शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या

मिलापत्रका लागि दबाब दिने समाजका ‘अगुवा’हरु पक्राउ
बुधबार, ३१ भदौ २०७७, ११ : ४२
बुधबार, ३१ भदौ २०७७

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् । बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो ।

प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरे । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । उनी चिच्याइरहिन् तर उनको रोदन सुन्ने कोही भएन ।

अर्का दुई युवाले उनलाई फेरि झम्टिए । बलात्कार प्रयास गरे, कसोकसो त्यहाँबाट फुत्केर उनी घर पुगिन् र आमालाई भनिन् ।

डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह आफू काठमाडौंमा भएका कारण घटनाको बारेमा राम्रोसँग बुझ्न नपाएको बताउँछन् । ‘छोराको उपचार गराउने सिलसिलामा म झण्डै तीन सातादेखि काठमाडौँमै छु,’ उनले भने, ‘जहाँसम्म मैले बुझेको छु, बलात्कारजस्तो मुद्दामा जबर्जस्ती मिलापत्र गराउन खोज्दा पीडितले आत्महत्या गरेको भन्ने कुरा छ ।’

उनका अनुसार अझै पनि ‘जात' का आधारमा समाज ध्रुवीकृत हुने गरेको छ । यो घटनामा पीडितले न्यायको अनुभूति गर्न नसक्नु त्यसकै एक उदाहरण रहेको उनको भनाइ छ ।

‘जसको बोलबाला छ, उसले समाजमा आफ्नो कुरा लाद्न खोज्छ,’ उनी भन्छन्, ‘अर्को पक्षले न्यायको अनुभूति गर्न सक्दैन ।’ दोषीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार समाजका अगुवा भनिने केही व्यक्ति भेला भएर गाउँको मुद्दा गाउँमै सामसुम पार्नुपर्छ भन्दै छलफल गरे । मध्यान्ह २ बजे स्थानीय सत्रुघन मण्डलको घरमा बसेका ८ जना पञ्चले पीडक र पीडित पक्षलाई राखेर छलफल चलाए । ती अगुवाहरुले पीडितलाई रकम दिएर मुद्दा सल्टाउन पीडक पक्षलाई निर्देशन दियो तर पीडित पक्ष खासगरी, ती किशोरी नै मिलापत्रका लागि सहमत भइनन् ।

पीडित परिवार निकट स्रोतका अनुसार कथित पञ्चले बलात्कृत किशोरीलाई उल्टो धम्की दिए । प्रहरीको ढोकामा जाहेरी लिएर जान बन्देज लगाए, गाली गरे । अनि, बलात्कार गर्नेबाट २५–२५ हजार क्षतिपूर्ति दिने सहमति गराए ।

पञ्चको निर्णयले किशोरीको चित्त कुँडियो । त्यही रात उनले घरको बलोमा सलको पासो लगाएर झुण्डिएर प्राण त्यागिन् ।

‘आत्महत्याको कारण खोज्दा सामूहिक बलात्कारपछि मिलापत्र गराएको थाहा भयो,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीसँग भने, ‘मिलापत्र गराउनेमध्येका तीन जनालाई पक्राउ गरेका छौँ । बलात्कारमा संलग्नलाई खोजिरहेका छौं ।’

किशोरीलाई धम्क्याएर मिलापत्र गराउने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् । उनीहरुलाई बलात्कार मतियार र आत्महत्या दुरुत्साहन मुद्दा चलाउने प्रहरीको तयारी छ ।

आत्महत्याको अनुसन्धान गर्न आएका प्रहरीलाई किशोरीकी आमाले बलात्कार मुद्दा ५० हजार रुपैयाँमा मिलापत्र गरेको बताएकी थिइन् । छोरीको मृत्युपछि आमाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएकी छिन् ।

पीडित किशोरीका बाबु छैनन् । उनका एक दाजु खाडी मुलुकमा पसिना बगाइरहेका छन् भने भाइ सानै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप