बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेल्सन मण्डेलाका वकिलको निधनमा दक्षिण अफ्रिकामा शोक

शुक्रबार, ०२ असोज २०७७, २२ : ५०
शुक्रबार, ०२ असोज २०७७

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकिल एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उनको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको छ । बिजोसको ९२ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो । गोरा जातिका भए पनि रंगभेदका विरुद्धमा उनले लामो संघर्ष गरेका थिए ।

सन् १९६४ मा नेल्सन मण्डेलालाई मृत्युदण्ड दिने वा नदिने भन्ने अदालतमा भएको बहसमा बिजोसले बहस गरेका थिए । बिजोसले मण्डेलाका लागि दशकौंसम्म निजी वकिलका रुपमा कार्य गरेका थिए । दक्षिण अफ्रिकाका पूर्व उपप्रधानन्यायाधीश डिकसाङ मोसेनिकेले भने, “मण्डेलाका कालरात्रिका दिनहरुमा बिजोसले ओलिभर टाम्बो र अन्य वरिष्ट नेताहरुका लागि विश्वासिलो राजनीतिक कुटनीतिज्ञका रुपमा सेवा गर्नु भएको थियो ।”

बिजोसले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दक्षिण अफ्रिकामा दशकौंसम्म श्वेतहरुले अश्वेत जातिमाथि दासताको व्यवहार र शासन गरेका थिए । सन् १९९४ मा रंगभेद अन्त्य भएपछि बिजोसले दक्षिण अफ्रिकी सत्य तथा मेलमिलाप आयोगमा रहेर देशको सेवा गरेका थिए । 

उनले आयोगमा रंगभेदी अपराधका कारण पीडित भएकाहरुका परिवारको प्रतिनिधित्व गर्दै उनीहरुको अधिकार स्थापना गर्नमा योगदान गरेका थिए ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिजोसले कानुन व्यवसायका क्षेत्रमा निष्कलंक एवं महान छवि बनाउन सफल हुनुभएको बताउँदै बिजोसले आजीवन न्यायप्रतिको प्रतिबद्धतालाई उच्च सम्मानका साथ प्रदर्शन गरेको बताए ।

‘ग्रीसमा नाजीलाई विजय प्राप्त गरेसँगै बिजोस १३ वर्षका हुँदा दक्षिण अफ्रिका पुगेका थिए । परिणामस्वरुप, बिजोसमा देश छाड्दा र दोस्रो दर्जाको नागरिक हुँदाका पीडाबोध थिए’ राष्ट्रपति रामाफोसाले भने । मण्डेला कारागारमा रहँदा बिजोसले मण्डेलाको परिवारको हेरचाह गर्नुका साथै सन् १९९० मा मण्डेलाको रिहाईमा सरकारसँगको वार्तामा मुख्य भूमिका निर्वाह गरेका थिए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप