बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रम ओलीमा अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल छ : डा. भट्टराई

शुक्रबार, ०२ असोज २०७७, १४ : १४
शुक्रबार, ०२ असोज २०७७

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेलले कोरोनभाइरस महामारीको गम्भीरतालाई बुझ्न नसकेको आरोप लगाएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जीव विज्ञान र भौतिक विज्ञानको खास नियम बुझेर त्यस अनुरुपको नीति बनाउनुपर्नेमा सरकार त्यसमा सरकार चुकेको बताएका हुन् ।

‘कोरोनाभाइरसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले सुरुदेखि नीति अपनाउनुपथ्र्यो । तर दुर्भाथ्य हाम्रो राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल म देख्छु त्यसले गर्दा उहाँले यसको गम्भिरतालाई बुझ्न सक्नुभएको छैन,’ उनले भने, ‘उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ । त्यो कारणले गर्दा सुरु देखि नै ठिक नीति बनेन । यो केही पनि होइन हाच्छिुउँ गरेर जान्छ भन्ने ढङ्गले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नुपनि आवश्यक छैन मैले केहीपनि नगर्नु स्वभाविक हो मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो । जबकी त्यस्तै अमुर्ख शासकहरुले विभिन्न अरु देशमा पनि गरिराखेका छन् ।’

डा. भट्टराईले अरुको देखासिकी गरेर बन्दाबन्दी गर्ने काम भएको पनि जिकिर गरे । ‘लकडाउन भनेको त समाधान होइन, त्यो त तयारीको निम्ति थियो वास्तवमा जनतालाई सतर्क बनाउने र राज्यले त्यो किसिमको आवश्यक तयारी गर्ने जस्तै परीक्षणका तयारी, कन्ट्याक्ट ट्रेसिङका तयारी, र सुरक्षित ढंगले चिकित्सा क्षेत्रमा कार्य गर्ने मान्छेहरुको तयारी गर्ने कुरा, क्वारेन्टाइन र आइसोलेसनको उचित व्यवस्थापन गर्ने कुराहरु र स्वास्थ्य सम्बन्धी उपकरणहरुको व्यवस्था गर्ने कुराहरु र संघ, प्रदेश र स्थानीय तहहरुमा उचित कार्य विभाजन गरेर त्यसको व्यापक तयारी गर्ने जुन विषय हुनुपथ्र्यो,’ उनले भने,  ‘सँगसँगै ठूलो जनसंख्या भारत र मध्यपूर्ण र मलेसिया तिर छन र उनीहरु पनि त्यहाँबाट आउन सक्छन् र उनीहरु आउँदा रोगको र आर्थिक समस्या पर्नसक्छ भन्ने बुझेर योजना बनाउनु पथ्र्यो सरकारले योजना नै बनाएन ।’

डा. भट्टराईले क्रान्तिले देश विगारेको नभएर क्रान्ति अपुरो भएर विग्रेको बताए । क्रान्तिले संरचनात्मक जुन परिवर्तन ल्याउनु पर्ने हो र आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपथ्र्यो त्यो हाम्रो पुरा नभएको उनले बताए । त्यो कारणले गर्दा निजी क्षेत्रपनि, राजनीतिक दलहरुपनि र सरकार र विभिन्न अंगहरु सबै राज्यको दोहन गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने यो अहिलेको नेपाली समाजको अवस्था छ त्यसैलाई नै एउटा क्रोनी क्यापिटलिजम भन्ने पनि त्यसै अर्थमा भएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री बेठिक हुनुभएको छ, उहाँले गलत गरिराख्नुभएको भन्ने मान्छेलाई थाहा छ । तर मान्छे किन डराउँछ ? विपक्षि दल किन बोलिराखेको छैन ? र अरुदलहरु बाहिरका मान्छे कनि बोल्दैनन् ? ती पार्टी भित्र पनि असन्तुष्टि भएकाहरु किन बोलदैनन् ? भने राज्य सत्ताको अलिकति आड भएन भने टिक्नै गाह्रो, पार्टी चलाउन पनि गाह्रो, आफ्नो आर्थिक व्यवस्थापन गर्न पनि गाह्रो छ,’ उनले भने ।

उनले देशको अर्थतन्त्र गुजारामुखी अर्थतन्त्र भएको र गुजाराले मात्रै देश चल्न नसक्ने जिकिर गरे । त्यसैले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । ‘विश्वव्यापी र क्षेत्रिय अर्थतन्त्रको र भारतीय अर्थतन्त्रको हाम्रोमा असर पर्छ किन भने भारतीय अर्थतन्त्र नै २३÷२४ प्रतिशतले खुम्चिएको त्यो भन्दा बढी खुम्चिएको ठूला अर्थतन्त्र मध्ये भनिदै आइराखेको छ । यो सब कारणले गर्दा आगामी दिनमा हामी गम्भिर अवस्थामा पुग्छौँ,’ उनले भने ।

फरक प्रसंगमा यो संविधानमा कमिकमजोरीका बाबजुत पनि धेरै सरकारात्मक कुरा रहेको उनले बताए । तर यसको कार्यान्वयन गर्ने जिम्मा यो संविधानका आधारभुत अन्तरवस्तुहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेसिता त्यसको विरोधी मान्छेको हातमा नेतृत्व गएकोमा चिन्ता व्यक्त गरे ।

‘केपी शर्मा ओली भनेको झापा आन्दोलनको बेला देखि नै, माओवादी जनयुद्ध र शान्ति प्रक्रिया सबैको विपक्षमा उभिएको मान्छे हो । मूल एजेन्डा भन्दा फरक ढंगले उभिएको मान्छे हो,’ उनले भने, ‘तर प्रकारान्तरले क्षणिक राष्ट्रवादको नारा उहाँले लगाएर सत्तामा पुगिहाल्नुभयो । पार्टी ठूलो पनि भयो दुईतिहाईको झण्डै नजिक पनि रहयो भनेपछि यसलाई त अरु तरिकाले हटाउने ठाउँत छैन त्यही पार्टी भित्रैबाट नेतृत्व परिवर्तन गर्न यो भन्दा सुधारात्मक ढंगले परिवर्तन गर्न सक्नुपथ्र्यो । तर नेकपाले सकेन ।’

नेकपा अलिकति अन्तरविरोध चले पनि विविध कारणले गर्दा बाँडीचुडि गरेर खाने भन्ने तिर नै गइरहेको बताए । ‘त्यो कारणले गर्दाखेरी उहाँहरु फेरी केपी ओलीलाई नै आउँदो अढाई वर्ष नै दिने भन्ने निष्कर्षमा जुन पुग्नुभयो त्यसले गर्दा नेकपा भित्रैबाट अग्रगामि विकलप आउँछ कि भन्ने जुन सोच थियो त्यो आएन । त्यो नआउँदाखेरी मैले के देखिरहेको छु भने झन ठूलो विस्फोट तिर लान्छ कि भन्ने मलाई लागेको छ ।’

‘त्यहाँ कमसेकम माओवादी आन्दोलनको पृष्ठभूमि भएका मान्छेहरु अलिकति अग्रगामि प्रकृतिका सोच राख्ने मान्छे हुन्, ती पनि बाध्यताले खुम्चिएर त्यहाँ बसिराखेका छन् । एमाले भित्रको पनि एउटा तप्का केपी ओलीको चरम निरंकुश र सबै ढंगले कुशासनयुक्त जुन सत्ता छ त्यसबाट वितृष्णा भएको तप्कापनि त्यहाँ देखिन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसपनि लोकतान्त्रिक पार्टी हो त्यहाँ कुनै निश्चित हात त छैन सबै खालको प्रवृति त्यहाँ छन तर त्यस भित्रका पनि अलिकति अग्रगामि प्रकृतिको सोच राख्ने शक्तिहरु आवाज उठाउन थाल्छन् । तर अहिले विकल्प दिने जुन सम्भावना थियो त्यो नेकपाले गुमायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप