन्दा अगाडि बरमझियाको लडाइँमा पराजय भयो, हामी भाग्नुपर्ने अवस्था आएको थियो । रामवृक्ष मास्टर साहेब पूरा थाकिसक्नुभएको थियो । उहाँले मलाई भन्नुभयो श्रावण म मरे मरिन्छ तर अब म भाग्न सकिँदैन । छोडेर जाऊ तिमीहरु । त्यो बेला मैले कमरेड सूर्यनाथ काकाले भनेको सम्झेँ, उहाँले भन्नुभएको थियो– कम्युनिस्ट कहिल्यै थाक्दैन, थाक्यो भने शत्रुले सखाप पार्छ । रामवृक्ष मास्टरलाई बोेकेर कमला नदी ता¥यौँ । मेरो अभिभाव मेरा गुरु हुनुहुन्थ्यो श्रद्धेय काका सूर्यनाथ ।
उहाँले भन्नुहुन्थ्यो, कम्युनिस्टलाई कसैले पराजय गर्न सक्दैन । कम्युनिस्टलाई कम्युनिस्ट भित्रमा रहेका शत्रुले मात्र पराजित गर्न सक्छ । उहाँको यो कुरालाई मैले उहाँको मृत्युपछि सम्झेको थिएँ । म र उहाँको जेठो छोरा अशेश्वर सूर्यनाथ काकाले हामीलाई उहाँको नातेदारको घर सिरहा जिल्लाको ठेङगही पठाउनु भएको थियो । निर्दानाका किशुन मण्डल, चिकनाका खगेश्वर साह, बैल्हाका सानेहरु मिलेर कमरेड सूर्यनाथ रानलाई योजनाबद्ध तरिकाले सिरहाको निर्दना गाउँमा समात्न लगाएका थिए । म र अशेश्वर ठेङ्गहीबाट फर्किंदै थिए । बाटोमै सारश्वरको नजिक कमला खोलामा मतौनाका रामेश्वर मास्टर साहेवले सूर्यनाथ रानलाई समात्यो भनेर हामीलाई भने । हामी त्यहीँबाट सिरहा फर्केका थियौँ । तर विडम्बना हामीलाई कमरेड सूर्यनाथ रानसँग भेट्न दिएको थिएन । हामी फर्कियौँ ।

“उहाँको गिरफ्तारीपश्चात केही महिनापछि सिरहाको जेलबाट लगेर दिक्तेल जेल सरुवाको बाहनामा भडेटारको जङ्गलमा लगेर निर्ममतापूर्वक कमरेड सूर्यनाथ रानको हत्या गरियो ।”

कम्युनिस्टका भविष्य नेपाली क्रान्तिको कम्युनिस्ट धरोहर कमरेड सूर्यनाथ रानको यसरी निर्ममतापूर्वक पञ्चायती दलालहरुले हत्या गरे । म जनयुद्धमा लाग्दा मोरङको भेडेटार जङ्गलमा पुगेँ । पाँच दिन सम्म उहाँको  शरीरका हड्डी भए पनि फेलापार्ने उद्देश्यले गएको थिएँ । तर हामीले त्यहाँ केही पनि पाएनौँ । त्यहाँका त्यसबेलाका गाविस अध्यक्ष (प्रधानलाई) कमरेड सूर्यनाथ रानको बारेमा सोध्दा उहाँले भन्नुभयो २०४२ असोज महिनाको समयमा सिमसिम वर्षाको बेला एकजनालाई प्रहरीले ल्याएर हाम्रो जङ्गलमा मार्यो र लास प्रहरीहरुले नै लिएर गएको थिए ।

उहाँको हत्यारालाई कारबाही गर्नुपर्छ भनेर म हाम्रो पार्टीको त्यस बेलाको बैठकमा समेत कुरा उठाएको थिएँ । बिडम्बना कमरेड सूर्यनाथले जुन उद्देश्यका साथ कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो ती उद्देश्य केही पूरा भए र केही अन्योलमा छन् । व्यवस्था त फेरियो तर प्रवृत्ति उस्ताको उस्तै कायम छ, कमरेड सूर्यनाथ रानको खाँचो महसुस भईरहेको छ । अहिलेका लिडरहरु स्वार्थी भएका छन् । सूर्यनाथ जस्तो निडर विनास्वार्थ कम्युनिस्ट आन्दोलनमा लाग्ने नेता मैले जनयुद्धमा पनि देखिनँ ।

सूर्यनाथ एउटा नेपालका सहिद मात्र नभएर अन्तर्राष्ट्रिय सहिद हुनुहुन्थ्यो । तर उहाँको शालिक बनाउन कैयौँ शीर्ष नेताहरुलाई गुहारे पार्टी सरकारमा जाँदा पनि कसैकोे ध्यान सूर्यनाथको शालिक बनाउनुपर्छ भन्नेमा गएन । 
विसं २०७० को चुनावमा पार्टीबाट बागी भएर चुनाव लडेका थिएँ । त्योबेला मलाई कमरेड सूर्यनाथ रानको सबैभन्दा बढी उहाँको उपदेशहरु सम्झेका थिए । उहाँले दिएको उपदेशले मलाई पार्टीका गलत निर्णय विरुद्ध लड्ने ऊर्जा प्रदान गरेको थियो । त्यो चुनावपछि म पार्टीबाट बाहिर जनताको माझमा बसेको थिएँ । मैले पार्टीको लिडरहरुले नगरे पनि आफ्नै लगानीमा र जनताको सहयोगमा कमरेड सूर्यनाथ रानको धातुको शालिक सहिद नगरपालिकाको डुमरियामा निर्माण गरेको छु । कमरेड सूर्यनाथ रानको नाममा सहिद सूर्यनाथ रान मेमोरियल हस्पिटल निर्माण भइसकेको छ र उद्घाटनको तरखरमा छ । 

कमरेड सूर्यनाथको नाममा मैले कालोपत्रे सडकको नामकरण  गराएको छु । पार्टीको माथिल्लो नेता र पार्टीले कमरेड सूर्यनाथ रानलाई व्यवस्था गरेको छ । कम्युनिस्टका धरोहर कमरेड सूर्यनाथलाई पार्टीले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ । सहिद नगरपालिकामा कम्युनिस्ट पार्टीको सरकार छ । मैले सहिद नगरपालिकाका प्रमुख र प्रतिनिधिसँग छलफल गरेर सहिद सूर्यनाथ रानको स्मृतिमा नगरपालिकाका स्कुलमा सर्वजनिक बिदा दिएर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

विद्यार्थीहरुलाई कमरेड सूर्यनाथ नामले छात्रवृत्ति प्रदान गरिएको छ । यसका साथसाथै सहिद नगरपालिका–५, पछेर्वामा सहिद सूर्यनाथ रान प्रदेश स्तरीय फुटबल स्टेडियम निर्माण कार्य सुरु भइसकेको छ । कमरेड सूर्यनाथ रान यादव कम्युनिस्टका धरोहर हुन् । भौतिक शरीर हामीसँग नभए पनि उहाँको विचार र कम्युनिस्ट आन्दोलनप्रति दिएको योगदानले कमरेड अमर बनाएको छ । कमरेड सूर्यनाथ रान मेरा श्रद्धेय गुरु, मेरा अभिभावकलाई हार्दिक श्रदाञ्जालि व्यक्त गर्दछु । कमरेड सूर्यनाथ रान अमर रहून् ।  कमरेड सूर्यनाथ रान लाल सलाम ।।

यादव नेकपाका केन्द्रीय सदस्य हुन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.