शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रप्रतिको निष्ठाका बारेमा गरिने आशंका र भ्रमबाट विस्मित छु : प्रधानमन्त्री ओली

शनिबार, ०३ असोज २०७७, १० : ५२
शनिबार, ०३ असोज २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताएका छन् । 
संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार छ’, प्रधानमन्त्रीको भनाइ छ । 

सम्बोधनका क्रममा सरकारले गरेका कामकारवाहीको प्रस्तुति दिएका प्रधानमन्त्री ओलीले लोकतन्त्र निरंकुश तन्त्रको विकल्प भएकाले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै कसैकसैले सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्टाका बारेमा गरेको आशंका र भ्रमबाट विस्मित हुने गरेको बताए । 

‘जता हावा बग्छ त्यतै बरालिने लोकतन्त्र होइन । लोकतन्त्र विधिको शासन हो । मर्यादित र अनुशासिन प्रणाली हो’,प्रधानमन्त्रीको भनाइ छ । 
 उनले लोकतन्त्रमा आमसञ्चारमाध्यमहरुको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमहरु व्यवसायिक बन्न नसकेको गुनासो गरे । प्रधानमन्त्री ओलीले बौद्धिक जगतले बाटो बिराउन वा अल्मलिन नमिल्ने भन्दै संकटका बेला हल्लाहरुले मानिसको मन दुखित तुल्याउने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । 

उनले कोरोना महामारी रोकथामका लागि सरकारले गरेको काम उत्साहजनक भएको भन्दै नेपालमा कोरोनाको पहिलो केस पहिचान हुँदा परीक्षण गर्न विदेशमा नमुना पठाउनु परेको स्मरण गरे । 
तर अहिले ४७ वटा प्रयोगशाला विस्तार गरेर प्रतिदिन २३ हजारसम्म परीक्षण गर्न सकिने अवस्थामा पुग्नु सरकारको सफलता रहेको दावी गरे । प्रधानमन्त्रीले पहिलोपटक चैत ११ गतेपछि लकडाउन गरेयता जनजीवन सामान्य हुन नसकेको भन्दै त्यसका कारण विकास निर्माणका धेरै कामहरु सम्पन्न हुन नसकेको पनि बताए । 

कोभिडका कारण अन्य मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक भएपनि नेपालमा सकारात्मक रहेको भन्दै उनले कोरोना नियन्त्रणमा आएपछि मुलुकको आर्थिक अवस्था विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । 
नेपालको राष्ट्यि झण्डा झण्डोतोलन गरेर सुरु भएको   कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, समाभुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो भने नेपाली सेनाको २ हेलिकोप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो । 

छैठौं संविधान दिवसका अवसरमा शान्तिका प्रतिक ६ जोडी परेवा पनिउडाइएको थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न व्याण्डबाजासहित राष्ट्रिय धुनहरु बजाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप