शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिणकालीलाई नास्पाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास गरिने

बुधबार, ३१ भदौ २०७७, १६ : २४
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ ।

वडा नं ९ को हुमाने भञ्ज्याङलाई लप्सी ब्लकका रुपमा घोषणा गरिएको छ । वडा नं ८ को राम्चे भञ्ज्याङलाई समेत लप्सी ब्लकका रुपमा विकास गर्न लागिएको छ । नासपाती र लप्सी राम्रो हुने नगर क्षेत्रलाई दुवै उत्पादनको उदाहरणीयस्थलका रुपमा विकास गर्ने गरी नगरपालिकाले पनि बजेट विनियोजन गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिए । 

नगरपालिकाको वडा नं ६ र ७ लाई फूल व्यवसायको हबका रुपमा विकास गर्न लागिएको पनि उनले सुनाए । नौ वटा वडा रहेको नगर क्षेत्रका प्रत्येक वडालाई एक÷एक उत्पादनको हबका रुपमा विकासका लागि पूर्वाधार तयार पारिएको नगरपालिकाले जनाएको छ ।

 चम्पादेवीमा वैदिक ग्राम

 नगरपालिकाको चम्पादेवीमुनि रहेको ह्वाइटहाउस डाँडाबाट काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका महत्वपूर्णस्थल देखिने भएकाले यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । चम्पादेवीको २७ रोपानी जग्गामा नेपाल महर्षि वैदिक फाउन्डेसनले वैदिक ग्राम निर्माण अन्तिम चरणमा पु¥याएको छ । दशैँअघि नै उद्घाटन गर्ने गरी वैदिक ग्रामको काम भइरहेको नगर प्रमुख बस्नेतले बताए ।

प्राचीनकालदेखि नै प्रसिद्ध तीर्थस्थलको पहिचान बनाएको दक्षिणकालीमा वैदिक ग्रामको निर्माणसँगै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने आशा नगरपालिकाले लिएको छ । ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानको विश्वव्यापी प्रचारप्रसारमा लाग्नुभएका महर्षि महेश योगीका अमेरिकाका चेलाको विशेष सहयोगमा चम्पादेवीमा वैदिक ग्राम निर्माण भइरहेको छ । 
 
वैदिक ग्राममा ध्यान साधनास्थल, वैदिक यज्ञस्थल, वैदिक पण्डितको आवासीयस्थल, प्रशिक्षणस्थललगायत संरचना तयार भइरहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले बताए ।

याङ्लासीमा शैक्षिक पर्यटन प्रवद्र्धन गरिने
 
वडा नं ५ मा रहेको विश्वभरका बौद्धमार्गीको पवित्रतीर्थस्थल याङ्लासीलाई शैक्षिक पर्यटनका रुपमा अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ । यो स्थलमा अहिले पनि वार्षिक हजारौँ बौद्धमार्गी विश्वका विभिन्न स्थलबाट आउने गरेका छन् । यहाँको माटोलाई विश्वका बौद्धमार्गीले निधारमा लगाएर श्रद्धा प्रकट गर्ने गरेका छन् । 

 नेपालकै पहिलो र दक्षिण एशियाको दोस्रो चन्द्रज्योति जलविद्युत् गृहलाई वाग्मती प्रदेश सरकारको सहयोगमा पर्यटकीय केन्द्रका रुपमा अघि बढाउन लागिएको छ । विद्युत् गृह नगरपालिकाको वडा नं ३ मा पर्छ । कोरोनाको सङ्क्रमण फैलनुअघि बिदाका दिन हजारौँ विद्यार्थीसमेत विद्युत् गृह हेर्न आउने गरेका थिए । 
 
वडा नं ३ वडामा रहेको हात्तीवन रिसोर्टका कारण पनि नगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । वडा नं ४ वडामा रहेको अग्लो डाँडालाई पिक स्पटका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिने छ । वडा नं २ लाई प्रदेश सरकारले तरकारी ब्लकका रुपमा घोषणा गरेको छ । 
 
उपत्यका जलमग्न हुँदा नै दक्षिणकाली वडा नं ६ बस्ती थियो भन्ने विश्वास गरिन्छ । शिखरापुर भनिने यो नगरमा राजा पचलीभैरवले समेत शासन गरेका थिए भन्ने भनाई बुढापाकाको रहिआएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन् । 

हरिशङ्कर यात्राको मुख्य मन्दिर गोपालेश्वर, पौराणिक पात्र वाणासुरको छोरी उषामैयाँको दरबारसमेत वडा नं ६ को जङ्गलमा रहेको विश्वास गरिन्छ । यो स्थलमा अहिले पनि दरबारको भग्नावशेष रहेकाले उत्खनन गर्न पुरातत्व विभागलगायतलाई नगरपालिकाले अनुरोध गरेको छ । यहाँ भगवान् कृष्णसँग सम्बन्धित जात्रा पनि चलाइने परम्परा छ । 

 वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ । यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेत बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप