बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चामलको मौज्दात बढ्यो, चिनीको भण्डार भने रित्तिदै

मन्त्रालय भन्छ, ‘चाडवाडमा अभाव हुन्न’
शनिबार, ०३ असोज २०७७, १५ : २२
शनिबार, ०३ असोज २०७७

काठमाडौं । बजार मूल्यलाई माग र आपूर्तिले प्रभाव पार्छन् । यी दुईबीचको असन्तुलनका कारणले बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि वा मूल्यको गिरावट हुने गर्छ । चाडबाडको समयमा माग उच्च हुनाले मूल्यमा त्यसले चाप पार्छ । कतिपय अवस्थामा आपूर्तिमा कृतिम अभावको सिर्जना गराएर मूल्यमा प्रभाव पार्ने प्रवृत्ति पनि देखिँदै आएको छ । पछिल्लोपटक बजार अनुगमनको क्रममा प्याजमा त्यस्तै अवस्था रहेको पाइएको थियो । 

खाद्यान्नको कृतिम अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्येक महिनाको अन्त्यमा भएका खाद्यान्नको मौज्दात सार्वजनिक गर्दै आएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणमा आधारमा नेपालमा चिनीको भण्डार रित्तिदै गएको पाइएको छ । 

मन्त्रालयका अनुसार साउन मसान्तमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रसँग समेत तरेर १५ हजार ८ सय ४७ मेट्रिकटन चिनीको मौज्दात थियो । भदौ मसान्तमा यो मौज्दात घटेर ९ हजार मेट्रिकटनमा सीमित भएको छ । उक्त मौज्दातमध्ये हाल निजी क्षेत्रसँग ८ हजार मेट्रिकटन चिनी रहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङसँग १ हजार मेट्रिकटनको मौज्दात बाँकी रहँदा खाद्य तथा व्यापार कम्पनीसँग चिनीको मौज्दात शुन्यमा झरेको छ । खाद्यले भने अहिले १० हजार मेट्रिकटन चिनी खरिदका लागि टेन्डर आह्वान गरेको छ । 

चामलको मौज्दात बढ्यो
अघिल्लो महिनाको तुलनामा यो महिना चामलको मौज्दात भने बढेको छ । साउन मसान्तमा ९५ हजार २ सय ३९ मेट्रिकटनमा सीमित भएको चामल भदौ मसान्तमा १ लाख ११ हजार ५ सय ९९मेट्रिकटन पुगेको हो । निजी क्षेत्रले १३ हजार मेट्रिकटन स्टक बढाउँदा यस्तो वृद्धि देखिएको हो । 

खाद्यान्न बिक्रीको जिम्मेवारी लिँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुगम भेगका लागि मौज्दात करिब ३ हजार मेट्रिकटनले बढाएर १३ हजार ५ सय ९९ मेट्रिकटन पुर्याए पनि दुर्गम क्षेत्रमा १ महिनामै १ हजार मेट्रिकटनको स्टक घटेको छ । स्टक घट्दा चाडबाडको मुखमा दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुने हो कि भन्ने आशंका गरिएको छ । 

यो अवधिमा जुनको मौज्दात पनि घटेको भए पनि यो १ लाख ३० हजार मेट्रिकटन बाँकी नै छ । दुर्गम क्षेत्रमा पनि हाल २ हजार ४ सय मेट्रिकटन नुनको स्टक बाँकी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । 
अहिले खाद्यसँग फापर ५८ क्विन्टल र गहुँ २ सय ९४ मेट्रिकटन छ । निजी क्षेत्रसँग गहुँ र फापरको कुनै मौज्दात छैन । दाल, गेडागुडी निीजी क्षेत्रसँग १८ हजार मेट्रिकटन हुँदा खाद्यसँग ५० मेट्रिकटनको मात्रै मौन्दात छ ।  खानेतलमा भने निजी क्षेत्रकै भर पर्नुपर्ने भएको छ । हाल निजी क्षेत्रसँग ७५ हजार मेट्रिकटन तेल बाँकी रहेको जनाइएको छ । 

मन्त्रालयले हाल खाद्यपदार्थको उत्पादन नरोकिएको र विदेशबाट आयात समेत भइरहेकोले मौन्दात घट्ने अवस्था नदेखिएको र दशैं, तिहार, छठ जस्ता चाडपर्वमा आपूर्ति व्यवस्थापनमा समस्या पर्ने अवस्था पनि नदेखिएको जनाएको छ । 

लकडाउन सुरु भएपछि चैतदेखि भदौ मसान्तसम्ममा मात्रै ९ लाख ७ हजार मेट्रिकटन खाद्यान्न, १ लाख ५५ हजार मेट्रिकटन दलहन, २ लाख ४२ हजार मेट्रिकटन तरकारी, ८२ हजार मेट्रिकटन फलफुल, १३ हजार मेट्रिकटन दुग्ध पदार्थ र ३ अर्ब ८३ करोडको औषधिको कच्चा पदार्थ र १० अर्ब ८४ करोडको तयारी औषधि आयात भएको समेत मन्त्रालयले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप