शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरेली सौन्दर्यकर्मी भन्छन् : मनोरञ्जन गर्न होइन, जिविका चलाउन व्यवसाय चलाएका हौं

शनिबार, ०३ असोज २०७७, १८ : ३५
शनिबार, ०३ असोज २०७७

पोखरा । ६/६ महिनासम्म ग्यारेजमा थन्किएर बसेका सवारी असोज १ गतेदेखि हाइवेमा कुद्न थालि सके । बन्द होटल, रेष्टुराका तालाचाबि पनि फाट्टफुट्ट खुल्न थालि सकेका छन् । 
अन्र्तराष्ट्रिय मात्र होइन । आन्तरिक हवाई उडान पनि सञ्चालनमा आउने तयारीमा छन् । अरु पेशा व्यवसायी पनि अप्ठ्यारोकै बिच पूरानै लय समात्ने कोसिसमा छन् । बन्द कोठाभित्र खुम्चिएर बसेको दैनिकी बिस्तारै सहज हुन थालेको छ । 
यद्यपि, केही पेशा व्यवसायलाई सरकारले अझैं पनि सञ्चालन अनुमति दिई सकेको छैन । स्कुल, कलेज, सौन्दर्य पेशा, ब्यायामशाला लगायतका पेशा व्यवसाय अझैं पनि ठप्प छन् । सबै पेशा व्यवासायीलाई सञ्चालन अनुमति दिई सक्दा समेत आफूहरुलाई भने सञ्चालन अनुमति नदिएको भन्दै पोखराका सौन्दर्यकर्मी रुष्ट बनेका छन् । अरु पेशा व्यवसाय जस्तै आफूहरु पनि निर्वाध रुपमा चल्न पाउनुपर्ने उनीहरुको माग छ । 


ब्युटी पार्लर एशोसियसन कास्कीकी सचिव बबिता केसी सौन्दर्य पेशा मनोरञ्जन होइन स्वास्थ्यसँग जोडिएको पेशा भएको तर्क गर्छिन् । प्रत्यक्ष सम्पर्क रहने हुँदा संक्रमित होइन्छ भनिए पनि रिक्स भएकै ठाउँमा सुरक्षाका उपाय पनि हुने उनको तर्क छ ।

‘सुरु सुरुमा त बन्द गर्नु ठिकै जस्तो पनि लागेको थियो । अहिले सौन्दर्य पेशाबाट मात्रै कोरोना सर्छ भनेर छुट्याए जस्तो व्यवहार भई रहेको छ,’ उनले भनिन्, ‘सबै व्यवसाय खुलि सके । हामीलाई मात्रै खोल्न नदिँदा जताततैको बाटो थुनिदिएको जस्तो भएको छ । कुनै उपाय नै छैन कि जस्तो पनि लाग्दो रहेछ ।’ 

सबै पेशा व्यवसाय सूचारु भई सक्दा पनि आफूहरुमाथि मात्रै रोक लगाउँदा जानि जानि हात भाँचेर राखिदिएको जस्तै अनुभव भएको उनको अनुभव छ । लाखौं रुपैयाँ खर्चेर सुरु भएको पेशा व्यवसाय महिनौंदेखि ताला लगाएर राख्नुपर्दा रोजिरोटी नै खोसिएको उनले सुनाइन् ।

‘निकै गाह्रो भई रहेको छ । कतिपय व्यवसायीका घरधनीले मानवता देखाएर १÷२ महिना छुट दिए पनि धेरैले पाउनु भएको छैन,’ उनले भनिन्, ‘धेरै जसो सौन्दर्यकर्मी पलायन हुने हुन् कि भन्ने चिन्ता पनि छ ।’ 

सौन्दर्यकर्मीको पेशा व्यवसायीको संगठनले सरकारी निर्णय अवज्ञा गर्दै सुरक्षित तवरले पुन व्यवसायमा फर्किने तय गरे पनि सुरक्षा निकायले धम्क्याउने खालका प्रवृतिले व्यवसायी निराश बनेको उनले सुनाइन् । ‘यो भन्दा अघि कतिपय ब्युटीसियनले कसरी चलाउने भनेर सोच्यौं । कसैले कन्ट्याक्टमा आएकालाई एउटै परिवार चिनेकालाई चलाए पनि प्रहरी प्रशासनले आएर दबाब दिने खालका व्यवहार भए,’ उनले भनिन्, ‘अरु व्यवसाय गर्दा नसर्ने भन्ने होइन । हरेक पेशा व्यवसायीले सेफ्टी अपनाएर काम गर्न पाउनु पर्छ ।’ 

सौन्दर्य व्यवसायलाई सरकारले मनोरञ्जन क्षेत्रमा वर्गिकरण गरेकोमा उनको कडा आपत्ति छ । उनले सौन्दर्यकर्मीहरु मनोरञ्जन गर्न नभई उद्यमि बनेर जिविका चलाउन व्यवसाय चलाएका जिकिर गरिन् । सौन्दर्य व्यवसायीलाई सरकारले उपेक्षा गर्दा व्यवसायी निराश बनेको उनले सुनाइन् । 

संस्थाकी अध्यक्ष शर्मिला रानाभाटले सौन्दर्य व्यवसायी आर्थिक रुपले निकै मारमा परेको बताइन् । ‘साह्रै गाह्रो भयो । सरकारले कुनै सहुलियत पनि दिएन । हिजोबाट खोल्नै भनेर अलिअलि खोलेका त छौं । तर, कष्टमर कोही पनि आउनु भएको छैन,’ उनले भनिन्, ‘निकै गाह्रो भएको छ ।’ 

सानो लगानी गरेर सुरुआत गरेको व्यवासायी भाडा तिर्न पनि नसक्ने अवस्थामा पुगेको उनले सुनाइन् । सञ्चालनको माग राखेर फाट्टफुट्ट रुपमा सूरु गरे पनि प्रहरी प्रशासनबाट दमन भएको उनले बताइन् । ‘महिला प्रहरी ल्याएर भ्यानमा हालेर लैजान्छौं भन्नु समेत भन्नु भयो । सबै खुलि सक्दा हामीले पनि सहज रुपमा व्यवसाय गर्न पाउनुपर्छ,’ उनले भनिन् । 

नेपाल ब्युटीसियन संघ गण्डकी प्रदेश अध्यक्ष कल्पना कोइराला कार्कीले आफूहरुलाई मात्रै सञ्चालन अनुमति नदिएको भन्दै आपत्ति जनाइन् । ‘हामीलाई मात्रै अनुमति दिएको छैन । के कारणले कसरी दिई रहेको छैन । सबै लामो दुरिका गाडीहरु चलि सक्दा पनि अझैं पनि पार्लरलाई सञ्चालन अनुमति दिएको छैन,’ उनले भनिन्, ‘सरकारले के गर्न लागेको हामीलाई थाहै भएन ।’ 

संघले व्यवसाय खोल्न पाउनुपर्ने माग राखेर सिडिओ कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको उनले सुनाइन् । अरु पेशा व्यवसायीलाई सञ्चालन अनुमति दिए पनि सरकारको आँखामा पार्लर मात्र परेको भन्दै उनले गुनासो पोखिन् । ‘महँगा–महँगा सामान चलाई रहेका हुन्छौं । कति डेट एक्सपायर हुन्छ । कति लोनमा हुन्छ । ६÷६ महिना भई सक्यो,’ उनले भनिन्, ‘पेट पाल्ने आधार पनि त्यही हो । धेरै गाह्रो छ । धेरै समस्यामा परेका छौं ।’

जोखिमको पेशा भए पनि सुरक्षाका उपाय अपनाएर निर्वाध रुपमा व्यवसाय गर्न पाउनुपर्ने उनको माग छ । सौन्दर्यकर्मीले कोरोना महामारि आउनुभन्दा पहिले नै आफ्नो स्वास्थ्यप्रति जिम्मेवार भएर सुरक्षित बनेर काम गर्ने गरेको उनले सुनाइन् । ‘सुरक्षित हामी पहिलदेखि नै थियौं । कोरोना आयो भनेर मात्रै सुरक्षाका उपाय अपनाएको होइन,’ उनले भनिन्, ‘पहिले पनि ग्लब्स लगाएर काम गथ्यौं । मास्क लगाएर काम गछौं । केमिकलहरु एकदमै कडा पनि छन् । हामीलाई पहिले पनि थाहा छ । कोरोना आएर मात्रै सचेत भएका होइनौं ।’

अरु पेशा व्यवसायी महामारि आउनु अघि स्वास्थ्यप्रति जिम्मेवार नबने पनि आफूहरु पहिलेदेखि सुरक्षित बनेर काम गर्ने गरेको उनको जिकिर छ । झण्डै ७ महिनादेखि ठप्प बनेर बस्नु पर्दा सरकारले कुनै पनि सहयोग नगरेको भन्दै उनले आपत्ति जनाइन् । ‘पहिला पनि सरकारबाट हामीले कुनै सहयोग पाएका थिएनौं । भोलि पनि पाउँदैनौं थाहा छ । अरु कसैले पाउने होइन,’ उनले भनिन्, ‘कोरोनासँग डराएर कति दिन बस्ने ? २ वर्षै नजाला रे । भ्याक्सिन नआएसम्म समाधान हुन्न भन्छन् । के हो ? थाहा नै छैन । रोगले भन्दा पनि भोकले मरिन्छ ।’

सौन्दर्य व्यवसायलाई बन्दै गर्ने भन्दा पनि सञ्चालन मापदण्ड बनाएर सञ्चालन अनुमति दिन उनले सुझाइन् । लामो समयदेखि सौन्दर्यकलामा आबद्ध अनुभवी सौन्दर्यकर्मी चिनु गुरुङले अरु पेशा व्यवसाय जस्तै निर्वाध रुपमा व्यवसाय खोल्न पाउनु पर्ने बताइन् । सौन्दर्यकर्मीले आधिकारिक रुपमा ंसंगठन बैठक बसेर सरकारी दाबाब आए पनि व्यवसाय खोल्न सुर गरि सकेको उनले जानकारी दिइन् ।

‘सम्पूर्ण व्यवासयी भेला भएका थियौं । सरकारले अनुमति नदिए पनि खोल्ने निर्णय ग¥यौं । हामीले पनि खोल्न पाउनु प¥यो नि,’ उनले भनिन्, ‘यो त अन्याय भएन र !’ अनुभवी सौन्दर्यकर्मी गुरुङले सयौं दक्ष सौन्दयकर्मी पनि उत्पादन गरि सकेकी छिन् । न्युनतम ३ देखि ५०, ६० लाख रुपैयाँसम्मको लगानीमा सञ्चालनमा आएका सौन्दर्य व्यवसायीको निर्वाध रुपमा सञ्चालन अनुमति पाउनुपर्ने माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप