बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्न थाले पोखराका बन्द होटल-रेष्टुरेन्टका ताला

बिहीबार, ०१ असोज २०७७, १८ : १३
बिहीबार, ०१ असोज २०७७

पोखरा । करिब ६ महिना लामो बन्दाबन्दीपछि बन्द होटल, रेष्टुरेन्टका ताला खुल्न थालेका छन् । गएको सोमबार मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई पनि सञ्चालनमा आउने अनुमति दिएसँगै पोखराका होटल,-रेष्टुरेन्ट पनि खुलेका हुन् । यसअघि गत साउनमा सरकारले होटल तथा बरेष्टुरेन्ट व्यवसायलाई ‘टेक अ वे’ सर्भिसका लागि मात्रै अनुमति दिएको थियो ।

सञ्चालन अनुमति पाए पनि संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले पुन बन्द गर्न निर्देशन जारी गरेको थियो । तर, असोज एक गतेदेखि भने सरकारले पूर्ण रुपमा सञ्चालन अनुमति पाएसँगै पर्यटकीय नगरि पोखराका करिब २५ प्रतिशत होटल तथा रेष्टुरेन्ट व्यवसाय खुलेका छन् । 

सुरक्षा मापदण्ड पालना गर्दै सञ्चालन अनुमति माग्दै आएका थिए । आन्तरिक उडान र लामो दुरिका सवारी सञ्चालनमा ल्याएर पर्यटन व्यवसायलाई पनि विस्तारै लयमा फर्काउने माग राख्दै आएका व्यवसायी सरकारको यो निर्णयसँगै उत्साही बनेका छन् ।

लामो समयको बन्दाबन्दीका कारण २५ प्रतिशत व्यवसायी पलायन भई सकेको पर्यटन व्यवसायीहरुले तथ्यांक निकालेका थिए । यही अवस्था कायम रही रहे अबको ६ महिनाभित्रमा ५० प्रतिशत व्यवसायी पलायन हुने चेतावनी दिदैं आएका व्यवसायी सरकारले स    ञ्चालन अनुमति दिएसँगै उत्साही देखिएका हुन् । 

‘बुकिङको आशा त होइन । तर, यहीं अवस्था कतिञ्जेल बस्ने ?’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विका तुलाचनाले भने, ‘विस्तारै–विस्तारै पूरानै लयमा आउछ भन्ने म्यासेज दिन मात्रै हो ।’ साउन १५ मा सञ्चालन अनुमति दिए पनि हवाई सेवा र लामो दुरिका सवारीले सञ्चालनको अनुमति पाएका थिएनन् । हवाई उडान र लामो दुरिका सवारीले पनि सञ्चालनको अनुमति पाई सकेको हुनाले विस्तारै सहज हुँदै जाने उनको अनुमान छ ।

साउन १५ मा सञ्चालनको अनुमति पाएपछि व्यवसायीहरुले आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालनको तयारी समेत थालेका थिए । बिदामा पठाइएका कामदारलाई फिर्ता बोलाएर सञ्चालन तयारी थालेका व्यवसायीहरुलाई सञ्चालनमा पुन रोक लगाउँदा अन्यौलको स्थिति पैदा गराएको थियो । 

साउन १५ मा कामदार बोलाएर सञ्चालन तयारी थालेका व्यवसायीले असोज १ गतेदेखि पुन ताला खोलेका हुन् । ‘साउन १५ पछि सञ्चालनमा आउने तयारी थालेका होटल, रेष्टुरेन्टहरु चल्न थालेका छन् । अरु पनि विस्तारै सञ्चालनमा आउछन्,’ अध्यक्ष तुलाचनले भने, ‘अहिले नै पर्यटक आउने भन्दा पनि सकारात्मक सन्देश दिने हो ।’ 

पोखरेली पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले होटल तथा रेष्टुरेन्ट साथै हवाई उडानको अनुमतिले पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन मात्रै विकल्प होइन । 

कोरोनासँग जुध्दै, जोगिदैं सुरक्षा मापदण्ड र हेल्थ प्रोटोकल पालना गर्दै अघि बढ्नुको विकल्प छैन,’ उनले भने । अध्यक्ष पोखरेलले आफ्ना व्यवसायीलाई सुरक्षाका मापदण्ड अपनाउनका लागि आवश्यक तालिम पनि दिएको बताए । 
आफू सुरक्षित बन्दै आएका पाहुनालाई सुरक्षित सेवा दिने आफूहरुको दायित्व रहने उनको भनाई छ । 

व्यवसाय सञ्चालनमा आएसँगै संक्रमणको दर थप फैलिन नदिनको लागि आफूहरु थप सचेत बनेको समेत उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकले गुलजार बनि रहने पोखरा छिट्टै पूरानै लयमा फर्किने उनको विश्वास छ ।
३ देखि ४ अर्ब हाराहारिमा लगानी रहेको पोखराको पर्यटन व्यवसायमा ७५ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

यस्तै १० हजार बढी नीजि व्यवसायी आबद्ध छन् । दैनिक १३ हजार बढी घाटा व्यहोरिरहेको पोखरेली पर्यटन व्यवसाय आन्तरिक पर्यटन चलायमान भए १, २ वर्षमै पूरानै लयमा फर्किने पर्यटन व्यवसायीहरुले विश्वास लिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप