शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीको सत्याग्रहमा नेविसंघको ऐक्यवद्धता

सोमबार, ०५ असोज २०७७, १३ : १७
सोमबार, ०५ असोज २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आमरण अनसनरत डा.गोविन्द केसीको १९ औं सत्याग्रहमा ऐक्यवद्धता जनाएको छ । स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधार तथा परिवर्तनका निम्ति पटक–पटक अनसन बसेका डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले उनले राखेका जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग जोडदार माग समेत गरेको छ । 

एक सातादेखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका मागसहित पुनः अनसनमा बसेका डा.केसीका माग सरकारले सम्बोधन नगरेको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अनसनका कारण डा.केसीको स्वास्थ्य स्थिति कमजोर हुँदा पनि सरकारले माग सम्बोधन गर्नुको सट्टा जबरजस्ती र दुर्व्यवहार गरेको आरोप लगाए । 

डा.केसीलाई अनशनस्थलबाट उठाउनु सत्ता र शक्तिको आडमा गलाउने, धम्क्याउने लगायतका अमानवीय  व्यवहार प्रदर्शन गर्नु दुःखद भएको उनले बताए । सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज पहुँच र विपन्न परिवारका छोराछोरीले सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न पाउनु पर्दछ भन्ने उद्देश्यका साथ जारी सत्याग्रहप्रति पूर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले डा.केसीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उनको जीवन रक्षाको लागि सरकार समक्ष जोडदार मागसमेत गरेको छ ।  त्यसैगरी अनसनरत डा.केसीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप