केन्द्रीय संस्करण

बेलायतको एयरपोर्टमा नेपालीहरुलाई थप सहज

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

लन्डन । विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्किंदा अनिवार्य गरिएको पीसीआर रिपोर्टका कारण बेलायतको एयरपोर्टमा भोग्नुपर्ने सास्तीको अन्त भएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) द्वारा प्राप्त पीसीआर रिपोर्टलाई  कतार तथा टर्किस एअरलाइन्सले मान्यता दिने नेपाली दूतावास लन्डनले जानकारी दिएको छ ।  प्रवक्ता रोशन खनालले दिएको जानकारी अनुसार दूतावासले नेपाल परराष्ट्रमार्फत ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) र दुबै एयरवेजलाई पत्राचार गरेर समस्याको सम्बोधन गरिएको बताएकी छन्  ।

बेलायतमा परीक्षण गरिएको पीसीआर रिपोर्टलाई कतार र टर्किस एयर्लाइन्सले मान्यता दिने भएपछि बेलायतबाट नेपाल फर्किने यात्रुहरुलाई थप राहत मिलेको छ । आगामी सेप्टेम्बर २५ मा कतार एयरलाइन्सबाट नेपाल जान लागेका बाबा आमा तथा सासुआमा लगायतको पीसीआर रिपोर्टका कारण चिन्तित बनेकी लन्डनको ह्यार्रोमा बस्दै आएकी सरस्वती केसी अहिले ढुक्क भएकी छन् । कुन तरिकाले  पठाउने भनेर निकै चिन्तित थियौं, कतार तथा टर्किस एयर्लाइन्सले एनएचएसको पीसीआर रिपोर्टलाई मान्यता दिने भएछ, निकै खुसी लाग्यो’ केसीले भनिन् । यसबाट आफुजस्ता अन्य धेरै नेपालीहरु लाभान्वित हुने उनले बताइन् ।

यसअघि पीसीआर रिपोर्टकै कारण बेलायतबाट नेपाल फर्किने यात्रुहरुले निकै सास्ती खेप्दै आएका थिए । ६ महिनादेखि अलपत्र भएर महँगो भाडा दरमा टिकट काटेर एयरपोर्ट पुगेका दर्जनौं यात्रुहरु नेपाल सरकारको स्पष्ट नीति नभएका कारण  निराश भएर फर्किन बाध्य भएका थिए । नेपाल सरकारद्वारा  एयरलाइन्सलाई उपलब्ध गराइएको नेपालकै एक ल्याबको पीसीआर रिपोर्टको निश्चित ढाँचालाई मात्र मान्यता दिने अडान एयरलाइन्सले लिँदै आएका कारण यात्रुहरु मारमा परेका हुन् । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)द्वारा परीक्षण गरिएको रिपोर्टलाई नेपाल सरकारको मापदण्डअनुसार नभएको भन्दै एयर्लाइन्सले अस्वीकार गर्दै आएका थिए ।

नेपाली दूतावास लन्डनले बुधबार एक सूचना अजारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल जाने सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपालीहरुले यात्रा गर्दा अनिवार्य रुपमा ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट लिई यात्रा गर्न अनुरोध गरेको छ । यसैगरी गैरआवासीय नेपालीहरुले नेपाल जानूपूर्व राजदूतावासबाट अनिवार्य रुपमा भिसा तथा सिफारिस पत्र लिएर मात्र यात्रा गर्न पाइने जनाउँदै नेपाल जाने हवाई टिकट र पीसीआर रिपोर्ट प्राप्त भैसकेपछि उडानको ४८ घण्टाभित्र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को वेबसाइट  www.ccmc.gov.np को अनलाइन फारम भरी त्यसको सिस्टम जेनेरेटेड कोडको स्क्रिनशट वा प्रिन्ट गरि १ प्रति साथमा लैजान सूचित गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.