शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद

बिहीबार, ०१ असोज २०७७, ०९ : २९
बिहीबार, ०१ असोज २०७७

आज १७ सेप्टेम्बर । सन् १९४८ मा हैदरावादमाथि भारतीय सेनाले कब्जा जमायो । यस्तो जबर्जस्ती किन भयो ? यसबारे बुझ्न हामी इतिहासतर्फ फर्कनुपर्छ ।

१५ अगस्ट, १९४७ अघि दुई तरिकाले भारत अस्तित्वमा थियो । पहिलो, बेलायती, फ्रान्स र पोर्चुगली साम्राज्य अधिनस्थ भारत, जहाँ विदेशीहरुको शासन थियो । दोस्रो, त्यस्तो भारत, जहाँ राजा–रजौटा र स्थानीयको शासन थियो । त्यस समय भारतमा ५ सय २२ वटा साना–ठूला  राज्य थिए । हैदरावाद देशको ठूलो राज्यमध्ये एक थियो ।

यहाँ झन्डै दुई शताब्दीदेखि आसफ जाही वंशको शासन थियो । हैदरावाद राज्यमा मुख्यत तेलुगु, मराठी र कन्नड भाषा बोलिन्थ्यों । यस राज्यमा कुल जनसंख्याको ८४ प्रतिशत हिस्सा हिन्दुको थियो । ११ प्रतिशत मुसलमान र बाँकी जैन धर्मका अनुयायी थिए । यसरी, सामाजिक दृष्टीले हेर्दा हैदरावाद राज्य सांस्कृतिक र धार्मिक विविधतासहित एकतामा बाँधिएको थियो, शान्तिपूर्ण सह–अस्तित्वको त्यो शान्दार नमूना थियो । तर, लोकतान्त्रिक व्यवस्था र राजनीतिक अवस्था भने यहाँ पनि अन्य राज्यहरुझैं खराब थियो ।

हैदरावादका निजाम ओस्मान अली खान तत्कालीन समय विश्वकै धनी मानिसहरुमध्ये एक थिए । राज्य शिक्षा, विज्ञान र विकासमा उनले ठूलो योगदान गरेका थिए । त्यतिबेलै विद्युत, सडक, रेलवे  विमानस्थल बनाएका थिए । उनले धेरै सार्वजनिक संस्थानहरु गठन गरे, बाढी पीडितको राहतका लागि छुट्टै कोष खडा गरे, जसकारण उनी आधुनिक हैदरावादको आर्टिटेक्ट भनेर समेत चिनिन्छन् ।

तर, तेलुगु भाषीहरुको तेलंगाना आन्दोलन र कासिम रज्मीलगायत आफ्नै सहयोगीहरुका कारण राजा कमजोर बन्दै थिए । मजलिस ए इत्तेहादुल मसलमिन (एमआईएम) नामक पार्टीका अतिवादी नेता कासिमले हैदरावादलाई स्वतन्त्र राख्न वा पाकिस्तानमा विलय गराउन निजामलाई दबाब दिइरहेका थिए । उनले २० हजारभन्दा धेरै युवाहरु समेटेर रजाकर नामक दस्ता समेत गठन गरेका थिए ।

स्वतन्त्र राख्न चाहन्थें

बेलायतबाट १९४७ मा स्वतन्त्रता हासिल भएपछि स्वतन्त्र सिंगो भारत टुक्रिएर दुई नयाँ हिस्सामा बाँडियो – भारत र पाकिस्तान । राजा–रजौटाहरुलाई आफ्नो देश कहाँ मिलाउने भनेर स्वतन्त्रताअघि नै सोधिएको थियो । धेरैजसो राजाहरुले भारत र केही राजाहरुले पाकिस्तानमा आफ्नो राज्यलाई मिलाउन सहमति जनाए । तर, जुनागढ, कास्मिर र हैदरावाद स्वतन्त्र र अलग देशका रुपमा आफ्नो अस्तित्व काम राख्न चाहन्थें ।

ब्रिटिसहरुले हैदरावादका निजामसामु पाकिस्तान र भारतमध्ये कुनै एकमा समावेश हुन वा स्वतन्त्र बस्न प्रस्ताव गरेका थिए । तर भारतले आफ्नो देशमा समावेश हुन आग्रह गर्दै चिठ्ठी पठायो थियो, बहुसंख्यक हिन्दू जनसंख्या भारतमा बस्न चाहेको चिठ्ठीमा उल्लेख थियो । अर्थात्, भारतलाई हैदरावादको स्वतन्त्रता स्वीकार्य थिएन । यस प्रस्ताव अस्वीकार गर्दै स्वतन्त्रता रोज्ने फैसला लिएपछि भारतसँग निजामको सम्बन्ध बिग्रियो र वार्ता पनि टुट्यो । 

राष्ट्रमण्डल देशहरुअन्तर्गत स्वतन्त्र राजतन्त्रका रुपमा आफुलाई मान्यता दिनुपर्ने आग्रह निजामको बेलायतीहरुसँग गरे, तर सकारात्मक जवाफ आएन । त्यसपछि आफ्नो देशको स्वतन्त्रतालाई कायम राख्न उनले पाकिस्तानसँग सहयोग खोजेका थिए । के एम मुन्सीले आफ्नो पुस्तक ‘इन्ड अफ एन एरा’ मा लेखेका छन्, ‘निजामले भारतविरुद्ध मोहम्मद अली जिन्नाले आफ्नो राज्यलाई समर्थन गर्छन् या छैन भनेर जान्न चाहेका थिए । त्यसका लागि उनले जिन्नासँग सम्पर्क गरे ।’

पत्रकार कुलदीप नैयरले आफ्नो आत्मकथा ‘बियोन्ड द लायन्स’ मा पनि यस प्रसङ्ग उल्लेख गरेका छन् । पुस्तकका अनुसार जिन्नाले निजाम कासिमको यस प्रस्तावलाई सिधैं खारेज गरेका थिए । ‘मुट्ठीभर कुलिन मानिसहरुका लागि पाकिस्तान आफ्नो अस्तित्व खतरामा पार्न चाहँदैंन,’ उनले भनेका थिए । निजामले हैदरावादलाई स्वतन्त्र देश बनाउन गरिरहेको पहल भारतलाई चित्त बुझेको थिएन । आक्रमण गरेरै भएपनि हैदरावाद कब्जा गर्ने योजना बनिसकेकोे थियो । भारतका तत्कालीन गर्भनर लर्ड माउन्टबेटनले हैदरावादमाथि कुनै आक्रमण नगर्न र शान्तिपूर्ण रुपमा यस समस्याको समाधान खोज्न सरकारलाई सल्लाह दिएका थिए ।

भनिन्छ, प्रधानमन्त्री जवाहरलाल नेहरु पनि माउन्टबेटनको यस प्रस्तावमा सहमत थिए । तर, गृहमन्त्री सरदार वल्लभ भाई पटेल आक्रमण नगरी हैदरावाद विलय सम्भव नहुने मत राख्थे । ‘हैदरावाद भारतको पेटको क्यान्सर समान हो र यसको समाधान सर्जरीबाट मात्रै हुन्छ,’ उनी भन्ने गर्थे । हैदरावादले पाकिस्तानबाट सैन्य र अन्य सहयोग लिनसक्ने भएकाले पनि भारतले चाडोंभन्दा चाडों आक्रमण गर्नुपर्ने उनको धारणा थियो ।

अपरेशन पोलो

अन्तत, १३ सेप्टेम्बर १९४८ मा भारतीय सेनाले हैदरावादमा हमला ग-यो । यस कारबाहीलाई अपरेशन पोलो नाम दिइयो, किनकी पोलो खेलका विश्वकै सबैभन्दा धेरै १७ वटा मैदान हैदरावादमा थिए । भारतीय सेनाको नेतृत्व मेजर जनरल जेएन चौधरीले गरिरहेका थिए । पहिलो र दोस्रो दिन भारतलाई लड्न कठिन भयो । तर, त्यसपछि बिस्तारै भारतीय सेना हाबी भयो । १७ सेप्टेम्बर राति निजामको आदेशमा हैदरावादको सेनाले आत्मसमर्पण गरेसँगै ५ दिनसम्म चलेको कारबाही सकियो । यसक्रममा १३ सय ७३ जना रजाकार र ८ सय ७ जना हैदरावादका जवान मारिएका थिए ।

यसरी, हैदरावाद भारतको नयाँ राज्य बन्यो । निजाम मिर ओस्मानलाई गर्भनरसरहको ‘राज प्रमुख’ पद दिइयो, एमके भेल्लोदी पहिलो मुख्यमन्त्री नियुक्त भए । १९५६ मा हैदरावादलाई आन्द्र स्टेटसँग मिसाएर ‘आन्द्र प्रदेश’ नामक नयाँ राज्य निर्माण गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप