शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजारको सम्पत्ति अहिलेसम्मकै उच्च, चार कम्पनीका कारण नयाँ रेकर्ड

शुक्रबार, ०२ असोज २०७७, ११ : ३९
शुक्रबार, ०२ असोज २०७७

काठमाडौँ । नेपालको पुँजीबजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबारको अन्तिम कारोबारमा आधारित बजार पुँजीकरण पुँजीबजारको इतिहासमै सबैभन्दा धेरै कायम हुन सफल भएको हो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीको बजार पुँजीकरण २० खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत फागुन १५ गते बजार पुँजीकरण २० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो । करिब ६ महिनापछि यो रेकर्डले अर्को ऐतिहासिक बिन्दु भेट्न सफल भएको हो । जबकी अहिले बजार परिसूचक त्यो समयमाभन्दा करिब ६० अंक तल छ ।

बिहीबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १ हजार ५ सय ७२ अङ्कमा अडिएको छ । फागुन १५ गते बजार १ हजार ६ सय ३२ अङ्कमा थियो । पुरानो रेकर्डलाई एकैपटक ७ अर्बले उछिनेर बिहीबारको बजारले यस्तो रेकर्ड राखेको हो ।  

शेयर बजार परिसूचक ऐतिहासिक १ हजार ८ सय ८१ को ऐतिहासिक विन्दुमा पुगेको समयमा पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि निरन्तर घट्न थालेको बजार करिब १४ अर्बको सीमासम्म झरेको थियो ।

कसरी सम्भव भयो रेकर्ड ब्रेक ?

बजार परिसूचक ६० अंक तल नै रहँदा पनि कसरी सम्भव भयो त सर्वाधिक बजार पुँजीकरण ? यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका ४ वटा कम्पनीको रहेको विज्ञहरु बताउँछन् । यसमा सबैभन्दा ठूलो भूमिका नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनआरएन इन्फास्ट्रक्चर लगायतको पनि महत्त्वपूर्ण भूमिका रहेको देखिएको छ ।

पुनर्बीमा कम्पनीको शेयर जेठ २८ गते मात्रै दोस्रो बजारमा सूचीकृत भएको हो । असार १६ गते शेयर बजार खुला भएसँगै यो स्क्रिपको कारोबार सुरु भएको हो । १० करोड कित्ता रहेको पुनर्बीमा कम्पनीको सर्वसाधारण शेयरको बजारमूल्य ८ सय ७६ रुपैयाँ छ । यो हिसाबले पुनर्बीमाको बजार पुँजीकरण अहिले ८७ अर्ब ६० करोड रुपैयाँ छ । यो शेयर बजारको दोस्रो ठूलो कम्पनी समेत हो ।

त्यसो त, अघिल्लो ऐतिहासिक रेकर्ड ब्रेक भएको दिन फागुन १५ भन्दा पछि बजारमा सूचीकृत भएको रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब र बजार पुँजीकरण १४ अर्ब रुपैयाँ छ । त्यस्तै, अजोडको चुक्तापुँजी १ अर्ब र बजार पुँजीकरण साढे ५ अर्ब रुपैयाँ रहेको छ । एनआरएन इन्फास्ट्रक्चरको १ अर्ब १३ करोड रुपैयाँ चुक्तापुँजी र करिब साढे ४ अर्ब बजार पुँजीकरण छ ।

यी ४ वटा कम्पनीले मात्रै करिब १४ अर्बको चुक्तापुँजी र १ सय १० अर्बको पुँजीकरण बजारमा थप गरिदिएका छन् । परिसूचक कम हुँदा पनि पुँजीकरण बढ्नुको मुख्य कारण यही नै हो ।

त्यसो त, यो साता निकै प्यानिक अवस्थामा पुगेका हाइड्रोपावरको शेयर मूल्यमा निकै सुधार भएको छ । सूचीकृत शेयरसंख्या धेरै धए पनि बजारमूल्य कम भएका कारण बजार पुँजीकरणमा खासै योगदान दिन नसकेको यो क्षेत्रमा उत्साह देखिँदा यसले पनि पुँजीकरण बढाउन ठूलै सहयोग थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप