शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकतामा देखिएको विवाद समाधान गर्न राप्रपाका अध्यक्षत्रयबीच सहमति

बुधबार, ३१ भदौ २०७७, १७ : २९
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले  सहमति र समझदारीबाटै  पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो ।

अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको ट्वीटमार्फत जानकारी दिएका छन् । यस्तै अध्यक्ष राणाले पनि बैठक सकारात्मक भएको रातोपाटीलाई जानकारी दिए । राप्रपामा निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह के राख्ने भन्नेमा विवाद छ। पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो ।

अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्हमा फेरि विवाद  बल्झिएको हो ।  राप्रपाका दुई समूहबीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुङ्गो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुङ्गोमा पुगेको छैन । फागुन २९ गते तीन राप्रपाबीच एकता भएको थियो।  त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो। दुई समूहबीचको  चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ । केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ ।

तर अध्यक्ष थापालगायतले भने पार्टीले हिन्दु राष्ट्रको मुद्दा बनाएकाले गाई छोड्दा मुद्दा कमजोर हुने तर्क गरिरहेका छन् ।  राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा समेत निर्वाचन चिन्ह सहितका विषयलाई ६ महिनाभित्र टुङ्ग्याउने भनिएको थियो । तर अध्यक्षत्रयबीच यस विषयमा सहमति नहुँदा राप्रपाको एकता प्रक्रिया रोकिँदै आएको छ ।आजको बैठक सकारात्मक भएको भनिए पनि विषयगत सहमतिको कुरा भने राणाले खोल्न चाहेनन् । सहमतिलाई अन्तिम रुप दिन फेरि केही दिनमा अध्यक्षत्रयबीच छलफल हुने राणाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप