शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतमा पहिरोको जोखिममा रहेका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

बिहीबार, ०१ असोज २०७७, १२ : ०१
बिहीबार, ०१ असोज २०७७

लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । 

केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।  

नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला,  वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए । अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् ।  सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् । 

सङ्घ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताए । त्यस्तै बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ । 

अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमबार वडा नं ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो । 

सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप