शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : संविधान दिवसमा कतै विरोध, कतै खुशियाली

शनिबार, ०३ असोज २०७७, २१ : ०४
शनिबार, ०३ असोज २०७७

जनकपुर । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष पूर्व २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भयो । संविधान जारी भईरहँदा एकातर्फ दिपावली मनाइँदै थियो भने अर्को तर्फ तराई मधेसमा संविधान विरोधमा जनविद्रोह नै भएको थियो । 

यद्यपि बिरोधका स्वरका बीच पनि तत्कालिन प्रधानमन्त्री तथा अहिलेका जसपा नेपालका नेता डा. बाबुराम भट्टराईले नै संविधान जारी गरे । संविधान जारी भएको ५ वर्ष भई सकेपछि अहिले मुलुकमा संघीयता कायमसँगै प्रदेश नम्बर २ को सरकारको नेतृत्व मधेसवादी दल जसपा नेपालले गर्दै आएको छ । तर नयाँ संविधानलाई टेकेर सपथ ग्रहण गरिसकेको करिब ३४ वर्षसम्म पनि सो संविधानलाई अँगाल्न नसकेको जस्तो देखिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र संघिय समाजवादी पार्टी मिलेर बनेको नवगठित जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले जिल्ला जिल्लामा संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउँदै बिरोध जनाएका छन् ।

जनकपुरधाममा संविधान दिवसको बिरोधमा जनता समाजवादी पार्टीले बिरोध -याली निकालेको छ । जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा जसपाका नेताहरुले बिरोध -याली निकालेका हुन् । 
उनीहरुले असोज तीन, कालो दिन भन्दै जनकचोकदेखि विरोध -याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

विरोध -यालीमा सहभागीहरुले विभेदपूर्ण संविधानले मधेसी जनताको  हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै संविधानको विरोधमा प्रदर्शन गरेका हुन् ।

विरोध रैलीमा जसपाका संघीय सांसद उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो । जनता समाजवादी पार्टीले साँझ साढे ६ बजेदेखि पौने सातबजेसम्म १५ मिनेट ब्लाक आउट गर्न आह्वान गरेको कार्यक्रममा समेत स्थानीयवासीहरुले सहभागिता जनाएका छन् । 

सबैलामा संविधान जलाउनेमाथि लाठीचार्ज

धनुषाको सबैलामा केही स्थानीयहरुले संविधान दिवसको बिरोध गर्दै संविधान जनाउनै लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ । सबैलाको ईलाका प्रहरी कार्यालयको थुना भित्रै केही महिना अगाडी ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा स्थानीयहरुले संविधान जलाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीय शम्भु पण्डितले बताए  ।

स्थानीयहरुलाई संविधान जलाउनेहरुलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको सबैला ईलाका प्रहरी कार्यालयका ईन्चार्ज इन्सपेक्टर रामकुमार यादवले जानकारी दिए । घटनामा चोटपटक कसैलाई नलागेको उनले बताए । 

तर मधेस आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएको छ  । संविधान जारी भएको ५ वर्षपछि युवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश सरकार र जसपा नेपालहरुलाई चुनौती दिँदै संविधान दिवस मनाएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका युवा नेता समेत रहेका सुशील कर्णको अगुवाईमा संविधान दिवस कार्यक्रम मनाइएको हो । युवा नेता कर्णले संविधानमा केहि त्रुटी रहेको स्वीकार गर्दै जसरी सत्तामा बसेर प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए । उनले भने, 'संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप