शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनलाइनबाट कमाएको विदेशी मुद्रा सजिलै नेपाल ल्याउन सकिने

शुक्रबार, ०२ असोज २०७७, १० : ०२
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ । नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्रीबापत् प्राप्त हुने विदेशी मुद्रालाई बैङ्किङ प्रणालीमार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेको हो । 

नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले त्यस्तो रकमलाई स्वदेशी बैङ्क खातामै जम्मा गर्न सकिने र तोकिएको सीमा अनुसार स्वदेशी मुद्रामा रकमान्तर समेत गर्न सकिने व्यवस्था गरेको हो । यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत् हुँदै आएको थियो ।  

विभागले बिहीबार सूचना जारी गर्दै अनलाइन वित्तीय सेवामार्फत् नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न व्यवस्था गरिएको जानकारी दिएको हो । ‘सूचना प्रविधिसम्बन्धी दक्षता, विज्ञताको निकासी बिक्री, सामाजिक सञ्जालमा राखिएबापत प्राप्त हुने रकम र खुद्रा स्तरको अन्तर्राष्ट्रिय व्यवसायिक र व्यापारिक कारोबार बापत प्राप्त हुने रकमहरु मान्य हुनेछन्,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तो रकम सुरुमा स्वदेशी बैङ्क खातामा विदेशी मुद्राको रुपमा जम्मा हुन्छ । आवश्यकता अनुसार तोकिएको सीमाभित्र रहेर त्यस्तो रकमलाई स्वदेशी रकमान्तर गर्न सकिन्छ ।

तर नेपालबाट विदेश पठाउने मुद्राको सन्दर्भमा भने विदेशी विनिमय विभागको निर्देशन अनुसार हुने प्रष्ट पारिएको छ । ‘विदेशी मुद्रा आर्जन गर्ने प्रयोजनका लागि त्यसबापत लाग्ने शुल्क वा रोयल्टी भुक्तानीका लागि भने विदेशी विनिमय विभागले जारी गरेको निर्देशन पालना गर्नुपर्नेछ’ विभागले भनेको छ ।

त्यसरी कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाले यस्तो कारोबारको मासिक विवरण प्रत्येक महिना सकिएको १५ दिनभित्र विभागमा पेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप