शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीसीआर परीक्षण उपलब्ध नभएको ठाउँमा विकल्प हुनसक्छ एन्टिजेन किट (भिडियो)

शुक्रबार, ०२ असोज २०७७, १८ : १४
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । अहिले देशभरी नै कोरोना संक्रमण फैलिएको छ । पीसीआर विधिबाट मात्र परीक्षण गर्ने अवस्था छैन । पीसीआर विधिबाट परीक्षणका लागि अत्याधुनिक ल्यावको आवश्यकता पर्छ भने जनशक्ति पनि धेरै लाग्छ । ल्यावमा पीसीआर मेसिनका साथै रेफ्रिजेरेटर, एक्स्ट्रयाक्टर मेसिन लगायतका अन्य प्राविधिक सामग्रीको आवश्यकता पर्दछ । पीसिआर प्रविधिबाट परीक्षण गर्नका लागि लाग्ने समय, जनशक्ति र खर्चको तुलनामा  एन्टिजेन किटको माध्यमबाट कोरोना परीक्षण गर्दा तुलनात्मक रुपमा सस्तो पर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । 

जनस्वास्थ्यविद् समिरमणी दीक्षित एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा निकाल्न सकिने बताउँछन्, त्यो समयभित्र पिसिआरले सक्दैन । उनले भने–‘पहिले आएको आरडिटी गलत ठाउँमा प्रयोग भयो र विवादित भयो । अहिले आउन लागेको चाही एन्टी जोन हो । यो भनेको भाइरसको सतहमा बस्ने प्रोटिनलाई पहिचान गर्ने प्रविधि हो । एउटा एन्टीबोडी हुन्छ, अर्को एन्टी जोन हुन्छ । पिसिआरले भाइरस भित्रको धागो पहिचान गर्छ भने यसले चाही भाइरसको सतहमा रहेको खोलमा भएका प्रोटिनहरुलाई पहिचान गर्छ ।’

पिसिआरले भाइरसको आरएन ए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ । यसले भाइरस छ भने प्रोटिन छ, भाइरस छैन भने प्रोटिन छैन भन्ने कुरा पत्ता लगाउँछ ।  अहिले अमेरिका र भारतमा यसको ब्यापक प्रयोग भएपनि पिसिआर जति व्यापकता नपाएको डा.दीक्षितले बताए । 

उनले भने–‘प्रश्न गर्ने केही ठाउँहरु पनि छन् । यो नयाँ हो । यस प्रविधिमा पनि पिसिआरमा जस्तै केही राम्रा किट पनि छन् केही नराम्रा किट पनि छन् । राम्रो किट पिसिआर जतिकै शक्तिशाली पनि छ । नेपालको लागि अहिले यो राम्रो विकल्प हुन सक्छ किनभने छिटो, छरितो र भरपर्दो हुनसक्छ यो ।’ 

यो विधिले संसारभर मान्यता प्राप्त गरिसकेको, अमेरिका, दक्षिण कोरिया, जापान, भारत लगायतका देशहरुमा प्रयोग भइरहेको औषधी जन्य उपकरणका जानकार सविन श्रेष्ठ बताउँछन् ।  पीसिआर परीक्षणका लागि एउटा छुट्टै ल्यावको आवश्यकता पर्छ । साथै सोही अनुसारको प्रविधि तथा जनशक्तिको आवश्यकता पर्छ । तर एन्टी जेन किटको माध्यमबाट एकैजनाले स्वाव संकलन गरेर किटमा राखी परीक्षण गर्न सकिन्छ । तर पिसिआर परीक्षणमा भन्दा यस प्रविधिमा कम विश्वसनियता हुने भएपनि यसले सही ढंगले नजिता निकाल्न सहयोग गर्ने श्रेष्ठ बताउँछन् । 

पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा ल्याव निर्माणका लागि ७० लाखदेखि १ करोड हाराहारीसम्म पर्ने हुन्छ तर यो विधिबाट परीक्षण गर्दा ल्यावको आवश्यकता नपर्ने भएकोले कम खर्चमै नतिजा निकाल्न सकिन्छ ।  यसको लागत पनि कम पर्न जान्छ । यसको किट अन्तर्राष्ट्रिय बजारमा ४ डलरदेखि ८ डलरसम्म पर्न जाने हुन्छ । धेरै मात्रामा लिने हो भने कम मूल्यमा पनि लिन सकिन्छ । पीसिआर भन्दा आधा कम मूल्यमा कोरोना परीक्षण गर्न सकिने श्रेष्ठ बताउँछन् । 

यो विधिबाट एक परीक्षणमा १२ सयदेखि १७ रुपैयाँसम्म लाग्छ । यसका लागि सरकारले निश्चित मूल्य तोकेर जान सक्ने उनी बताउँछन् ।  कोरोना संक्रमण बढिरहेको अहिलेको अवस्थामा कन्ट्रयाक ट्रेसिङ सम्भव नभएकोले यो विधि प्रयोग गरेर जान सकिने जनस्वास्थ्यविद्को मत छ ।  ठूलो समूहमा, बस्ती बस्तीमा पुगेर पिसिआर कन्ट्रयाक ट्रेसिङ गर्न सम्भव नभएकोले यो विधिबाट देशका जुनसुकै स्थानमा पुगेर पनि परीक्षण गर्न सकिन्छ । 

एकै जनाले स्वाव संकलन र परीक्षण गर्न सक्ने भएकोले सिमित जनशक्तिले ठूलो क्षेत्रमा परीक्षण गर्न सकिने भएकोले नेपालको अहिलेको सन्र्दभमा उपयोगी हुनसक्ने श्रेष्ठले बताए ।  अहिले नेपालमा दैनिक १० हजार पीसिआर परिक्षणको क्षमता भएको र ंसंक्रमणदर बढिरहेको अवस्थामा पिसिआरको पहुँच नभएको क्षेत्रमा एन्टी जेन किटबाट परिक्षण गरेर त्यसमा पोजिटिभ रिपोर्ट आएमात्र पिसिआर विधि प्रयोग गर्न सकिने उनको भनाई छ । 

उनले भने– ‘पीसिआरबाट परीक्षणका लागि धेरै समय लाग्ने, स्वाव संकलनदेखि नतिजा निकाल्ने चरणसम्म त्रुटी हुन सक्ने सम्भावना र ठूलो समूहमा लैजान गाह्रो पर्ने पर्ने अवस्थामा यो किट भरपर्दो हुने विश्वास लिइएको छ ।’

एन्टिजेन एउटा विकल्प को रुपमा आएको छ: जनस्वास्थ्यविद् डा.समिरमणी दीक्षित

एन्टिजेन किट कोभिड परीक्षणका लागि एउटा विकल्पको रुपमा अघि बढेको जनस्वास्थ्यविद् डा.दीक्षितको भनाई छ । पुरानो एन्टीबोडी र्यापिडभन्दा यो फरक रहेको उनले बताए ।  यो प्रविधिबाट भाइरसमा रहेको प्रोटिनको पहिचान गर्ने काम हुन्छ  । उनले भने–‘पिसिआरले भाइरस भित्रको धागो पहिचान गर्छ भने यसले चाही भाइरसको सतहमा रहेको खोलमा भएका प्रोटिनहरुलाई पहिचान गर्छ । पीसीआरले भाइरसको आरएन ए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ ।’

९७ प्रतिशत  विश्वसनियता  
डा.दीक्षितका अनुसार कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण रहेको अमेरिका र भारतले यतिबेला एन्टिजेन किटबाट परिक्षण गर्ने बिधिलाई बढी प्रयोग गरिरहेका छन् । यो विधिबाट संक्रमितलाई संक्रमित हो भनेर पहिचान गर्ने ९७ प्रतिशतसम्म विश्वसनियता हुने उनले बताए ।  उनले भने– ‘१ सय जना पोजिटिभ केश रहेकोमा ९७ जनालाई यसले पत्ता लगाउन सक्छ, ३ जना चाहि छुट्न सक्छ तर नेगेटिभलाई भने नेगेटिभ भन्ने सम्भावना चाही शतप्रतिशत छ । पोजिटिभ केशमा परीक्षण गर्दा ३ प्रतिशत शंका गर्ने ठाउँ छ ।’ 

अहिले पिसिआर महंगो भएको र आम नागरिकमा पुग्न नसकेको अवस्था छ । परीक्षण एकपटक मात्र गरेर नपुग्ने र शंका लाग्नासाथ आज गरेर फेरि एक हप्तामा गर्नुपर्ने हुनसक्छ । समय पनि लाग्ने, पैसा पनि लाग्ने हुन्छ । पिसिआरको नतिजा निकाल्न प्राइभेट अस्पतालबाट पनि छ–सात घण्टा लाग्न सक्छ । कुनै–कुनै सरकारी अस्पतालले त २ हप्ता लगाएका उदाहरण पनि छन् । 

पैसाका लागि खडा गरिएका ल्यावहरुमा हुने परीक्षणमा पनि शंका गर्ने ठाउँहरु आउन लागेको छ । पिसिआरलाई विश्वसनीय बनाउने हो भने राज्यले कडाईका साथ अनुगमन गर्नसके पिसिआरको अर्को विकल्प छैन । एन्टीजेन पनि पिसिआरको तुलनामा बराबर हाराहारी नभएपनि नेपालको सन्र्दभमा पिसिआरको राम्रोसँग अनुगमन नगर्ने हो भने यो राम्रो विकल्प हुन सक्ने जनस्वास्थ्यविद् डा. दीक्षित बताउँछन् । 

उनले भने–‘यो विधिबाट आएको पोजिटिभ रिपोर्टलाई पिसिआरबाट पुष्टि गर्नैपर्ने हुन्छ । नेगेटिभ रिर्पोट आएकोमा त पुन परीक्षणको आवश्यकता पर्दैन । अब पिसिआरले मात्र नधान्ने भएकोले आगामी दिनको एउटा विकल्पको रुपमा एन्टिजेन आएको छ । यसबाट शंका लागेकाहरुलाई फटाफट जाँच गर्न पाइयो । हरेक दिन पनि परीक्षण गर्न सकिन्छ ।’

जापानबाट कपिलदेव थापाको ५० हजार थान किटको पहल 
जापान निवासी एनआरएनए तथा सामाजिक अभियन्ता कपिलदेव थापाले जापानको प्रतिष्ठित कम्पनी फुजिरेबायो संस्थासँग पहल गर्दै नेपालमा ५० हजार एन्टीजेन किट नेपाल पठाउने तयारी गरेका छन् ।  पहिलो चरणमा ७ हजार थान किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थापाले रातोपाटीलाई जानकारी दिए । 

फुजिरेबायो कम्पनीका अध्यक्ष गोकि इसिकावा र नेपालका तर्फबाट कपिलदेव थापाबीच नेपाललाई ५० हजार थान किट्स सहयोग गर्ने पत्रमा हस्ताक्षर समेत भएको छ ।  पहिलो चरणको सो सामाग्री  ग्लोबल नेपाल ट्रेडिङका अध्यक्ष  प्रशान्त राणासहित अन्जना शाह र जगदीशचन्द्र केसीले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको उनले बताए । 

जापानबाट ल्याइएको किटले ९२ देखि ९३ प्रतिशतलाई पोजिटिभ पुष्टि गर्न सक्ने र नेगेटिभ पुष्टि गर्ने ९८ प्रतिशत हाराहारी रहेको डा.दीक्षितले बताए । उनले सरकारले यसको नजिताको मूल्याङ्कन गरेकोर पिसिआरको तुलनामा राम्रो नतिजा आइरहेको छ भन्ने बुझिाएको उल्लेख गरे । 

जापानबाट कोरोना परिक्षणका लागि एन्टी जेन किट सहयोगको पहल गर्ने थापाका अनुसार यो किट बनाउने फुजिरेबायो जापानको एउटा नेतृत्वदायी कम्पनी रहेको र सो कम्पनीले ५० बर्षदेखि रोबुस्ट सामाग्री उत्पादन तथा गुणस्तरीय आइभिडी निर्माण तथा परीक्षण गराउँदै आएको बताएका छन् । 

कोरोना संक्रमण भए वा नभएको बारेमा तुरुन्तै थाहा पाइने, पीसीआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने, देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने, चेकपोष्ट, भन्सार एयरपोर्ट लगायतका  कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने भएकोले अहिले यो किटको प्रयोगबारे चर्चा सुरु भएको छ । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप