शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्मती प्रदेशको २८ स्थानीय तहमा प्रहरीबारे ‘गुनासो पेटिका’

शुक्रबार, ०२ असोज २०७७, १५ : ४२
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीबाट पनि प्रहरीले आफ्नो काम कारबाहीबारे गुनासो र सुझाव लिन थालेको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानिय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजुरी समेत संकलन शुरु गरेको हो । 

बागमती प्रदेशका २८ स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर उजुरी संकलन शुरु गरिएको बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सुदिप गिरीले रातोपाटीलाई बताए । बाग्मती प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतका १० जिल्लाका स्थानिय तहमा गुनासो पेटिका राखेको छ । 

बिहिबार हेटौंडा उप–महानगरपालीकाका नगरप्रमुख हरिबहादुर महतले उप-महानगरपालिकामा राखिएको गुनासो पेटिकाको चाबी बाग्मती प्रदेशका डिआईजी वसन्तकुमार लामालाई हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरे । 
प्रहरी कार्यालयमा वर्षौदेखी गुनासो पेटिका राखेपनि प्रहरीका गलत कामको उजुरी त्यहाँ नपर्ने हुनाले स्थानीय निकायमा गुनासो पेटिका राखिएको प्रहरी बरिष्ठ उपरिक्षक गिरीले बताए । उनले भने– ‘प्रहरी कर्मचारीले गर्ने गलत कामको गुनासो, सुझाव तथा सुचना संकलन गर्ने उद्धेश्यले स्थानीय तहमा गुनासो पेटिका राखेका हौ ।’ 

पहिलो चरणमा भरतपुर महानगर र हेटैंडा उप–महानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाँउपालिकामा गुनासो पेटिका राखिएको छ । दोस्रो चरणमा ७० वटा गाउँपालिका र तेस्रो चरणमा ८७४ वडा कार्यालयमा समेत गुनासो तथा सुझाव संकलन पेटिका राखिने प्रदेश प्रहरी कार्यालयको योजना छ । 

प्रत्येक महिनाको १ गते जनप्रतिनिधि र स्थानीय प्रहरीले सो गुनासो पेटिका सिलबन्दी गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्छ । गुनासो उपर छानविन र कारवाही गर्ने अधिकार प्रदेश प्रहरी कार्यालयलाई मात्र हुने बाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप