केन्द्रीय संस्करण

स्रेस्तेदार र सिडिओका भान्सेसहित ५० जना कोरोना सङ्क्रमित

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

सप्तरी । निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार सो अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिृर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए ।
    
यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
    
अस्पतालको डायलासिस युनिटमा नियमित उपचार गराइरहेका मिृर्गौला पीडितमध्ये मङ्गलबार एक महिला र सोमबार छ पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि मङ्गलबार बन्द गरिएको डायलासिस सेवा निर्मलीकरण गरेपछि आजबाट सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झाले जानकारी दिए । 
    
सङ्क्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कङ्कालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका छ जना सङ्क्रमित छन् । कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार मध्य रातिदेखि निषेधाज्ञा हटाएको छ ।

योसमेत सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये १०५ महिलासहित ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जिल्लामा सङ्क्रमतिमध्ये मृत्यु हुनेको सङ्ख्या एक महिलासहित नौ पुगेको यादवले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.