हेटौँडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाउने अभियानअनुसार ३२ किलोमिटरभन्दा धेरै सडकलाई पक्की गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
उपमहानगरका गाभिएका नयाँ वडाहरुलाई विशेष प्राथमिकता दिइएको भए पनि सबै वडाका सडकलाई पक्की बनाउने काम गरिएको उनले बताए । चाँडो बिग्रने भएकाले कालोपत्रेलाई प्राथमिकता नदिई एकपटक बनाएपछि वर्षौँ टिक्ने स्ल्याप ढलानलाई प्राथमिकता दिइएको प्रमुख महतले जानकारी दिए । उनका अनुसार उपमहानगरले खर्च गर्ने बजेटमध्ये सडकका लागि सबैभन्दा बढी खर्च भएको छ ।