केन्द्रीय संस्करण

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

काठमाडौं । बितेको २४ घन्टामा कपिलवस्तु, सिरहा, धादिङ, दैलेख, सप्तरी र बझाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चौवन्नपुरमा लु.१ च ५४४८ नम्बरको बलेरोले लु.१० प ५९२४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वामा 'अनटेस्ट' लेखिएको पिकअप गाडीले स.६ प ३९९३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ५५ वर्षीया ललिता देवी साहको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको लागि भूमिजा अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी धादिङको थाक्रे गाउँपालिका-६ महादेवबेशी बजारमा ना.३ ख ५१८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने युबराज कार्कीकी ३ वर्षीया छोरी संचिता कार्कीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेखको नौमुले गाउँपालिका-१ मालुभिरस्थित सडकमा ना.७ त १२१६ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका चालक दुल्लु नगरपालिका-९ धामिगाउँ बस्ने २५ वर्षीय कविराज पुरीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैबीच सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवधार चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

बझाङको बुङगल नगरपालिका-१ तल्लोदह भन्ने स्थानमा पनि लु.१ क १२७८ नम्बरको जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जेसिबीमा सवार सोही नगरपालिका भिरगडा बस्ने २८ वर्षीय मान बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

 दहबगरस्थित सडकमा फसेको ग.३ च १५६१ नम्बरको जिप निकाली दहबगरबाट ऐसेलुबगर जाने क्रममा उक्त जेसिबी दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जेसिबी चालक सोही नगरपालिका-९ देउलीकोट बस्ने २४ वर्षीय महेश खडायत लगायत ३ जनालाई उपचारको लागि धनगढीतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.