सुनसान विश्व युद्ध
- नम्रता भट्टराई
कस्तो अनौठो आयो समय ? छायो सन्नाटा, फिक्का भयो संसार रङ्गीन
छैन कुनै कोलाहाल, चकमन्न गाउँ सहर, मान्छेका मुहार मलिन
सुनिँदैन दुस्मनको त्रासदी बम–वारुद, न रोपिएका छन् सङ्गीन
त्यही पनि मानव ओठहरु भय र सन्त्रासले बने अवाक् शब्दविहीन...
लाग्छ यहाँ जगत् नै जड छ, जीवन्तताको नामोनिशान कहीँ कतै छैन...
मानव जहाँ मानव नभएर हुन् कि जस्तो निष्प्राण मूर्तरूपी मैन...
बिहान–साँझ, दिन–रात कुनै पनि प्रहर छैन हृदयमा शान्ति र चैन...
बिचरा बबुरा निर्दोष जनलाई बेफिक्री रमाउने इच्छा नभएको हैन...
ज्याला–मजदुरी गरी दैनिक छाक टार्नेलाई भोकको कठिन सन्ताप...
बिना कसुर ज्यान गुमाउनेलाई कसले दिए यस्तो अकाट्य सराप ?
कस्तो सुनसान विश्व युद्ध रहेछ यो, सुनिँदैन कठोर मृत्युको पदचाप ?
संसार नै शोकाकुल छ, अमूल्य जिन्दगीका लागि गर्छन् विलाप...
कोरोनाको महामारीले ल्यायो उथलपुथल, मानव अस्तित्वमा आयो सङ्कट...
आफन्तको चिन्ता र दुःखमा पनि साथ दिन सकिन्न, सर्छ रोग गए निकट...
विकराल छ अवस्था, थाहा छैन कहिले काटिन्छ आफ्नै परमधामको टिकट ?
कसरी हुने हो यो रोगको अचुक निदान, पार पाउँ जँघार छ ज्यादै विकट ?