केन्द्रीय संस्करण

अधिकमास अर्थात् मलमाससम्बन्धी मान्यता

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

दिन, सप्ताह, महिना र वर्षको गणना सूर्यको गति र चन्द्रमाको गतिका आधारमा गरिन्छ । यसैलाई शब्दान्तरमा सूर्यमान र चन्द्रमान भनिन्छ ।
सूर्यमान अनुसारको एक वर्ष ३६५ दिन र पुगनपुग ६ घण्टाको हुन्छ । सूर्यमानको गणना प्रत्येक वर्षको वैशाख महिनाको १ गते, जुन दिनबाट सूर्य मेष राशिमा जाने र क्रमशः प्रत्येक महिना सूर्यले राशि परिवर्तन गरी बाह्र राशि परिक्रमा गर्ने पद्धति नै सूर्यमान हो ।

चन्द्रमान भनेको तिथि र राशिअनुसार गरिने वार्षिक गणना हो । चन्द्रमानको गणनाको थालनी चैत्रशुक्ल प्रतिपदाबाट हुन्छ । चन्द्रमानको एक वर्षमा जम्मा ३५४ दिन हुन्छ । एक वर्षमा सूर्यमान अनुसारको गणना र चन्द्रमान अनुसारका गणनाका बीचमा ११ दिन र ६ घण्टाको अन्तर हुन्छ । प्रत्येक बत्तीस महिना १६ दिन र चार घडीका बीचमा हुने सूर्यमान र चन्द्रमान मिलनको परिगणना नै अधिक मास हो ।

यस प्रकारले चन्द्र सूर्य गति अनुसारको गणनामा एक वर्ष हुन्छ । त्यस्तै चन्द्र सूर्यका गतिका आधार बाहेक पनि नेपालमा एक वर्ष गणना गर्ने केही अरू प्रक्रिया पनि छन् । नेपालमा अर्काे प्रचलित वर्ष प्रक्रिया शृङ्खला वर्ष वा सावन मास प्रक्रिया पनि छ । जसलाई तोकिएको गते, महिना र एउटा निश्चित दिन तोकेर गणना गरिन्छ । यसको अर्काे नाम व्यावहारिक वर्ष गमागम वर्ष पनि हो । जस्तो लेनदेनमा एक महिनामा दिने भन्यो भने लिएको महिनाको जुन गतेबाट लिएको हो, आगामी महिना वा वर्षको त्यही गते मानिन्छ । उदाहरणका लागि वैशाख १५ बाट जेठ १५ गते भन्नेलाई लिन सकिन्छ । यो वार्षिक गणना अझै पनि गाउँघरमा भाकाका नामले परिचित छ । खासगरी माघेसङ्क्रान्ति, श्रीपञ्चमीका रूपमा त्यस्तो लेनदेनको फरफारक गर्ने चलन छ । त्यस्तै १५ गते गएपछि १५ गते नै आउने जस्ता परिगणना नै शृङ्खलाबद्ध वार्षिक परिगणना हो, यसैलाई सावनमास परिगणना समेत भनिन्छ ।

अर्काे वार्षिक गणना नक्षेत्रपरक हुन्छ । त्यसको नाम नक्षेत्र मास हो । यसमा अश्विनी नक्षेत्रबाट रेवती नक्षेत्रसम्मको २७ दिनको महिना हुन्छ । गर्भधारणलाई दशमास मान्ने कारण नक्षेत्रमास वर्षको परिगणना अनुसारको हो । २७ दिनलाई १० ले गुणन गर्दा २७० दिन हुन्छ । २७०÷८० दिनका बीचमा अर्थात् ३८ र ३९ सातामा प्रसव भएन भने चिकित्सकले असामान्य अवस्थाको परिकल्पना गरी अन्य उपायको खोजी गर्ने गरेको सर्वविदितै छ । त्यसमा नक्षेत्रअनुसारको गणना हुने भएकाले तीन सय दिन नभए पनि १० महिना पेटमा राखेर हुर्काइको छोराछोरी भनिएको हो ।
कुनै वर्ष बृहस्पति १३ महिनासम्म एकै राशिमा बस्ने गर्दछ । त्यस्तो भएको वर्षलाई बार्हस्पत्य वर्ष भनिन्छ ।
नेपाल संवत् अनुसारको मासिक गणनालाई पक्षका आधारमा चौलाथ्वदेखि चौलागासम्म गणना गरेको भेटिन्छ ।

नेपालमा बसोबास गर्ने मङ्गोलियन समुदायको वर्ष गणना भने भेडा, सिंह आदिका ‘ल्हो’का आधारमा नामकरण गरी वार्षिक गणना गर्ने गरेको भेटिन्छ । ‘ल्हो’ जम्मा बाह्रवटा हुन्छन् । जुन एउटा ल्होसार वा लोछारबाट सुरु हुन्छ र १२ वर्षपछि पुनः त्यही ‘ल्हो’ दोहोरिन्छ ।

यसबाहेक इस्वी सन्को प्रक्रियाअनुसार पनि वर्ष गणना गर्ने चलन छ । त्यसमा प्रत्येक चार वर्षमा एक दिन बढेर फेबु्रअरी महिना २९ दिनको हुन्छ र वर्ष ३६६ दिनको हुन्छ । त्यस्तो वर्षलाई ‘लिप इयर’ भनिन्छ । 
यसप्रकारले नेपालमा धेरै प्रकारका वार्षिक गणना प्रक्रिया भेटिन्छन् तापनि सूर्यमान चन्द्रमानको गति अनुसारको गणना पद्धतिको अन्तर नै अधिकमास हो । त्यसैले सूर्य चन्द्र गतिका आधारमा हुने अन्तर र त्यसको समायोजन नै अधिकमास हो ।

द्वात्रिंशद्भिर्गतै मासैर्दिनैः षोडषभिस्तथा
घटिकानां चतुष्केण पतत्यधिमासकः

यसले बत्तीस महिना, सोह्र दिन र चार घडीमा अधिकमास आउने कुरा प्रष्ट पारेको छ । अर्काेतर्फ सूर्यले गर्ने राशि सङ्क्रमण नै सङ्क्रान्ति हो । यदि सूर्यले तिथिअनुसार कुनै पनि महिनाको १ गते राशि सङ्क्रमण गरेन भने त्यो सङ्क्रान्ति हुँदैन । सङ्क्रान्ति हुन सूर्यले राशी सङ्क्रमण गरेकै हुनु पर्दछ ।

असङ्क्रान्तिमासोकधिकमास स्फुटं स्यात्
द्विसङ्क्रान्तिमासः क्षययस्यादिकादयिते

जुन महिनामा सूर्यले राशि सङ्क्रमण गर्दैन त्यो महिना अधिकमास हुन्छ, जुन महिनामा सूर्यले दुई राशि सङ्क्रमण गर्दछ, त्यो महिना क्षयमास हुन्छ ।

क्षयाय कार्तकादित्रये नान्यतस् स्यात्
तदावर्षमध्याधिकमासं द्वयं स्यात्

यसरी क्षयमास कात्तिक, मङ्सिर र पुष महिनामा मात्र पर्ने र क्षयमास परेको संवत्सरमा दुईवटा अधिकमास पर्ने गर्दछ । विक्रमको यो शताब्दीमा २०२० र २०३९ सालमा क्षयमास थियो भने आगामी २०८५ सालमा पनि क्षयमास पर्दछ । यस प्रकारले अधिकमास र क्षयमासको अन्तरसम्बन्ध रहेको हुन्छ ।

अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ । भगवान् विष्णुका अनेक अवतारमध्ये पुरुषावतारको आराधना गरिने भएकाले यो पुरुषोत्तममास भनिएको हो । यसमा सूर्यको गतिमलीन हुने भएकाले यसलाई मलमास भनिएको हो । मलमास भएको संवत्सरको बाह्रौँ महिनाको उत्तराद्र्धको १५ दिन कृष्णपक्ष पर्छ र आगामी महिनाको पूर्वाद्र्धको १५ दिन गत महिनाको शुक्लपक्ष पर्दछ । यसलाई पनि यदाकदा मलमास नै भनिन्छ ।

अधिकमास भएको महिनाको प्रारम्भ कृष्णपक्षबाट नभई शुक्लपक्षबाट हुन्छ । यो वर्ष अधिकमास भएकाले आश्विन कृष्ण प्रतिपदाबाट अर्थात भदौ १७ गतेबाट आश्विनकृष्ण पक्षको थालनी भई कात्तिक १ गतेसम्मको १५ दिन आश्विनकृष्ण पक्ष भयो र कात्तिक २ गतेदेखि १५ गतेसम्मको समय आश्विन शुक्लपक्ष भई बीचमा रहेको असोज २ गतेबाट असोज मसान्तसम्मका दिनहरु अधिकमासमा परिणत भई यसरी दुई महिनाका बीचका शुक्लपक्ष र कृष्णपक्ष दुवै अधिकमास बने ।

अधिकमासलाई पुरुषोत्तममास पनि भनिने हुनाले यस समयमा गरिने पौराणिक पद्धतिलाई पुरुषोत्तम माहात्म्य भनिन्छ । यो विष्णु पुराणको महात्म्य हो, जो तीन दिनमा पूरा हुन्छ । यसैलाई नेपालका ग्रामीण क्षेत्रमा मलमासी पुराण पनि भनिन्छ । नामकरण बाहेकका बाँकी सबै संस्कार कर्म र पितृकर्म अधिकमासमा गरिँदैन ।

अधिकमासको शुक्लपक्षको एकादशि पद्मिनी एकादशि हो भने कृष्णपक्षको एकादशी परमा एकादशी हो । यी दुवै एकादशी व्रत, पूजा, पाठ र दानका निमित्त सर्वाेत्तम तिथि हुन् । यी दुवै एकादशीमा गरिने विष्णु भगवानको आराधनाबाट पुनर्जन्म र मृत्युको सम्भावना रहम्दैन भन्ने कुरा पौरस्त्य मान्यताले देखाएको छ । यिनै परिधिभित्र नै अधिकमासका यावत् पक्षहरु परिलक्षित भएका भेटिन्छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.