शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा प्रहरी ‘हाइ अलर्ट’, अपराधीसँग मिलेमतो देखिए तत्कालै निलम्बन !

वैशाखयता एसपीसहित ११८ जना कारवाहीमा
शुक्रबार, ०२ असोज २०७७, २३ : १३
शुक्रबार, ०२ असोज २०७७

काठमाडौँ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले अहिले प्रदेशभित्र प्रहरीलाई ‘हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस (कोभिड–१९) देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख भएर प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुक आएपछि प्रदेशको प्रहरी काम कारबाहीदेखि अन्य सुरक्षाको सवालमा नयाँ सुधारको काम हुन थालेको छ ।

कार्यभार सम्हालेलगत्तै कडारुपमा प्रस्तुत भएका डीआईजी धानुकले प्रदेशमा चोरीतस्करी बढेमा र त्यसमा प्रहरीको कुनै संलग्नता देखिए प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्मलाई तत्कालै निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउने निति अख्तियार गरेका छन् । 

सोही कारण प्रहरीलाई आपराधिक क्रियाकलाप नियन्त्रणमा थप सफलता मिल्दै गएको प्रदेश ५ का प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले बताए ।

डीआईजी धानुकले पछिल्लोपटक आफुलाई अविश्वास र कमाण्ड सम्हाल्न नसक्ने जस्तो लागेमा उनले विशेष अप्रेसन नजिकैका छिमेकी जिल्लाका एसपीलाई निर्देशन दिएर पनि नियन्त्रणमा ल्याउने गरेका छन् । 

त्यसको पछिल्लो उदाहरण दाङ भएर गएको १० किलो लागूऔषध अफिम दाङ प्रहरीलाई सुइँको समेत नदिएर बाँके प्रहरीबाट अप्रेसन चलाएर २ जना अभियुक्तलाई प्रदेश प्रहरीको विशेष निर्देशनमा नियन्त्रणमा लियो ।

प्रहरी कमाण्डमा अनूभवि र सफल मानिएका डीआईजी धानुकले प्रहरीको तल्लो युनिटदेखि जिल्ला हुँदै प्रदेशको पुरै प्रहरी संरचनालाई चलायमान बनाएको प्रदेश ५ का प्रदेशसभा सदस्य अमर डाँगीले बताए । 

प्रदेश प्रहरीको कार्य सम्पादन सामान्य अवस्थामा भन्दा सन्तोषजनक रहेको भन्दै डाँगीले संघीय र प्रदेश प्रहरीका केही नीतिगत समस्याका कारण प्रभावकारी रुपमा काम गर्न समस्या भएको बताए । 

काठमाडौँ प्रहरी प्रमुख समेत भएका धानुक प्रदेशको प्रमुख भएर कमाण्ड सम्हालेयता प्रहरीलाई जनताको भावनासँग जोडेर प्रदेशको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन सफल मानिएको डाँगीको भनाइ छ । 

सांसद डाँगीका अनुसार प्रहरीको उच्च सक्रियता प्रदेशभरी नै बढेको छ । डीआईजी धानुकले अवैध सामान ओसारपसार  नियन्त्रण, प्राकृतिक दोहनसहित क्रसरमाथि निगरानी, जेसीबी ट्याक्टर नियन्त्रण, फरार अपराधी पक्राउलगायतका गतिविधिलाई प्राथमिकतामा राखेका छन् । 

डीआईजी धानुककै कार्यकालमा तल्लो तहको प्रहरी जवानदेखि दर्जा अनुसारको भूमिकामा रहेका प्रहरी अधिकारीहरुसँग गुनासो सुन्नेदेखि लिएर सुखदुख भलाकुसारी कार्यक्रम पनि चलेको छ ।

लागूऔषध, जुवातास नियन्त्रणदेखि लिएर भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता धानुकले अपनाएका छन् । प्रहरीलाई प्रविधिमैत्रि बनाउनेदेखि पक्राउ परेका अभियुक्तलाई सिधै अदालत नलगेर भिडियो कन्फेरेन्समार्फत बयान गराउने काम पनि व्यवहारिक रुपमा सुरु गरेका छन् ।

सुशासनमा पनि प्रहरीलाई उभ्याउँदै आएका धानुक प्रहरी देखेर जनता डराउने होइन भर मान्ने र सुखदुखको साथीको रुपमा भावनाको विकास गराउने आफ्नो मुल अभिप्राय रहेको बताउँछन् । 

५ नम्बर प्रदेशमा हातहतियार नियन्त्रण, सडक दुर्घटना न्यूनिकरण गर्न लेजर गनबाट गति नाप्नेदेखि लिएर विभिन्न प्रकारका सकारात्मक र सचेतनामूलक अभियानहरु सञ्चालनमा ल्याएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । 

उनले पछिल्लो पटक दाङसँग जोडिएको भारतीय सिमा क्षेत्रमा सशस्त्रको युनिट राखेपछि दाङमा भारतीय नाकाबाट हुने चोरी तस्करी नियन्त्रणमा आएको बताए । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले प्रदेश प्रहरी प्रमुखको निर्देशन अहिले चोरी तस्करी नियन्त्रण र कोभिडलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने रहेकाले सोही अनुसार काम भइरहेको बताए । 

यसै गरेर कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्लामा चोरी तस्करी नियन्त्रण गर्ने विषयमा डीआईजीबाट स्पष्ट निर्देशन आएको र सो अनुसार प्रहरी टोली परिचालन गरिएको बताए । 

उनले भारतीय सिमासँग जोडिएका जिल्ला भएकाले पनि थप सजगता अपनाइएको उल्लेख गरे । डीआईजी धानुक प्रदेश प्रहरी प्रमुख भएर आएपछि काम गर्न निकै सहज भएको एसपी अधिकारीको अनुभव छ । 

धानुकले प्रदेश ५ मा पर्ने तराई क्षेत्रमा प्रदेश प्रहरी कार्यालयबाट विशेष निगरानी गर्न ‘टास्क फोर्स’ पनि भित्रभित्रै छुट्टै परिचालन गरेका छन् । 

त्यस्तै रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेलले पनि तराईसँग जोडिएका विभिन्न भारतीय नाकाहरुबाट हुने अवैध काम नियन्त्रण गर्न कडारुपमा प्रदेश प्रहरी कार्यालयबाट निर्देशन आएको भन्दै आफू आएको १५ दिनमा केही उपलब्धिमुलक काम भएको बताए । 

उनले शंका लागेका ठाउँहरुमा प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको गैरकानुनी कामहरु नियन्त्रण गर्न स्पष्ट निर्देशन आइसकेकाले अब काम गरेर देखाउने दायित्व आफुहरुको काँधमा रहेको बताए ।

प्रदेशमा आउने नयाँ प्रहरीलाई कार्यक्षेत्रमा जानुपूर्व अनुशिक्षण, डिजिटल चेक प्वाइन्ट, लामो दुरीका सवारी साधन चलाउने चालक, सह चालकलाई प्रदेशका विभिन्न ठाउँहरुमा रिफ्रेसमेन्ट दिने कार्य भइरहेको घोराही उपमहानगरपालिकाकी उपमेयर सिता सिग्देल न्यौपानेले बताइन् । 

उनले प्रहरीको काम कारवाही सकारात्मक रहेको भन्दै स्थानीय तहसँग मिलेर काम भइरहेको पनि बताइन् । प्रहरीले शान्ति सुरक्षाको सवालमा निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको पनि न्यौपानेको भनाइ छ । 

प्रहरी कार्यालयमा पीडित सहजै छिर्न सहज होस र न्याय सम्पादनमा सहजता थप्न छुट्टै गेट बनाएर त्यहाँबाट पीडितलाई प्रवेश गराउनुका साथै पीडितमैत्रि सेवा प्रदान गर्न सहायता कर्मचारी, पीडितमैत्रि भ्यानसमेत तयारी अवस्थामा राखिएको एसएसपी वैदवारले जानकारी दिए ।

धानुक आएपछि प्रहरीभित्र धेरै सुधारका कामहरु भएको र केही सुधारका कामहरु देखिन थालिसकेको बैदवारले बताए । जिल्ला प्रहरी कार्यालय दाङकी महिला सेलकी इञ्चार्ज (असई) सपना खड्काले महिला सेलमा घरेलु महिला हिंसा, बालबालिका, बहुविवाहलगायतका थुप्रै महिलासंग जोडिएका मुद्दाहरु आउने गरेको भन्दै पिडितमैत्रि वातावरण बनाउन उनिहरुका लागि छुट्टै गेट बनाइएको बताइन् । 

उनले पिडितलाई सहज होस भनेर अहिले जिप्रका दाङका पीडित सहजकर्ताको व्यवस्था गरिएएको जानकारी दिइन् ।  न्याय सम्पादनमा सहज बनाउन यस खालका सकारात्मक कामहरुको सुरुवात भएको उनको भनाइ छ ।  

५ नम्बर प्रदेशमा महिला प्रहरीलाई विश्वास र आत्ममनोवल बढाउन महिला प्रहरीलाई कार्यक्षेत्र छनौट गरेर प्रहरी इञ्चार्जको जिम्मेवारी दिन सुरु गरिएको छ । सतवरीया प्रहरी चौकीकी इञ्चार्ज भएर गएकी असई लक्ष्मी केसीले आफुलाई यहाँ इञ्चार्ज बनाएर प्रहरी संगठनले काममा लगाउदा धेरै नै खुसी भएको बताइन् । उनले सबैसँग समन्वय गरेर प्रहरीको कार्य सम्पादन गर्ने र गलत कामहरु नियन्त्रण गर्न लागिपर्ने पनि बताइन् । 

पुरुषभन्दा महिला बढि संवेदनशिल हुने र जिम्मेवारीप्रति जवाफदेहीता र गाम्भीर्यता दुवै हुने भएकाले सुरुवाती चरणमा महिला प्रहरीलाई इञ्चार्ज दिनेदेखि महिला मात्रै भएको नमुना प्रहरी युनिट बनाउने योजना अघि सारिएको डीआईजी धानुकको भनाइ छ ।

प्रदेश प्रहरीले अहिले सञ्चारमाध्यममा आएका विषयवस्तुको वारेमा अध्ययन गरेर बिफ्रिङ गर्ने गरी छुट्टै इकाइ बनाइएको, महिला, बालबालिका, दलित, जेष्ठ नागरीकको विषयमा तत्कालै एक्सन लिने गरी संयन्त्र बनाइएको र सामाजिक सञ्जालबाट सूचना प्राप्त गरेर काम कारबाही अघि बढाउन थालेको छ ।

पछिल्लोपटक कोभिडसँगै लकडाउनमा प्रहरीको भूमिका प्रभावकारी बढाउन र बढ्दो आत्महत्या न्यूनिकरण गर्न प्रहरीबाटै चेतनामुलक अभियानहरु पनि सुरुवात गरिएको एसएसपी बैदवारले बताए ।

उनले प्रहरीलाई सामाजिक विकृतिविरुद्ध, अपराध नियन्त्रण, प्रहरीको व्यवसायिकतासँगै प्रविधिमैत्रि बनाउने काम भइरहेको बताए ।

एसपीसहित १ सय १८ जना कारवाहीमा
डीआईजी धानुकले प्रहरी आचरण विपरीत काम गर्ने प्रहरीका जिम्मेवार अधिकारीसहित प्रहरी जवानसम्मलाई कारवाही गरेका छन् । प्रहरी आचरण व्यवहार सुधार तथा कारवाही अन्तरगत प्रदेश ५ मा वैशाखदेखि हालसम्म १ सय १८ जनालाई कारवाही गरिएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार कारवाही पर्नेमा प्रहरी उपरीक्षक २ जना, प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ५ जना, प्रहरी नायब निरीक्षक १० जना, प्रहरी सहायक निरीक्षक ९ जना, प्रहरी हवल्दार २४ जना, प्रहरी जवान ६२ जना र प्रकास १ गरेर १ सय १८ जना कारबाहीमा परेका छन् । 

प्रहरी आचरण तथा विभागिय निति निर्देशन विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको डीआईजी धानुकले बताए । जसमध्ये २ जना प्रहरी उपरीक्षकसहित २८ जनालाई सचेत गराइएको, प्रहरी नायब उपरीक्षक १ जनासहित ६१ जनालाई नसिहद दिइएको, चालचलन सम्वन्धि प्रतिकुल राल १ जना, ग्रेड रोक्का २ जना, सुरु स्केलमा घटुवा ३, पदोन्ती रोक्का ३ जना, जागिरबाट हटाइएका ५ जना र ५ जना निलम्वन गरी कारवाही गरिएको छ ।

प्रहरीको काम कारवाही उपर गुनासो/उजुरी कारवाही
त्यस्तै वैशाखदेखि हालसम्म प्रदेश ५ अन्तर्गतका प्रत्यक्ष सर्वसाधारणहरुलाई सेवा प्रदान गर्नेक्रममा प्रहरीको काम कारवाही उपर गुनासो तथा उजुरी लिइ कारवाही समेत गरिएको छ । 

सर्वसाधारणहरुलाई सेवा प्रदान गर्ने प्रहरी कार्यालय र कार्यरत प्रहरी कर्मचारीहरुबाट भइरहेका कामप्रति असन्तुष्टि भइ २७ वटा गुनासो÷उजुरी प्राप्त भएको एसएसपी वैदवारले जानकारी दिए । 

प्राप्त उजुरी उपर छानविन हुँदा दोषी देखिएका प्रहरी कर्मचारी २ जनालाई सख्त चेतावानी दिनुका साथै ४ जनालाई जिम्मेवारीवाट हटाइएको प्रदेश प्रहरीले बताएको छ । 

यसैगरी नेपाल प्रहरीको कार्ययोजना २०७७ र ५ नम्बर प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना अनुसार आ.ब. २०७७÷७८ को कार्यान्वयनका क्रममा विभिन्न उपलब्धिहरु हासिल पनि गरेको छ । 

प्रदेश प्रहरीले सार्वजनिक गरेको मुख्य उपलब्धीहरुमा अदालती प्रकृयामा भिडियो कन्फेरेन्स पद्धतिलाई अवलम्वन गर्ने सन्दर्भमा मातहत मुद्धा चल्ने इकाइहरुबाट भिडियो कन्फेरेन्सबाट म्याद थप प्रक्रिया सुरु गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप