बुटवल र भैरहवाका ४ वटा अस्पतालले भर्ना लिन मानेनन्, अन्ततः कोरोना संक्रमितको मृत्यु
बुटवल । पाल्पाका एक कोरोना संक्रमित पुरुषलाई बुटवल र भैरहवा अस्पतालले भर्ना नलिएपछि उनको मृत्यु भएको छ । तानसेन नगरपालिका–७ का ती बिरामीलाई बुटवल र भैरहवाका ४ वटा अस्पतालमा पुर्याइएको थियो । ४ वटै अस्पतालले भर्ना नलिएपछि पाल्पा फर्काएको ३ दिनपछि उनको मृत्यु भएको हो ।
बुटवल र भैरहवाका अस्पतालले भर्ना नलिएपछि उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो । उपचाररत ५२ वर्षीय ती कोरोना संक्रमितको आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले रातोपाटीलाई बताए ।
उनी भदौ २६ गते मिसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा २९ गते उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । कलेजोमा समेत समस्या भएका ती पुरुषलाई मिसन अस्पतालले ३० गते बुटवलको कोरोना प्रदेशिक अस्पतालमा रिफर गरेको थियो । तर उनलाई बुटवल र भैरहवा सुविधा सम्पन अस्पतालहरुले भर्ना लिन मानेनन् ।
पाल्पामा आईसियु र भेन्टिलेटर नभएपछि थप उपचारका लागि उनलाई कोरोना अस्पताल पठाइएको थियो । तर एकपछि अर्को अस्पतालले भर्नाका लागि बेड खाली नभएको भन्दै फर्काएपछि उनको मृत्यु भएको मिसन अस्पतालका पन्थीले बताए ।
मिसन अस्पताल पाल्पाका मेडिकल रेर्कडर मोहन रानाले उनलाई आईसियु र भेन्टीलेटर पाल्पामा नभएकोले ३० गते बुटवलको प्रदेश अस्पतालमा पठाएको जानकारी दिए । रानाले भने- ‘प्रदेशिक अस्पतालमा हामीले फोनमा कुरा गर्दा पनि हुन्छ, बुटवल ल्याउनुहोस् भनिएको हो तर त्यँहा गएपछि बेड प्याक भएको भन्दै एकपछि अर्को अस्पताल डुलाउनु पर्यो । अन्नतः उनको मृत्यु भएको छ ।’ उनले बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको बताए ।
मिसन अस्पतालले कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्याएर ल्याउन भन्यो । प्रादेशिकले बेड नभएको भन्दै राख्न नमानेपछि बिरामीलाई फेरि भिम अस्पताल भैरहवा पुर्याइएको थियो । त्यहा पनि बेड नभएको भन्दै फर्काईदिएपछि बुटवलको मुटु अस्पताल ल्याइएको थियो । उक्त अस्पतालले पनि भर्ना लिन मानेन । अन्ततः पाल्पाको मिसन अस्पताल र नगरपालिकाले सञ्चालन गरेको बृद्धाआश्रम साहरा केन्द्रको आइसोलेसन सेन्टरमा उनको मृत्यु भयो ।
प्रदेश सरकारले पाल्पा, गूल्मी र अर्घाखाँचीका बिरामीलाई पायक पर्ने ठानेर बुटवलको कोरोना अस्पताल निमार्ण गरेको हो । तर पाल्पाका ती कोरोना संक्रमतिले बुटवल र भैरहवाको भीम अस्पताल र बुटवल मै रहेको सामुदायिक मुटु अस्पतालमा समेत भर्ना पाएनन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पन्थीले अहिले सेनाले शव व्यावस्थापनको तयारी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित