मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जिम्बाबेका लेखक पनि बुकर पुरस्कारको सूचीमा

शुक्रबार, ०२ असोज २०७७, २३ : ०८
शुक्रबार, ०२ असोज २०७७

लन्डन । उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको ६ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ ।  सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत परेकी लेखक चिची दाङ्गारेम्गाको उपन्यास “दिस मर्नेवल बडी” उत्कृष्ट ६ मा छनौट भएको हो । यस उपन्यासमा मुख्य पात्रको असफलता र उत्तर-औपनिवेशिककालीन जिम्बाबेको उथलपुथललाई समेटिएको छ । यस विधातर्फ विजयी हुनेले ६४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 

जिम्बाबेका निकै प्रतिष्ठित लेखक दाङ्गारेम्गा गत जुलाईमा पक्राउ परेर एक रात जेलमा बिताएकी थिइन्। राजधानी हरारेको मुख्य सडकमा एउटा प्लाकार्ड बोकेर उभिएको आरोपमा उनी पक्राउ परेका थिइन्, जसमा लेखिएको थियोः “हामी अझ राम्रो होस् भन्ने चाहन्छौं । संविधानमा सुधार गरियोस् ।” 

बुकर पुरस्कारका लागि छनौटमा परेका लेखकहरुमा यस वर्ष बढी मात्रामा अमेरिकीहरु वा अमेरिकामा रहेबसेका व्यक्तिहरु रहेका छन् । इथियोपियामा जन्मेका माजा मेन्जिस्टको “दी स्याडो किङ”, डियान कूकको “दी न्यू वाइल्डरनेस”, अभनी दोशीको “बन्र्ट सुगर” र ब्रान्डोन टेलरको “रियल लाइफ” पनि बुकरको सूचीमा परेका छन् । 

बेलायतबाट भने एक मात्र छनौटमा परेको छः डग्लस स्टुआर्टको उपन्यास “शग्गी बेन” । स्टुआर्ट पनि अमेरिकामै बसोबास गर्छन् । उनी न्यूयोर्कमा बर्षौंदेखि रहेका छन् । विजयीको नाम आगामी नोभेम्बर १७ मा घोषणा गरिनेछ । सन् १९६९ मा स्थापना गरिएको यस पुरस्कारका लागि विश्वभरका अंग्रेजी भाषामा प्रकाशित पुस्तकहरु र लेखकहरुले प्रतिस्पर्धा गर्न पाउँछन् । तर सन् २०१४ सम्म बेलायती, आइरिस र कमनवेल्थ मुलुकका नागरिकले मात्र सहभागी हुन पाउँथे । 

यस वर्षको छनौटले यो पुरस्कारमा अमेरिकी लेखकहरु हाबी हुने सम्भावना बढाएको छ । विगतमा यस्तो भएको थिएन । यसअघि अमेरिकी लेखकहरुमध्ये सन् २०१६ मा पल बेटीको “दी सेलआउट” र सन् २०१७ मा जर्ज साउन्डर्सको “लिन्कन इन दी बार्डो” पुरस्कृत भएका थिए ।

पुरस्कार छनौट समितिकी निर्देशक ग्याबी ऊडले सूचीमा बेलायती उपन्यासकारहरु नपरेकामा आफूलाई दुःख नलागेको बताइन् । उनले पाठकहरुले लेखक कुन देशको हो भनेर हेर्न छाडिसकेको बताइन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप