मन्त्रिपरिषद पुनर्गठन गर्न नेकपाले अघि सार्यो तीन विकल्प
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद् पुनर्गठन लगायत चारवटा कार्ययोजनमा केन्द्रीत रहेर छलफल थालेको छ । जसमध्ये मन्त्रिपरिषद पुनर्गठनको विषय नेकपा सचिवालय बैठकको पहिलो कार्ययोजनमा परेको छ । मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ ।
आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउन सकिने तीनमध्ये एक विकल्पलाई आधारविन्दुु बनाउन सकिनेमा आफ्नो धारणा राखेका हुन् ।
यस्ता छन् तीन विकल्प ?
‘तीन विकल्पमध्ये पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउने र सबै नयाँ राख्ने विषयमा छलफल भयो । दोस्रो, सुरुमा मन्त्री भएकालाई हटाउने र पछिल्लोपटक गएकालाई यथावत राख्दै हटाएका स्थानमा नयाँ अनुहारलाई लैजाने भन्ने पनि भयो’ एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘तेस्रो विकल्पमा शुरुमै मन्त्री भएका पनि राम्रो काम गर्नेहरुलाई राख्ने र राम्रो काम गर्न नसकेकाहरुलाई मात्र हटाएर उनीहरुको ठाउँमा क्षमतावानहरु छानेर समावेशी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ भन्ने विकल्पमा छलफल भएको छ ।’
ती सदस्यकाअनुसार आइतबारको छलफलको स्प्रिट पहिलाका सबै हटाउने र सबै नयाँ राख्ने भन्ने नभएकाले यो सरकार गठन भएकै बखत मन्त्री भएकाहरु, जो राम्रो काम गरिरहेका छन् उनीहरुलाई यथावत नै राख्नुपर्छ भन्नेमा अधिकांश सदस्यहरु सहमत भएका छन् । ‘पहिलाका सबै हटाउने र उनीहरुको ठाउँमा सबै नयाँ राख्ने भन्ने त हुँदैन । आइतबारको छलफलको स्प्रिट त्यस्तो होइन । राम्रो काम गरेकालाई राख्ने, बाँकीमा नयाँ राख्ने भन्ने हो’ ती सदस्यको भनाई छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएपनि कसलाई हटाउने र कसलाई पठाउने भन्ने पात्रका बारेमा छलफल नभएको बताए । ‘आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको छ, तर कसलाई पठाउने र कसलाई हटाउने भन्ने मापदण्ड यहि हुन्छ भन्ने भैसकेको छैन । यसमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।
प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिने राजनीतिक नियुक्तिका विषयमा समेत सरकारलाई निर्णय गर्न सजिलो हुनेगरी छलफल भएको जानकारी दिए । तर संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने विषयमा पनि निर्णय भैनसकेको उनले बताए ।
नेकपा बैठकको कार्ययोजनामध्ये तेस्रो कार्ययोजना पार्टी एकताका बाँकी काम पुरा गर्ने तथा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने रहेको छ । त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ ।
नेकपामा हाल ४४० जना केन्द्रीय सदस्य छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा विभिन्न कारणले ७ जना केन्द्रीय सदस्यको पद रिक्त छ । बंशिधर मिश्र, समिममिया अन्सारी, तिलक परियार, रविन्द्र अधिकारी, धर्मनाथ यादव, डिआर पौडेललगायतको पद रिक्त छ । त्यस्तै नेकपाको केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गर्न सक्ने व्यवस्था छ । त्यसमध्ये चार जनालाई मनोनयन गरिएको छ । त्यस हिसाबले अब झण्डै ४५ जना केन्द्रीय सदस्य थपिने छन् ।
त्यस्तै, स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा सभामुख भएपछि ४५ सदस्यीय नेकपाको स्थायी समितिमा हाल ४४ जना सदस्य मात्र छन् । सापकोटा सभामुख भएपछि रिक्त स्थायी समितिमा एक जनालाई लैजानुपर्ने हुन्छ । रिक्त स्थायी समिति सदस्य पदमा तत्कालिन सभामुख कृष्णबहादुर महरालाई लैजाने सम्भावना बढि रहेको नेकपाका नेताहरुको भनाई छ । यद्यपि, यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई