बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अप : युनाइटेड पराजित, चम्कदै हामेज

आइतबार, ०४ असोज २०७७, ०७ : २९
आइतबार, ०४ असोज २०७७

विल्फ्रेड जाहाले आफ्नो पूर्वक्लब विरुद्ध दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेड सिजनको पहिलो खेलमा नै क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

खेलको सातौँ मिनेटमा नै युनाइटेड एन्ड्रोस टाउनसेन्डको गोलबाट पछि परेको थियो । ७४ औँ मिनेटमा विवादास्पद पेनाल्टीमार्फत जाहाले प्यालेसको अग्रता दोब्बर बनाए ।

भिक्टर लिन्डेलोफले डि एरियामा ह्यान्डबल गरेपछि रेफ्री मार्टिन एटकिन्सनले प्यालेसलाई पेनाल्टी प्रदान गरेका थिए । जोर्डन एयूको प्रहारलाई डेभिड डि गेयाले सेभ गरेका थिए । तर, रेफ्रीले डि गेया आफ्नो लाइनबाट निस्किएको बताउँदै प्यालेसलाई पुनः पेनाल्टीको अवसर दिएका थिए । जसलाई जाहाले सजिलै गोलमा परिणत गरे ।

खेल सकिन १० मिनेट बाँकी छँदा आफ्नो डेब्यू खेलमा डोनी भान डे विकले युनाइटेडका लागि गोल फर्काए पनि जाहाले अर्को गोल थप्दै प्यालेसलाई ३–१ को जीत दिलाए । योसँगै प्यालेसले इतिहासमा पहिलोपटक प्रिमियर लिगको शुरुवाती दुई खेल जित्न सफल भएको छ ।

शनिबार नै भएको अर्को खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै यो सिजन शत प्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

खेलको २५ औँ मिनेटमा अलेक्सान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्त्यमा मिकेल एन्टोनियोले खेल बराबरी गरे ।

खेल सकिन ५ मिनेट बाँकी छँदा ड्यानी सेबायोस्को पासमा निकेताले गोल गर्दै आर्सनलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

उता, डोमिनिट काल्भर्ट लेविनको पहिलो करियर ह्याट्रिक र हामेज रोड्रिग्वेजको पहिलो गोलको मद्दतले  एभर्टनले १० खेलाडीमा सिमित वेस्ट ब्रोम आल्बियोनमाथि ५–२ शानदार जित हासिल गर्न सफल भएको छ ।

खेलमा अग्रता भने वेस्ट ब्रोमले लिएको थियो । खेलको शुरुवातमा नै ग्राडी डियान्गानाले वेस्टब्रोमलाई अग्रता दिलाए । पहिलो हाफको मध्यतिर काल्भर्ट–लेविनको गोलको मद्दतले एभर्टनले खेल बराबरी गर्यो ।

त्यसपछि रोड्रिग्वेजले उत्कृष्ट गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेस्ट ब्रोमका केरन गिब्सले रोड्रिग्वेजलाई हिर्काएपछि रातो कार्ड पाए ।

दोस्रो हाफको शुरुवातमा नै म्याथ्यु परेराको उत्कृष्ट फ्रिकिकमार्फत वेस्ट ब्रोमले खेल बराबरी गर्यो । तर, काल्भर्ट–लेविनले दुई तथा माइकल किनले एक गोल थपेपछि एभर्टन विजयी बन्यो । योसँगै एभर्टन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

उता, लिड्स युनाइटेडले फुलह्याममाथि ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप